धनुषामा पूर्वसभामुखसहित ९ पूर्वमन्त्री मैदानमा
जनकपुरधाम : प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा निवर्तमान सभामुखसहित आठ जना पूर्वमन्त्री चुनावी मैदानमा आमुनेसामुने हुँदैछन्। धनुषाका चारवटा निर्वाचन क्षेत्रमा प्रदेशका निवर्तमान सभामुखसहित आठ जना पूर्वसंघीय मन्त्री प्रतिस्पर्धामा उत्रेका हुन्। यसपटक दलीय गठबन्धन/तालमेल नभएकाले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।
धनुषा–१ मा मधेस प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव, जनता समाजवादी पार्टीका दीपक कार्की (बाबा) प्रतिस्पर्धी छन्। क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र झा र उमाशंकर अरगरिया चुनावी मैदानमा उत्रेका छन् भने ३ बाट पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, जुली महतो महासेठ र धनुषा– ४ बाट पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र महेन्द्र यादव निर्वाचनमा होमिएका छन्।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट मधेस प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र नेपाली कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका मातृकाप्रसाद यादव र नेपाली कांग्रेसका रामपल्टन साह र जनता समाजवादी पार्टी नेपालबाट दीपक कार्की आमनेसामने हुँदैछन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट ब्रह्मदेव महतो प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। साह यसअघि एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेले टिकट नदिएपछि २०७९ को चुनावमा एमाले परित्याग गरी उनले जनमतबाट उम्मेदवारी दिए। साहले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका हुन्।
२०७९ सालको निर्वाचनमा एमाले जसपा गठबन्धनबाट जसपाका दीपक कार्की २७ हजार ४ सय ३१ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा माओवादीका मातृकप्रसाद यादवले २१ हजार ४ सय ८३ मत ल्याएर पराजय भोग्नु परेको थियो। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मत हेर्दा सबैभन्दा बढी नेकपा एमालेले १४ हजार ६ सय ६१ मत ल्याएको छ। २०७४ सालको आम निर्वाचनमा भने नेकपाका यादव यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनी एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार बनेका थिए। उनले २६ हजार ४ सय १८ मत ल्याएर तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कार्कीलाई पराजित गरेका थिए।
२०७४ मा एमालेको साथ पाएको मातृका यादव विजयी भए पनि अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाउँदा उनले हार बेहोर्नु परेको थियो। एमालेको साथ पाएपछि जसपाका कार्की विजयी भएका थिए। यसरी हेर्दा निर्वाचनमा एमालेको साथ जसले पायो उसैले जित हात पार्ने आकलन छ। यस वर्ष पनि एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामपल्टन साह र नेपाली कम्युनिस्टका मातृका यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यसैगरी जनमतका ब्रह्मदेव महतो, राष्ट्रिय स्वतन्त्रका किशोरी साह कमल र राप्रपाका मनोज मल्लबीच प्रतिस्पर्धा हुने जनाइएको छ।
धनुषा निर्वाचन क्षेत्र २ मा दुई जना पूर्वमन्त्री प्रतिस्पर्धामा उत्रेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र झा र नेकपा एमालेका उमाशंकर अरगरिया र संविधानसभा सदस्य दिनेश प्रसैला चुनावी मैदानमा उत्रेका छन्। अरगरिया २०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। अरगरिया ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा एमाले र माओवादीको साझा उम्मेदवार रहेका झाले १८ हजार ७ सय १५ मत ल्याएर दोस्रो बनेको थिए। कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४ सय ४२ मत ल्याएर तेस्रो भएका थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट रामकृष्ण यादव २० हजार १ सय १२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ र एकीकृत समाजवादीबाट रामचन्द्र झाले १३ हजार ६ सय ५ मत प्राप्त गरेका थिए।
२०७४ को निर्वाचनमा प्रतिद्वन्दीभन्दा झन्डै दोब्बर मत ल्याएर निर्वाचित भएका अरगरियालाई २०७९ को निर्वाचन भने त्यति सहज भएन। अघिल्लो निर्वाचनमा १ सय १२ मतले पराजय भोग्नुपर्यो। २०७४ मा मधेस आन्दोलनको रापताप र मधेसवादी दलको एकताले अरगरियाको जितलाई सहज बनाएको थियो तर २०७९ मा मधेस आन्दोलनको रापताप सेलाएर मधेसवादी दल नै चिराचिरा पर्दा मधेसवादी दलबाट एमालेमा प्रवेश गरी एमालेबाटै उम्मेदवारी दिए पनि १ सय १२ मतले उनले पराजय भोग्नुपर्यो।
धनुषा– २ मा एमालेको जनआधार राम्रो भए पनि एमाले पृष्ठभूमि भएका नेकपाका झा, एमालेका अरगरिया, कांग्रेसका दिनेश प्रसैला र रास्वपाका रामविनोद यादव मुख्य प्रतिस्पर्धी हुन्। झाको विपक्षमा प्रायः देखिएका तत्कालीन माओवादीका नेता श्रवण बरबरिया यादवको नाम समानुपातिकको १ नम्बरमा परेकाले उनी झालाई जिताउन जोडतोडका साथ लागेका छन्। झा २०६४ सालको संविधनासभा सदस्यमा निर्वाचित भएपछि मन्त्री बनेका थिए। तर २०७० को संविधानसभा निर्वाचनमा झा र बरबरियाबीचको प्रतिस्पर्धामा रामकृष्ण यादव निर्वाचनमा विजयी भएका थिए।
त्यस्तै धनुषा–३ मा पनि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र नेकपा एमालेबाट जुली महतो र रास्वपाका मजबुत उम्मेदवार मनिष झाबीच प्रतिस्पर्धा हुँदैछ। निधि र एमालेका जुली महतोको चुनावी प्रतिस्पर्धा दोस्रो पटक हुँदैछ भने मनिषको प्रत्यक्ष निर्वाचनमा होमिएको पहिलो पटक हो। देशभर बालेनको लहर छाएको बेलामा झा पूर्वकांग्रेसी हुन्।
दोस्रो संविधानसभाको निर्वाचनमा निधि र जुलीबीचको प्रतिस्पर्धामा निधि विजयी भएका थिए। यसअघि २०७४ को निर्वाचनमा तत्कालीन राजपाका राजेन्द्र महतो कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा एमालेले माओवादीसँग गरेको चुनावी तालमेल धनुषा–३ मा माओवादी केन्द्रबाट रामसहाय यादवलाई उम्मेदवार बनाए पनि निधि हराउन अघोषित रूपमा महतोलाई सघाएको थियो।
एमालेकी जुली महतो तेस्रो पटक प्रत्यक्ष निर्वाचनमा चुनावी मैदानमा उत्रेकी हुन्। दोस्रो संविधानसभाको निर्वाचनमा उनले एमालेबाट उम्मेदवारी दिएर चुनाव लडेकी थिइन्। तर नेपाली कांग्रेसका विमलेन्द्र निधिसँग उनी पराजित भएकी थिइन्। २०७४ को निर्वाचनमा जुली समानुपातिक सांसद बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन्।
अघिल्लो निर्वाचनमा भने तत्कालीन राजपा नेपालबाट उम्मेदवार रहेका अनिल झालाई जुली महतोले पराजित गरेकी थिइन्। यस क्षेत्रमा नगराइन नगरपालिका र धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका १७ वडा पर्छन्। यहाँ मुख्यतः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जुली महासेठ र मनिष झाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
धनुषा निर्वाचन क्षेत्र ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेको केन्द्रीय उपमहासचिव रघुवीर महासेठ र नेपाली कांग्रेसको निवर्तमान सहमहामन्त्री महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। दुई जना पूर्वमन्त्री पुरानै प्रतिस्पर्धी हुन्। यादवले २०७४ सालको निर्वाचनमा पनि यी दुवै जनासँग प्रतिस्पर्धा गरेका थिए। एमाले माओवादीका साझा उम्मेदवार महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका महेन्द्रले १९ हजार ९ सय ९१ र मधेसी मोर्चाका उम्मेदवार महाजनले १९ हजार ६ सय ६२ मत ल्याएका थिए।
यसैगरी २०७९ को निर्वाचनमा रघुवीर महासेठले ३२ हजार २ सय ३६ मत ल्याए। महेन्द्र यादवले भने ३२ हजार १ सय १२ मत ल्याएर पराजय भोग्नु परेको हो। महासेठले यादवभन्दा १ सय २४ मत मात्रै बढी ल्याएर जसोतसो विजयी भए। यसपटक भने महासेठलाई निर्वाचन जित्न सहज छैन। कांग्रेसमा हरेक वर्ष देखिएको द्वन्द्व यस वर्ष शान्त भएको छ। यस वर्ष शेषनारायण यादव, जिल्लाध्यक्ष योगेन्द्र पजियार, प्रथम राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव, सन्तोष यादवसहितका व्यक्तिहरूको साथ पाएका कारण महेन्द्र गद्गद् छन् भने अघिल्लो निर्वाचनमा सन्तोषको साथ पाएका रघुवीरले यसपटक सन्तोष गुमाएका छन्। अझ पूर्वी भेगमा रास्वपाप्रतिको समर्थन बढेकाले चुनाव जित्न त्यति सजिलो भने छैन।
प्रतिक्रिया दिनुहोस !