बंगलादेशमा नयाँ सरकार गठन हुँदै, यी हुन् प्रधानमन्त्रीका दाबेदार

बंगलादेशमा नयाँ सरकार गठन हुँदै, यी हुन् प्रधानमन्त्रीका दाबेदार

चुनावका साथै जनमतसंग्रह पनि हुँदै, जसमा संविधान संशोधन देखि नयाँ कानुन निर्माणलगायतका विषयहरु समेटिए

बंगलादेश : बंगलादेशले झण्डै चार दशकपछि नयाँ प्रधानमन्त्री पाउने भएको छ। सन् १९९१ देखि २०२४ सम्मको अवधिमा आलोपालो गर्दै सत्ता सञ्चालन गरिरहेकि तत्कालिन प्रधानमन्त्री शेख हसिना युवा विद्यार्थी विद्रोहबाट चर्किएको आन्दोलनसँगै भागेपछि र पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएपछि पहिलोपटक आज (बिहीबार) संसदीय चुनाव भइरहेको छ। जुन चुनावले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिनेछ । 

जारी चुनावमा प्रधानमन्त्री पदका लागि प्रमुख दाबेदारका रुपमा बंगलादेश राष्ट्रवादी (बीएनपी) पार्टीबाट खालिदा जियाका छोरा तारिक रहमान अगाडि सरेका छन् । 

त्यस्तै जमात -ए -इस्लामी पार्टीका नेता शफिकुर रहमान, र राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता नाहिद इस्लाम पनि प्रधानमन्त्रीको दाबेदार हुन्। यी तिन जना बिचको दाबेदारी निकै प्रतिस्पर्धात्मक र रोचक छ। बीएनपी पार्टी विजयी भएको खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ। त्यस्तै देशमा कट्टरपन्थी मुस्लिम दल जमात-ए-इस्लामी र युवा दल एनसीपीप्रतिको समर्थन पनि बढ्दो क्रममा छ।

प्रधानमन्त्रीका प्रमुख दाबेदार तारिक रहमान

तारिक रहमान प्रधानमन्त्रीका प्रमुख दाबेदार हुन् । उनी १७ वर्ष लामाे बेलायती जीवन बिताएर गत जनवरी २५ तारिखमा बंगलादेश फर्केका हुन्। फर्केको पाँच दिनपछि उनकी आमा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएको थियो। त्यसपछि  बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) को बागडोर रहमानले समाल्दै आएका छन् । 

२००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा रहमानलाई भ्रष्टाचार मुद्दा लागेको थियो । जसका कारण २००७ मा अन्तरिम सरकारको समयमा उनलाई १८ महिनाको जेल सजाय समेत तोकिएको थियो । यसबिच उनले उपचारकाे निहुँमा विदेश जाने अनुमति पाएपछि  २००८ मा बेलायत गएका थिए। तर पछि उनी स्वदेश फर्केनन्। हसिना भागेपछि मात्र उनी १७ वर्षपश्चात् बंगलादेश फर्किएका हुन्। लामो समयसम्म देशमा नभएपनि उनलाई बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले नेता मानेकाे थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार पार्टीको रणनीति, आन्दोलन र राजनीतिक लाइन उनैले निर्धारण गरिरेहेका थिए।

डिसेम्बरमा गरिएको मत सर्वेक्षणले पनि तारिकको पार्टीले लगभग ७० प्रतिशत समर्थन प्राप्त गरेको देखाएको छ। आफ्नी आमाको मृत्युपछि उनले पाएको सहानुभूति र उनको राजनीतिक पुनरागमन पनि वर्तमान परिस्थितिको महत्त्वपूर्ण कारक बनेको छ । तारिक रहमानले आफूलाई शान्त, सुन्ने र नीति-केन्द्रित नेताका रूपमा स्थापित गरिरहेका छन् ।  उनले वार्षिक ५ करोड रुख रोप्ने, ढाकामा नयाँ हरित क्षेत्र सिर्जना गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने एजेन्डा अघि सारेका छन्।

जमात नेता शफिकुर रहमान

प्रधानमन्त्री पदको दौडमा दोस्रो प्रमुख दाबेदारका रुपमा हेरिएका नेता  शफिकुर रहमान। उनी बंगलादेशी इस्लामीक पार्टी जमात-ए-इस्लामीका अमिर (प्रमुख) हुन्। उनको पार्टीलाई कट्टरपन्थी राजनीतिको आरोप लगाइएको छ। जमात अहिलेसम्म बंगलादेशको सत्तामा आएको छैन। तर बंगलादेशको राजनीतिमा यस पार्टीलाई एक सुव्यवस्थित भोट बैंक मानिन्छ। धार्मिक प्रभाव भएका क्षेत्रमा यसको बलियो उपस्थिति देखिन्छ। 

यस पार्टीले १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको विरोध गरेको थियो। त्यतिबेला यसका धेरै नेतालाई स्वतन्त्रता समर्थकको हत्यामा पाकिस्तानी सेनासँग मिलेको आरोप लगाइएको थियो। पार्टी १९७१ पछि पाकिस्तानबाट अलग हुँदै बंगलादेशमा गठन भयो, तर यसको पाकिस्तान समर्थक छवि यथावत् रह्यो। धेरै सञ्चारमाध्यम र विश्लेषकले यसलाई प्रो'पाकिस्तान' वा पाकिस्तान समर्थक पनि भन्ने गरेका छन् । 

यसलाई १९७२ मा बंगलादेशमा प्रतिबन्ध पनि लगाइएको थियो। तर १९७५ मा प्रतिबन्ध हटाइएको थियो। र, १९७९ मा जियाउर रहमानको शासनकालमा पार्टीलाई चुनावमा भाग लिन अनुमति दिइएको थियो। यसैले बंगलादेशको ठुलो वर्गमा जमातविरुद्ध आक्रोश छ। यद्यपि यो पार्टीले झन्डै २ करोड समर्थक र २ लाख ५० हजार सदस्य भएको दाबी गरेको छ । 

विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लाम 

प्रधानमन्त्रीका अर्का दाबेदार हुन् विद्यार्थी आन्दोलनका नेता नेता नाहिद इस्लाम। उनी बंगलादेशका नयाँ र सबैभन्दा कान्छा भावी प्रधानमन्त्रीका दाबेदार हुन्। सन् २०२४ मेमा तत्कालीन हसिना सरकारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक नाहिद इस्लाम हुन्। त्यसबेला उनी नाहिद स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन नामक विद्यार्थी मञ्चका संयोजक थिए। यस अवधिमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो।

शेख हसिनालाई सत्ताबाट हटाइएपछि नाहिद इस्लामलाई मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमा सूचना, हुलाक र दूरसञ्चारसँग सम्बन्धित विभागको सल्लाहकार बनेका थिए । उनले केही महिनासम्म यो पद सम्हाले। पछि सरकारबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरेका नाहिदले  २०२५ फेब्रुअरीमा राष्ट्रिय नागरिक पार्टी (एनसीपी) घोषणा गरे।  

यो पार्टीले आफू विद्यार्थी आन्दोलन, युवा र प्रणालीसँग असन्तुष्ट मतदाताहरूको राजनीतिक आवाज भएको दाबी गर्छ। यद्यपि एनसीपीले सिफुकर रहमानको जमात-ए-इस्लामीसँग गठबन्धन गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नाहिद इस्लामलाई सहरी क्षेत्र, विद्यार्थी र पहिलोपटक मतदानमा सहभागी युवाबाट समर्थन मिलिरहेको छ।

हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । आजको निर्वाचन सरकार अपदस्थ भएको झण्डै १८ महिनापछि जारी छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार बिहानैदेखि देशभर मतदान भइरहेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म जारी रहनेछ। 

३ सय ५० सदस्यीय संसद्‌मा प्रत्यक्षतर्फ ३०० जना सांसद चुन्न मतदान भइरहेको हो। जसमा १२ करोड ७७ लाख मतदाताले भाग लिइरहेका छन्। साथै जारी चुनावमा पहिलोपटक देशबाहिर भएकाहरूले पनि हुलाकमार्फत मतदान गर्ने पाउने व्यवस्था गरिएको छ। आज चुनावका साथै जनमतसंग्रह पनि हुँदै छ। गत वर्षको जुलाईमा अन्तरिम सरकारले आन्दोलनकारी विद्यार्थीसँग गरेको सम्झौतामा जनमतसंग्रह भइरहेको हो। जसमा संविधान संशोधन देखि नयाँ कानुन निर्माणलगायतका विषयहरुलाई समेटिएकाे छ। 

सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थीको आन्दोलन चर्किएपछि सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी भारतकै अज्ञात स्थलमा छिन्। १४ सय जनाको ज्यान जानेगरी भएको आन्दोलन र शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक भइरहेको चुनावमाथि विश्वकाे नजर छ।

हसिनामाथि प्रदर्शनकारीहरू विरुद्ध कारबाहीको प्रत्यक्ष आदेश दिएको आरोप लगाइएको छ, जुन आरोपलाई उनले अस्वीकार गरेकी छिन्। गत वर्ष नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवता विरुद्धको अपराधको आरोपमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर उनी भारतकाे कुनै अज्ञात स्थलमा लुकेर बसेकी छिन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.