प्रतिनिधिसभा सदस्य निर्वाचन
काठमाडौं–९ : एमाले ‘किल्ला’ मा रास्वपा र कांग्रेसको ‘धावा’
झिनो मतान्तरलाई जितमा बदल्ने रणनीतिमा उम्मेदवारहरु
काठमाडौं : विगतको निर्वाचनमा झिनो मतान्तरले हार–जितको नतिजा दिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ को पनि बेग्लै चर्चा सुरू भएको छ । यस पटक निर्वाचन क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद अर्याल (डीपी) नयाँ उम्मेदवारका रुपमा भित्रिएसँगै फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको चर्चा र बहस बढेको छ ।
काठमाडौं–९ नेपालको काठमाडौं जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये सधैं चर्चामा रहने एक क्षेत्र हो । यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको हो । काठमाडौं–९ संसदीय क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन् ।
२४ दिनपछि हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका १८ र ६ जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। रास्वपाले यस पटक धादिङ जन्मथलो छाडेर आएका उपसभापति अर्याललाई काठमाडौं–९ मा उम्मेदवार बनाएर प्रतिष्पर्धामा उतारेको छ । बदलिँदो समयसँगै यस क्षेत्रको राजनीतिक भूगोलमा यतिबेला ठूलो हलचल पैदा भएको छ ।
एकातिर एमालेले आफ्ना पुराना र अनुभवी नेता कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिइ नयाँ अनुहार अघि सारेको छ भने अर्कोतिर वैकल्पिक शक्ति रास्वपाले पार्टीका बलिया नेतालाई मैदानमा भिडाएको छ । रास्वपा सभापति रवि लामिछाने हिरासत र जेलमा रहँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका उपसभापति अर्याल पहिलो पटक चुनावी घरदैलोमा छन् । ५१ वर्षीय अर्यालले ‘तपाईं मत बदल्नुस् । हामी देश बदल्ने छौं’ चुनावी नारा बनाएका छन् । मतदातासँग साक्षात्कर गर्दै हिंडिरहेका अर्यालले आफूलाई ‘रवि लामिछानेको पार्टीको दोस्रो मान्छे’ भनेर चिनाइरहेका छन् । काठमाडौं महानगरका पूर्व मेयर बालेन शाह पक्षसँग एकता गरेपछि दोस्रो व्यक्ति भने हाल उपसभापति अर्याल छैनन् । पार्टीमा दोस्रो वरीयतासहित वरिष्ठ नेतामा बालेन शाह छन् ।
२०७४ सालमा फराकिलो मतान्तरले प्रतिष्पर्धीलाई हराएका नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठसँग गत निर्वाचनमा रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेल ९९५ मतको अन्तरले हारेका थिए । गत निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए ।
०७४ को निर्वाचनमा कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित दोस्रो भएका थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर न्यून हुनु र समानुपातिकतर्फको मतमा रास्वपा पहिलो भएका कारण पनि यो क्षेत्र रास्वपाका लागि अनुकूल नै रहेको यस पार्टीका नेताहरू दावी गर्छन् । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको पक्षमा सबैभन्दा बढी मत खसेको थियो । समानुपातिकमा रास्वपाले ११ हजार ५०२, एमालेलाई ९४०७, कांग्रेसको पक्षमा आठ हजार पाँच मत खसेको थियो ।
संविधानसभाका दुवै निर्वाचन जितेको कांग्रेसले त्यसपछि यो क्षेत्रमा जित्न सकेको छैन । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले जितेका थिए । २०७४ मा उनै उम्मेदवार ध्यानगोविन्द पराजित भए भने २०७९ सालको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएन । यस पटक कांग्रेसले महिला अनुहारलाई अघि सारेको छ ।
विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य नानु बाँस्तोलालाई पहिलो पटक कांग्रेसले संघीय संसदको लागि उम्मेदवार बनाएको छ । अघिल्लो केन्द्रीय समितिमा समेत रहेकी बाँस्तोलाले गत निर्वाचनमा प्रदेश सभामा प्रतिष्पर्धा गरेकी थिइन् । काठमाडौं– ९ (क) बाट उम्मेदवार बनेकी बाँस्तोला त्यसबेला निर्वाचित भने भइनन् ।
नेपाल विद्यार्थी संघमा हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी बास्तोलाले काठमाडौं–९ को माटोले आफूलाई चिनेको दावी गर्छिन् । ‘परिवर्तित कांग्रेससहित निर्वाचनमा छौं । नेता र नेतृत्व परिवर्तन गरेका छौं । हामी सामाजिक सञ्जालले निर्माण गरेका नेता होइनौं, वडाहरुमा फरक–फरक समस्या छन् । ती समस्यालाई नीतिगत तहबाट समाधान गर्ने मेरो चुनावी एजेण्डा हो’, बास्तोला भन्छिन् ।
पार्टीले केही दिनमा सार्वजनिक गर्ने १० भिजनसहित मतदाताको घरघरमा पुग्ने उनले बताइन् । कांग्रेस १० भिजनसहितको संकल्प–पत्र ल्याउँदैछ । ‘संविधानको रक्षा र अग्रगमनको यात्रा सिङ्गो काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ को विकास र समृद्धिका लागि’ चुनावी नारासहित उनी मतदाताकहाँ पुगिरहेकी छन् ।
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम केलाउँदा यस क्षेत्रमा पर्ने वडाहरूको मत विश्लेषण गर्दा कांग्रेस पहिलो देखिन्छ । काठमाडौं महानगरका चार, नागार्जुन नगरपालिकाका पाँच र चन्द्रागिरि नगरपालिकाका पाँच गरी १४ वडा यस क्षेत्रमा पर्दछन् । ती मध्ये बहुमत (८ वटा) वडामा कांग्रेसले जितेका वडाध्यक्ष छन् । काठमाडौँ–९ मा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा पर्दछन् ।
महानगरको वडा नम्बर १२, १४ मा कांग्रेस, वडा नम्बर २१ र २२ मा एमालेले जितेको छ । यस क्षेत्रमा परेका चन्द्रागिरि नगरपालिकाका पाँच वडामध्ये कांग्रेसले वडा नम्बर १, १३ र १५ जितेको छ भने एमालेले वडा नम्बर १२ र १४ जितेको छ । नागार्जुन नगरपालिकाको ६, ९ र १० कांग्रेसले जितेको छ भने एमालेले ७ र ८ वडामा जितेको छ ।
लगातार दुई पटक निर्वाचत भएका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई यस पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । उनको ठाउँमा डा. अजयक्रान्ति शाक्यलाई मैदानमा उतारिएको छ । ५७ वर्षीय शाक्यले भू–गर्भ, भौतिक, अर्थशास्त्र, सामाजिक र संगीतमा स्नातक गरेका छन् । बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य संगीतकर्मी समेत हुन् । उसु र मार्सलआर्टको खेलाडी समेत रहेका शाक्यले ‘इन्द्रजात्रा, बुद्धका मौलिक दर्शन, द शाक्यज्’, ‘म मैनझैँ पग्लिरहें’ लगायतका पुस्तक लेखेका छन् ।
२०७४ सालमा यसै क्षेत्रको ९ (क) बाट प्रदेश सभामा निर्वाचित शाक्य संघीय संसदका लागि उम्मेदवार बनेका छन् । बागमती प्रदेश सदस्य रहँदा शाक्यले छोटो समय आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको मन्त्री बनेका थिए । एमाले अध्यक्ष ओली २०७२ सालमा प्रधानमन्त्री हुँदा शाक्य उनको विज्ञान–प्रविधि, सामाजिक, सांस्कृतिक र विकास सल्लाहकार भएर समेत काम गरेका थिए । क्षेत्रका विकास, संस्कृति- सम्पदाको संरक्षण, सम्र्वद्धनलाई शाक्यले चुनावी एजेण्डा बनाएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका अन्य क्षेत्रमा पराजय व्यहोर्दा नेकपा एमालेका लागि बीउ जोगाउने ‘एउटा मात्र किल्ला’ काठमाडौं–९ बनेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएर तेस्रो शक्ति बनेको तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) नेकपाले राधाकृष्ण महर्जनलाई उम्मदेवार बनाएको छ । ५४ वर्षीय महर्जनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नेकपालाई मतदान गर्न आग्रह गर्दै चुनावी प्रचार गरिरहेका छन् ।
कांग्रेससँग चुनावी गठबन्धन गरेर गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६,४०२ मत पाएकी थिइन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट एकीकृत समाजवादीका पूर्व नेता रामेश्वर श्रेष्ठलाई काठमाडौं–९ मा उम्मेदवार बनाएको छ । एमाले हुँदै एकीकृत समाजवादी र हाल उज्यालो नेपालमा रहेका श्रेष्ठ प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन् । श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको उपमेयरको प्रत्यासी भई पराजित भएका थिए ।
यस क्षेत्रमा मतदाताको संख्या ७८ हजार ४९५ जना छन् । महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी छ । महिला मतदाता ४० हजार २७८ हुँदा पुरुष मतदाताको संख्या ३८ हजार २१७ जना छन् । भदौं २३ र २४ गतेको आन्दोलनपछि यस पटक राजनीतिक परिस्थिति बदलिएको छ । दलहरू यस पटकको चुनावमा एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । जसका कारण पुराना दलहरूको मत यस पटक बाँडिने सम्भावना पनि देखिएको छ ।
काठमाडौँ–९ को फागुन २१ गतेको भिडन्त केवल एउटा सिटको हारजित मात्र होइन । एमालेका लागि यो क्षेत्र गुम्नु काठमाडौंको आफ्नो अन्तिम किल्ला गुम्नु पनि हो । तर, रास्वपाको लहरले काठमाडौँमा काम गर्छ कि गर्दैन भनेर फागुन २१ नआई थाहा हुँदैन । काठमाडौँका शहरी मत अधिकांश ‘छनौंटको’ हुने भएकाले रास्वपाका डीपी अर्याललाई कसरी हेर्छन् भनेर सजिलै भन्न सकिँदैन ।
अर्कोतिर एमालेका स्थानीय र बौद्धिक मानिने डा. अजयक्रान्ति शाक्यले एमालेको विरासत जोगाउन कतिको सक्छन् भनेर हेर्न चुनावकै दिन पर्खिन पर्ने देखिन्छ । यस पटकको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिलकुमार (दिलिप) कार्की, जनता समाजवादी पार्टी, नेपाल रणवीर क्षेत्री सिंह, नेपाल मजदुर किसान पार्टीबाट शान्त महर्जन चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट रोशन दानी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रोक्का, मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज गुरुङ प्रतिष्पर्धामा छन् ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का एन्जिसराज प्रसाई, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य, श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ, मितेरी पार्टी नेपालका मदन पोखरेल पनि चुनावी दौडमा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का माइला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मदन डंगोल, आम जनता पार्टीबाट ईरश श्रेष्ठ पनि चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । जुद्धबहादुर कार्की, पुनमाया महर्जन, पंचकुमारी मानन्धर, मधुसुदन शर्मा, सुमित्रा श्रेष्ठ, हरिप्रसाद घिमिरेले स्वतन्त्र रुपमा चुनावमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस !