सन्तोषजनक एउटा तस्बिर
राज्य अभिभावक हो भने उसले आफ्ना सन्तानको रक्षामा कुनै कसर बाँकी राख्नुहुँदैन। बालमृत्युदर घटाउनु प्राविधिक कुरा मात्र होइन, यो नैतिक र मानवीय दायित्व पनि हो।
समृद्धि केवल भौतिक पूर्वाधारको विकास होइन। न त हो आर्थिक उन्नतिमात्रै पनि। यो त मानिसको जीवनलाई सुखी र सुविधासम्पन्न बनाउने मात्रै नभई स्वस्थ र तन्दुरुस्तीको मापन हो। राज्य संयन्त्रको पर्याप्त ध्यान पुग्दा र सुशासन कायम हुँदा हरेक क्षेत्रमा सफलताको प्रतिशत बढ्छ। नकरात्मकता घट्छ। स्वास्थ्य क्षेत्रको एउटा आँकडा यस्तै उत्साहजनक छ। कोही किन जन्मन नपाई मर्छ वा जन्मनासाथ मर्छ या छोटो जीवनमात्रै बाँच्छ ?
गर्भदेखि नै पोषण र जन्मेपछिको पोषणसँगै रोगव्याधबाट बच्ने उपायको प्रबन्ध हुन सक्दा मात्रै मानिस स्वस्थ जन्मन्छ, हुर्कन्छ र बाँच्छ। नेपालले लामो समयदेखि यो कुरालाई ध्यान दिँदै धेरै उपाय रच्दै आएको छ। र, मूल उद्देश्य नागरिक स्वस्थ जन्मिऊन्, बाँचून् भन्ने हो। त्यसका लागि शिशुको मृत्युदर मातृमृत्युदर न्यूनीकरण गर्नु थियो। यस मामलामा देशले उत्साहजनक उपलब्धि हासिल गरेको छ। जुन अत्यन्तै सुखद हो।
राष्ट्रिय तथ्यांक कार्यालयले भर्खरै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। जसअनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युदर घटेको छ। प्रति हजार जीवित जन्ममा ३१ जनाको मृत्यु हुने गरेको छ। यद्यपि, यो तथ्यांकले हाम्रो स्वास्थ्य प्रणाली सुध्रिएको संकेत गर्छ। यो संकेतसहितको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजाले आशा जगाएको छ। २०२२ तिरसम्म १ हजारमा १ सय १८ बालबालिकाले ज्यान गुमाउँथे। त्यो ३१ मा आइपुग्नु भनेको ठूलो उपलब्धि मान्नुपर्छ। प्रति हजारमा ३१ शिशुको मृत्युमा सन्तोष मानेर राज्य बस्नुचाहिँ हुँदैन। यसलाई अझै घटाउँदै लगेर शून्य पुर्याउनुपर्छ। यसमा प्रमुख दायित्व राज्य र अभिभावक दुवैको उत्तिकै हुन्छ। स्वास्थ्यको सुविधा र पहुँच राज्यले दिनुपर्छ। अभिभावक पनि सचेत हुनुपर्छ र सजग भएर शिशु हुर्काउनुपर्छ। नेपालभित्रै पनि कुनै भूगोलमा निकै थोरै र कुनै भूगोल अलिक बढी शिशुमृत्युदर कायम छ। जस्तो कि बागमतीमा १ हजारमा १० जनाको मात्र मृत्यु हुन्छ, गण्डकीमा २० र सुदूरपश्चिममा ४८। जीवनको आयु एउटै देशभित्र पनि फरक भूगोलले निर्धारण गर्नुहुँदैन।
हो, यसैमा राज्यले ध्यान पुर्याउनुपर्छ। गर्भावस्थादेखि नै नियमित जाँच बढाउनुपर्छ। आमाहरूलाई त्यसमा प्रोत्साहन गर्नुपर्छ। खोप कार्यक्रम प्रभावकारी बनाउनुपर्छ। सामाजिक चेतनाको स्तर उकास्नुपर्छ। अस्पताल जाने बानी बसाउनुपर्छ। बालबालिकाको सुरक्षा नै राज्यको धर्म हो। स्वस्थ नागरिक नभई देशले फड्को मार्न सक्दैन। सबल नागरिकले नै हो, राज्यलाई सबल बनाउने। तसर्थ, शिशुमृत्युदर घटाउनु र नागरिकलाई स्वस्थ राख्ने पाइलाबाट समृद्धिको यात्रा सुरु हुन्छ। ३१ को अंकलाई शून्यको नजिक पुर्याउनु हाम्रो लक्ष्य हुनुपर्छ। ३१ जनाको मृत्यु पनि ३१ परिवारको सर्वस्व हो।
राज्य अभिभावक हो भने उसले आफ्ना सन्तानको रक्षामा कुनै कसर बाँकी राख्नुहुँदैन। बालमृत्युदर घटाउनु प्राविधिक कुरा मात्र होइन, यो नैतिक र मानवीय दायित्व पनि हो।
प्रतिक्रिया दिनुहोस !