दौरा सुरुवालमा सात महादेशमा म्याराथन

दौरा सुरुवालमा सात महादेशमा म्याराथन

अमेरिका : बाल जोशी, नेपाली मूलका अमेरिकी अल्ट्रा म्याराथन धावक हुन्। जसले गिनिज बुकमा आफ्नो नाम लेखाएका छन्। वल्र्ड म्याराथन च्यालेञ्जमा सहभागी हुँदै सात दिनमा सात महादेशमा जोशीले दौरा सुरुवाल लगाएर म्याराथन पूरा गर्दै गिनिज वल्र्ड बुकमा नाम लेखाएका हुन्।

गत जनवरी ३१ तारिखमा अन्टार्टिकाबाट सात दिनमा सात महादेशमा म्याराथन गर्ने क्रमको सुरुवात गर्दै जोशीले शुक्रबार उत्तर अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहरमा म्याराथन पूरा गरेका थिए। उनीसहित ३२ देशका ५६ धावक वल्र्ड म्याराथनमा सहभागी भएका थिए। सन् २०१५ बाट सुरु भएको वल्र्ड म्याराथन च्यालेञ्ज निकै चुनौतीपूर्ण मानिन्छ। रनवक आईएनसीले यो च्यालेन्जको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ।

एक सय ६८ घण्टाभित्र सात महादेशमा म्याराथन पूरा गर्ने क्रममा जोशीले दौरा सुरुवाल लगाएर दौडिएका थिए। उनले अमेरिका र नेपाल दुवैको प्रतिनिधित्व रहने गरी आफूलाई प्रस्तुत गरेका थिए। अन्टार्टिकाको भूमिमा म्याराथन पूरा गर्दै एउटा जोखिमपूर्ण तर गर्विलो इतिहास बनाउँदै अघि बढेका जोशीले दक्षिण अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एसियाको यूएईस्थित दुबई, युरोपको स्पेनस्थित म्याड्रिड, दक्षिण अमेरिकाको ब्राजिलस्थित र्फोटालेजा र उत्तर अमेरिकाको अमेरिकास्थित मायामीमा म्याराथन पूरा गर्दै इतिहास बनाएका हुन्। उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका तर्फबाट माइकल इम्प्रिकले प्रमाणपत्र प्रदान गरेका थिए।

निकै चुनौतीपूर्ण वल्र्ड म्याराथन निकै खर्चिलो पनि रहेको छ। ४९ हजार पाँच सय अमेरिकी डलर प्रवेश शुल्क रहेको आयोजक संस्थाको वेबसाइटमा उल्लेख छ। चुनौतीपूर्ण र खर्चिलो वल्र्ड म्याराथनमा सहभागी हुँदै नेपाली पहिरनलाईसमेत अन्तर्राष्ट्रियकरण गर्न योगदान दिएका जोशीले सात दिन सात महादेश म्याराथनमा आफ्नो सहभागितालाई केवल म्याराथनमा मात्र सीमित राखेनन्। उद्देश्यसहितको दौड हुनुपर्छ भन्ने मान्यतासहित विभिन्न सामाजिक सेवामूलक प्रायोजनसहित दगुर्दै आएका जोशीले सात महादेशमा आफ्नो म्याराथन यात्रालाई सात उद्देश्यमा परिभाषित गरेका छन्।

‘अन्टार्टिकामा म दगुरिरहँदा उद्देश्य ग्लोबल वार्मिङका थियो। एसियामा गल्र्स एजुकेसनका लागि दौडिएँ भने उत्तर अमेरिकामा चाइल्ड एब्युसका लागि दौडिएँ। यस्तै विभिन्न उद्देश्यसहित सात महादेशमा सात दिन म्याराथनमा दौडिनेछु’, उनले प्रतियोगितामा सहभागी जानु अघि भनेका थिए। 

जोशीले विभिन्न परोपकारी कामका लागि दगुरेर दुई लाख ५० हजार डलरभन्दा बढी सहयोग गरिसकेका छन्। कतिपय सिधैं फन्ड रेजर कम्पनीमार्फत सहयोग हुने गर्दछ भने कतिपय हकमा वान स्टेप फाउन्डेसनमार्फत सहयोग गर्ने गर्दछन्। डा. सन्दुक रुइतले सञ्चालन गरेको फाउन्डेसनमार्फत आँखा नदेख्नेहरूको अप्रेसन र चितवनमा अपाङ्गमैत्री पुस्तकालय निर्माणमा जोशीले सहयोग गर्दै आएका छन्। 

टेक्ससको डालासमा रहेको नेप्लिज च्याम्बर अफ कमर्सका संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका जोशीले नेपाली संस्कृति पुस्तान्तरणका लागि उपयोगी हुने केन्द्रको रुपमा हेरिटेज सेन्टरको परिकल्पना देखेका थिए। त्यही अभियानमा थोरै भएपनि सहयोग पुगोस् भनेर वान स्टेप फाउन्डेसनमार्फत सहयोग जुटाउँदै आएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.