बैतडीमा ‘हाई भोल्टेज’ उम्मेदवार : दामोदर, चतुर, परमानन्द कि हरिमोहनको पल्ला भारी ?

बैतडीमा ‘हाई भोल्टेज’ उम्मेदवार : दामोदर, चतुर, परमानन्द कि हरिमोहनको पल्ला भारी ?

बैतडी : बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचन निकै रोचक हुने देखिएको छ । तीन पटक लगातार जितेका एमालेका दामोदर भण्डारी, नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहेका कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी बलिया प्रतिष्पर्धी हुन् । राप्रपाका भुपेन चन्दले पनि आफ्नो गतिविधि बढाइरहेका छन् । 

null

झनै रोचक कुरा के छ भने एमाले बैतडीका संस्थापक एवं पूर्व जिल्ला विकास समिति सभापति समेत भइसकेका परमानन्द भट्ट हाल नेकपामा छन् । यसैगरी २०७९को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभाको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर बलियो टक्कर दिएका हरिमोहन भण्डारी हाल रास्वपाबाट उम्मेदवार छन् । यति मात्रै होइन हरिमोहन भण्डारी २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा समेत कांग्रेसबाट टिकट पाए पनि पराजित भएका थिए । 

यी चार वटै उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । एमाले आफ्नो दवदवा कायमै राख्ने लक्ष्यमा रहेको छ, बलियो संगठन रहेको कांग्रेस लयमा फर्किने रणनीतिमा छ भने नेपाली कम्युनिष्ट पार्टी पुनः लयमा फर्किन चाहन्छ । त्यसै गरी रास्वपा नयाँ इतिहास बनाउने उद्देश्यका साथ हिंडेको छ । 

यतिबेला जिल्लामा ८-८ हजार सदस्य रहेको दाबी गरेका एमाले र कांग्रेसलाई कडा टक्कर दिइरहेका पात्र हुन रास्वपाका हरिमोहन भण्डारी । यसअघि प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार मत ल्याएका भण्डारी अहिले संघीय निर्वाचनमा रास्वपाका पार्टी सदस्यहरुको साथ लिएर जित्ने दावी गरिरहेका छन् । उनले आफ्नो प्रतिष्पर्धी समेत नरहेको हालै आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । 

null

यता यसअघि ३३ हजार मत ल्याएर विजयी भएका दामोदर भण्डारीले पनि विजय सुनिश्चित रहेकाले घोषणा गर्न बाँकी रहेको दावी गरेका छन् ।  कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले विगतमा बैतडीबासीले अपेक्षा अनुसार विकासको अनुभूति गर्न नपाएको भन्दै त्यसबाट आजित जनताले आफूलाई जिताउने दावी गरेका थिए । २०७४ सालपछि कांग्रेसीहरुले रुखचिन्हमा मतदान गर्न पाइरहेकाले कांग्रेस एक ढिक्का रहेकाले विजय सुनिश्चित रहेको बताइरहेका छन् । यसैगरी नेकपाका उम्मेदवार परमानन्द भट्टले विगतमा सरकारमा रहेका दलहरुको असक्षमताका कारण यो परिस्थिति आएकाले मत परिवर्तनको पक्षमा रहेको बताएका छन् । 

नेपाली कांग्रेसले २०७४ सालपछि आफ्नो उम्मेदवार पाएकाले हौसिएको छ । यसअघि २०७९मा गठबन्धनका कारण नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि मत मागेको थियो । हालै मात्र कांग्रेसका बागी उम्मेदवार तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका आधिकारिक उम्मेदवार चतुरबहादुर चन्दलाई सहयोग गर्ने भन्दै पार्टीमा फर्किएपछि कांग्रेसलाई झनै राहत मिलेको छ ।

null

चतुरबहादुर चन्दका लागि पहिलो परीक्षणको अभ्यास रहेको र उनमा सक्षमता रहेकाले कांग्रेसले विजयी हासिल गर्ने कांग्रेस बैतडीका सचिव प्रेम चन्दको दावी छ । ‘उहाँ पहिलो पटक मैदानमा उत्रिएको उम्मेदवार हो, उहाँले क्रिकेट संघमा गरेको उत्कृष्ट कार्य सम्पादन उदाहारण हो, त्यसैले उहाँ सक्षम उम्मेदवार हो’, चन्दले भने । 

त्यसैगरी नेकपा एमाले आफ्ना कार्यकर्ताहरुलाई संरक्षण गर्दै पुरानै मत संरक्षण गर्नतर्फ अगाडि बढेको छ । पार्टीका सबै कार्यकर्ताहरुलाई डगमगाउन नदिनको लागि कसरत गरिरहेको छ । विगतमा दुई बलिया पार्टी एक हुँदा त निर्वाचन जितेकाले आफूहरुलाई कुनै समस्या नहुने एमाले केन्द्रिय समिति सदस्य गोविन्द गिरीले बताए । ‘हामीले नेपाली कांग्रेस र माओवादी एक ठाउँमा हुँदा त निर्वाचन जितेका हौं, अहिले त्यस्तो समस्या हुँदैन’, केन्द्रिय सदस्य गिरीले भने । 

१३ वर्षदेखि बैतडीमा आएको पूर्वाधार, शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनका कारणले पनि दामोदरको विकल्प अन्य उम्मेदवार हुन नसक्ने केन्द्रिय सदस्य गिरीले बताए । २०७९ को निर्वाचनमा ३३ हजार ६११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दामोदर भण्डारीले त्यसअघि २०७० सालको दोस्रो संविधानसभा, २०७४ मा जित हासिल गरेका थिए । उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भइसकेका  नेता हुन् । 

कार्यकर्ताहरुलाई थप बजबुत बनाएर गाउँगाउँ खटाएको नेकपाले पनि आफ्नो उपस्थिति बलियो रहने संकेत गरेको छ । ‘हाम्रो सैद्धान्तिक मत समेत जित नजिकको रहेकाले जित सुनिश्चित गराउनको सबै कार्यकर्ता एकजुट भएर कसरतमा छन्, त्यसैले हामी निकै बलियो स्थितिमा छौँ’, नेकपाका पोलिटव्युरो सदस्य समेत रहेका नरेन्द्र कुवँर ‘विजयसुन्दर’ ले भने । 

null

यसैगरी युवा माझ परिचित र चर्चित अनुहार रास्वपाका हरिमोहन भण्डारीले चुनावी ‘मुभमेन्ट’ निकै बढाउँदै छन् । यसअघिका दिनहरुमा कांग्रेस र एमालेका उम्मेदवार बलिया रहेको चर्चा चलेकोमा रास्वपाले जनतामाझ गरिरहेको लगातारका कार्यक्रम र जिल्लामा बालेनको उपस्थितिले दामोदर र चतुरका लागि हरिमोहन भण्डारी भारी पर्ने आंकलन गरिएको छ । स्वच्छ छबी भएका र युवामाझ सशक्त रहेका व्यक्ति रास्वपाको उम्मेदवार रहेकाले पनि यस वर्ष बैतडीमा नयाँ इतिहास कोरिने रास्वपाका नेता भोजराज जोशीले बताए ।

‘टोलटोलमा रास्वपा र हरिमोहनको चर्चा छ, सबै दलका नेताहरुप्रति जनताहरु रुष्ट छन्, हरिमोहन आफैमा अब्बल उम्मेदवार हुन्, त्यसैले हामीलाई जितबाट रोक्न सक्दैनन्’, जोशीले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दले पनि आफ्नो चुनावी अभियानलाई सक्रियरुपमा अघि बढाइरहेका छन् । बैतडीबासीले सक्षम युवा चाहेकाले आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । 

बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ । नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको उम्मेदवारी कायम रहेको छ  ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.