election background

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनावमा भोट माग्ने पुल

चुनावमा भोट माग्ने पुल
चार दशक अगाडि निर्माण भएको जीर्ण झोलुंगेपुलमा यात्रा गर्दै स्थानीय । तस्बिर : जीवन सेजुवाल
सुन्नुहोस्

मुगु : सोरु गाउँपालिका ६ र ९ जोड्ने कुलाहमा रहेको पुरानो झोलुंगेपुल हेर्दा स्थानीय बासिन्दाको मनमा एउटै प्रश्न उठ्छ ः के यो गाउँपालिकामा जनप्रतिनिधि जन्मेकै छैनन् र ? सरकार छैन र ? विडम्बना के छ भने यही गाउँपालिकाले संघ सरकारमा एक मन्त्री र प्रदेशमा दुई–दुई मन्त्री पाइसक्दा पनि यहाँका नागरिक अझै जीर्ण पुल तरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

४२ वर्ष अगाडि स्विस सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो पुल सोरु गाउँपालिका ६, ७, ८ र ९ का हजारौं स्थानीयका लागि आवतजावतको एकमात्र माध्यम हो। चार दशकभन्दा बढी समय बितिसक्दा पनि पुलको उचित मर्मतसम्भार नहुँदा अहिले यसको अवस्था अत्यन्त जीर्ण बन्दा स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

संघीय संरचना कार्यान्वयनपछि सोरु गाउँपालिकाबाट कांग्रेसबाट प्रतिनिधिसभामा विजयी भएका ऐनबहादुर शाही संघीय वनमन्त्रीसमेत बने। त्यस्तै, प्रदेशसभामा एमालेबाट विजयी चन्द्रबहादुर शाही पार्टी विभाजन भएपछि एकीकृत समाजवादीका तर्फबाट कृषि र माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधारमन्त्री बने। आफ्नै क्षेत्रका जनप्रतिनिधि मन्त्री बन्नु यहाँका बासिन्दाका लागि गर्वको विषय थियो। उनीहरूलाई विश्वास थियो— अब पुलको समस्या समाधान हुन्छ। तर त्यो आशा अहिलेसम्म आशामै सीमित भएको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार पुलको दुवै भागमा टावरमा खिया लागिसकेको छ, लठ्ठाहरू ढिलोचाँडो चुँडिने अवस्थामा पुगेका छन् भने बिछ्याइएका फलामे पाता र किला फुस्किँदै जाँदा ठूला—ठूला भ्वाङ पर्दा स्थानीयले आवतजावतका लागि ढुंगा बिछ्याउनु परेको छ। यसका कारण जो कोही पनि पुल तर्दा नदीमा खस्ने जोखिम सधैं रहेको छ।

स्थानीय टेकबहादुर शाही भन्छन्, ‘यही पुल तरेर कांग्रेस, एमाले माओवादीलगायतका धेरै नेताहरू भोट माग्न आए, कांग्रेस, एमाले, माओवादी सबैलाई हामीले जितायौं पनि। मन्त्री, माननीय, पालिका अध्यक्ष सबै भए तर पुलको मर्मत गर्न कसैले चासो दिएन। चुनावताका मात्रै गाउँ सम्झिन्छन्, अहिले त पुल देख्दा नेता र पार्टीको गतिविधि देख्दा रिस उठेर आउँछ।’

अर्का स्थानीय पूर्णप्रसाद जैशी भन्छन्, ‘धन्न अहिलेसम्म कुनै मान्छे पुलबाट खसेर ज्यान गएको छैन। तर, जोखिम त दिनहुँ छ। चुनावमा पुल बनाइदिने आश्वासन दिन्छन्, जितेपछि फर्केर हेर्दैनन्।’

सोरु गाउँपालिका–९ का वडाध्यक्ष सागरशमशेर शाहीका अनुसार वडाको सीमित बजेटले यस्तो संरचना मर्मत सम्भार गर्न सम्भव छैन। उनी भन्छन्, ‘पालिकालाई पटकपटक अनुरोध गरेका छौं। प्रदेश र संघीय माननीयहरूलाई मौखिक र लिखित रूपमा जानकारी पनि गराइएको छ। प्राविधिकबाट इस्टिमेट गर्दा १५ देखि १८ लाख रुपैयाँ लाग्ने देखिएको छ। त्यो बजेट जुटे पुल मर्मत सम्भार सम्भव छ।’

हाल दैनिक सयौं स्थानीय यही पुल तरेर पालिका केन्द्र सोरुकोट पुग्छन्। विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक र दैनिक उपभोग्य सामग्री बोकेका सर्वसाधारणका लागि यो पुल जीवनरेखा जस्तै हो। चुनाव नजिकिँदा फेरि नेताहरू यही पुल तरेर गाउँमा भोट माग्न आउँछन्, आश्वासनका नयाँ शब्द सुनाउनेछन्। तर, सोरु गाउँपालिका—६ देखि ९ वडाका सर्वसाधारण यही जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। स्थानीय बासिन्दाहरूको एउटै चाहना छ अब भाषण होइन, पुल सुरक्षित बनोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.