टी–ट्वान्टी विश्वकप : नेपाली टिमलाई शुभकामना

टी–ट्वान्टी विश्वकप : नेपाली टिमलाई शुभकामना

केही विवाद, केही अन्योल, धेरै उत्साह, आशा र नयाँ उमंगका साथ टी–ट्वान्टी विश्वकप शनिबारबाट सुरु भएको छ । क्रिकेटको छोटो संरचना मानिने टी–ट्वान्टी क्रिकेटलाई लोकप्रिय बनाउन विभिन्न देशका फ्रेन्चाइज प्रतियोगितासँगै हरेक दुई वर्षमा आयोजना हुने विश्वकपले पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

टी–ट्वान्टी विश्वकप सुरु भएको लामो समय भएको छैन । तर, यसको लोकप्रियताले भने हरेक वर्ष शिखर चढिरहेको छ । पछिल्लो समयको चर्चित फरम्याट टी–ट्वान्टी विश्वकप  शनिबारबाट  भारत र श्रीलंकामा सुरु भएपछि अबका केही साता खेलकुद वृत्तमा यसकै चर्चा र परिचर्चा चलिरहने छ । 

टी–ट्वान्टी विश्वकपमा सहभागी २० टोलीमध्ये नेपाल पनि एक हो । नेपालले तेस्रोपटक टी–ट्वान्टी विश्वकप खेल्न लागेको हो । सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकपमा पहिलोपटक छनोट भएको नेपालको त्यसको १० वर्षपछि अर्थात् सन् २०२४ मा दोस्रोपटक विश्वकपमा छनोट भएको थियो । नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्न लागेको भने पहिलोपटक हो । टी–ट्वान्टी विश्वकपमा नेपाल समूह ‘सी’मा छ । निकै कठिन मानिएको समूह ‘सी’मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।

‘ग्रुप अप डेथ’ मानिएको यही समूहबाट आफूलाई अब्बल सावित गर्दै सुपर–८ मा स्थान बनाउने अभियानमा नेपाल छ । दुई÷दुईपटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई मात्रै होइन, सातौं पटक विश्वकप खेलिरहेको स्कटल्यान्ड र नवप्रवेशी इटालीलाई पछि पार्दै अघिल्लो चरणमा पुग्ने अभियानमा नेपाल छ । त्यसैले सहभागी अन्य १९ राष्ट्रलाई झैं यो विश्वकपको ज्वरोले नेपाललाई पनि तताइसकेको छ । आज मुम्बईको वाङ्खडे स्टेडियममा विश्व क्रिकेटको महारथी इंग्ल्यान्डसँग नेपालले भिड्दै गर्दा रंगशालामा नेपाली झन्डा फरफराउनुका साथै ‘नेपाल–नेपाल’को ध्वनिले गुञ्जयमान हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार आयोजक भारतपछि सर्वाधिक टिकट किन्ने राष्ट्र नेपाल हो । अघिल्लो संस्करण अमेरिका र वेस्ट इन्डिजमा हुँदासमेत नेपाली दर्शकको घुइँचो रंगशालामा लागेको थियो । यसपटक हाम्रै छिमेकी मुलुकमा हुँदा नेपाली दर्शक नपुग्ने कुरै भएन । त्यही कारण टिकट खरिदमा पनि नेपाली दर्शकको उभार देखिएको हो । 

टी–ट्वान्टी विश्वकपको १०औं संस्करणमा २० टोली सहभागी छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा १२ टोलीबाट सुरु भएको विश्वकपमा पछिल्लो समय २० टोली पुर्‍याइएको हो । विश्वका यी उत्कृष्ट २० टोलीबीचको रस्साकस्सी र श्रेष्ठताको लडाइँ ३० दिनसम्म लगातार चल्ने छ । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउने छन् । सुपर–८ बाट चार टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि आगामी फागुन २४ गते विश्वकप विजेता टोलीको निर्णय हुनेछ । 

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेसनल मन्डेलाले खेलकुदका विषयमा दिएको एउटा अभिव्यक्ति निकै चर्चित छ, खेलकुदमा संसार बदल्ने शक्ति हुन्छ । खेलमा मानिसलाई प्रोत्साहन गर्ने शक्ति छ । अन्य शक्तिले भन्दा खेलले मानिसलाई एकताबद्ध गर्न सक्छ । यसले युवाहरूसँग उनीहरूकै भाषामा सम्वाद गर्छ । खेलले निरासामा मात्रै रहेको समाजमा पनि नयाँ आशा जगाउन भूमिका खेल्दछ ।

उनको यो भनाइ पछिल्लो समय नेपालको खेलकुद क्षेत्रमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि उत्तिकै सान्दर्भिक छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक अन्योल र निरासाको अवस्थामा सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाध्ने र उनीहरूको मुहारमा खुसी ल्याउने र आशाको ज्योति बाल्ने काम खेलकुद क्षेत्र विशेषगरी क्रिकेटले नै गरेको थियो । टी–ट्वान्टी विश्वकपमार्फत त्यो खुसी, उत्साह र उमंग थप प्रज्योर्तित बनाउन सकोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयको हार्दिक शुभकामना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.