सुशासनको पहिलो आधार स्वच्छ आचरण

सुशासनको पहिलो आधार स्वच्छ आचरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भइरहेकै बेला पनि भ्रष्टाचारको जरा फैलिएकै छ । यो कुरा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईकै अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ । ५ वर्षको अवधिमा मुुलुकमा भ्रष्टाचारजन्य अपराधविरुद्ध अख्तियारले विशेष अप्रेसन नै चलाएर विभिन्न काम सम्पन्न गरेको छ । विशेष अदालतमा मुद्दा पुगेका छन् । कैयौंमा अख्तियारले सफलता प्राप्त गरेको छ । पर्याप्त अनुसन्धान र अभियोजन हुन नसकेको भन्दै असफलताका दृष्टान्तसमेत छन् ।

खासगरी अख्तियारले यसबीच परम्परागतभन्दा बेग्लै सरकारी जग्गा अतिक्रमण, सूचना प्रविधि, स्वास्थ्य क्षेत्रका उपकरण खरिद र हवाई उड्ययन क्षेत्रमा आक्रमक भई अनुसन्धान गरेको दृष्टान्त छ । केहीमा अख्तियार अन्योलमा पनि प¥यो । जस्तै, नेपालमा भ्रष्टाचार गरी विदेश पु¥याएको सम्पत्तिको छानबिन र कारबाही । त्यसको सरकारी स्तरबाटै पहलकदमी नभए भ्रष्टाचार गर्नेमाथि कारबाही प्रभावकारी हुन नसक्ने भनी अख्तियार प्रमुखले दिएको अभिव्यक्तिलाई सबैले पाठका रूपमा स्वीकार्नुपर्छ ।  

सार्वजनिक निकायको कामकारबाहीमा स्वच्छ र पारदर्शी ढंगले कामकारबाही हुन नसके भ्रष्टाचारजन्य कार्यमा कमी आउँदैन । वास्तवमा सुशासनको पहिलो आधार नै स्वच्छ आचरण हो । गलत आचरण, व्यवहार र परिपाटी समयमा रोकथाम नहुँदा भ्रष्टाचार बढ्ने हो । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२५ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको अंक ३४ हो । यसले नेपालको भ्रष्टाचारको कुरुप तस्बिर देखाउँछ । १०० पूर्णांकमा ३४ अंक ल्याएर हामी उत्तीर्णांक पनि ल्याउन नसक्ने कमजोर विद्यार्थी जस्तै भएका छौं । सन् २०२४ मा पनि हाम्रो अंक यही थियो । अर्थात् हामी भ्रष्टाचारको दलदलमै छौं । एक दशकदेखि नै हामी उस्ताको उस्तै छौं । अर्थात् हामी विकासमा भन्दा बढी भ्रष्टाचारमै रुमलिएका छौं । यसले हाम्रो अन्तर्राष्ट्रिय साख र छवि दुवै गिराएको छ । 

भ्रष्टाचार नियन्त्रण र काराबाहीका लागि हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । तर, संसारमै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्कलगायतमा यस्तो संवैधानिक आयोग भ्रष्टाचार नियन्त्रणका लागि छैन । उत्तरी ध्रुवीय देश स्विडेनबाट राज्यका पदाधिकारीको निगरानी र भ्रष्टाचार नियन्त्रणका लागि ‘अम्बुस्डमेन’ राख्ने परम्परा सुरु भएको हो । त्यहाँको अम्बुस्डमेनकै सिको हो हाम्रो अख्तियार । त्यहाँ अम्बुस्डमेनले हाम्रोमा जस्तो केस्राकेस्रा केलाएर कार्यालय सहायकदेखि प्रधानमन्त्रीसम्मले गर्ने भ्रष्टाचार हेर्दैनन् । बरु सरकारी गल्ती कमजोरीलाई सच्च्याउन लगाउँछ । ठूलै मुद्दा भएको खण्डमा भने मुद्दा चलाउँछ । तर, देशभरका लाखौं लाख कर्मचारी हेर्ने हामीकहाँ एउटै अख्तियार छ । अनि, अनुसन्धान पनि उही गर्छ र मुद्दा पनि उही चलाउँछ । खासमा अख्तियारको बृहत् क्षेत्राधिकारको बोझ कम गर्न आवश्यक  छ । भ्रष्टाचार नियन्त्रणको पहिलो कर्तव्य सरकारको हो । र, नागरिक नै पनि सचेत हुने र भ्रष्टाचार विरोधी संस्कृति हुनुपर्ने हो । हामी अरूलाई भ्रष्ट र आफूलाई मात्रै सज्जन देख्छौं । परिआउँदा आफंै भ्रष्टाचार गर्छाैं । तसर्थ, भ्रष्टाचारको न्यूनीकरणको सुरुआत जनस्तरबाटै पनि आवश्यक छ । कुनै खास आयोगको जिम्मा दिएर भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने कल्पना गर्नु मूर्खता हो । 

भ्रष्टाचार त हामीकहाँ नागरिक तहकै ‘संस्कृति’ बनेको छ । छिमेकी भुटानले ७१ अंक ल्याएर सुशासनको उदाहरण पेस गर्दा हामी ३४ अंक ल्याइरहँदा हामीलाई लज्जा भएको छैन भने समस्या यहीं छ । सुरुआत आत्मसमीक्षा र बोधबाट गर्नुपर्छ । डेनमार्कले लगातार ८९ अंक ल्याएर भ्रष्टाचारमुक्त समाजको नमुना देखाइरहँदा हामीले केही सिक्न सकेनौं । त्यहाँको समाजमा नैतिकता र इमानदारीको मूल्य छ । हाम्रोमा शक्ति र पैसाको पूजा हुन्छ । जति ठूलो भ्रष्टाचारी, उति ठूलो समाजसेवीको आवरणमा सम्मानित हुने विकृत संस्कृति हामीले हुर्कायौं । जबसम्म समाजले भ्रष्टलाई बहिष्कार गर्दैन तबसम्म कानुनी डन्डाले मात्र यो प्रवृत्ति रोकिँदैन । समस्या कानुनमा होइन, नियतमा छ । समस्या कागजमा होइन, चरित्रमा छ । भदौ २३ र २४ गते जेन–जी आन्दोलनको माग सुशासन थियो । त्यही सन्दर्भमा रहेर फेरि पनि सुशासनमा केन्द्रित भइएन भने भ्रष्टाचार नियन्त्रण असम्भव हुन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.