इलाम : पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि बदलिएको इलाम–२ को राजनीतिक समीकरण यतिबेला चर्चा र बहसको केन्द्र बनेको छ । इलाम–२ मा १२ वर्षअघि सुवासचन्द्र नेम्वाङसँग पराजित भेषराज आचार्य यस पटक उनकै छोरा सुहाङ नेम्वाङसँग चुनावी भिडन्तमा छन् ।
सुवासचन्द्र नेम्वाङले तीन दशक एकछत्र चुनाव जित्दै आएको इलाम–२ मा यस पटकको चुनावी अंक गणितकले भेषराज कि सुहाङ कसलाई साथ देला भन्ने आम नागरिकमा चासो र कौतुहलता बढेको छ । अहिले इलाम–२ का मतदाता भोट माग्दै घर धाइरहेका उम्मेदवारका योजना र प्रतिवद्धता सुन्दै उनीहरूका एजेण्डाको केलाइरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मुख्य प्रतिष्पर्धा नेकपा (एमाले) का सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका भेषराज आचार्यबीच केन्द्रित देखिए पनि चुनावी मैदानमा १४ जना उम्मेदवार छन् । यद्यपि, चुनावी अंकगणित र राजनीतिक प्रभावको हिसाबले यस पटकको लडाईंलाई ‘विरासत र अनुभव’ को रूपमा हेरिएको छ ।
नेम्वाङ परिवारको निरन्तरता
इलाम–२ मा २०५१ सालदेखि नेम्वाङ परिवारको वर्चस्व कायम छ । सुवासचन्द्र नेम्वाङले यस क्षेत्रबाट पटक–पटक जित निकाल्दै इलाममा एमालेको बलियो आधार निर्माण गरेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ३० हजार २० मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत ल्याएर मात्र ११४ मतले पराजित भएका थिए ।
तर २०८० भदौ २४ गते सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम–२ मा राजनीतिक शून्यता सिर्जना भयो । त्यसपछि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा उनका कान्छा छोरा सुहाङ नेम्वाङ पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उक्त उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै कांग्रेसका डम्बरबहादुर खड्कालाई ५,८३० मतान्तरले पराजित गरे । खड्काले २१ हजार ९४२ मत पाएका थिए । त्यो परिणाम केवल एमालेको संगठनात्मक शक्ति मात्र नभई तत्कालीन गठबन्धनको समीकरण र मत विभाजनको उपज भएको विश्लेषण गरिएको थियो । माओवादी केन्द्रले त्यसबेला आफ्ना उम्मेदवार नउठाई सुहाङलाई समर्थन गरेको थियो ।
सुहाङको परीक्षा : विरासत जोगाउने कि नयाँ छवि बनाउने ?
उपनिर्वाचनबाट संसद् छिरेका सुहाङका लागि यस पटकको चुनाव राजनीतिक रूपमा अझै महत्वपूर्ण मानिएको छ । ‘जेनजी आन्दोलन’ पछि प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा हुँदा उनले पूरा कार्यकाल बिताउन पाएनन् । त्यसैले यस पटकको निर्वाचनलाई उनले अधुरो कार्यकाल पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
सुहाङले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल तथा स्थानीय कृषि उत्पादनमार्फत रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । ‘इलाम–२ का ४२ वटै वडा घुमेर समस्या बुझेको छु, माथिको नीति निर्माण तहमा यहाँका योजनालाई प्राथमिकता दिलाउने मेरो प्रतिबद्धता छ’, उनले घरदैलो अभियानका क्रममा बताइरहेका छन् ।
अहिले पनि मतदाताको घरदैलोमै रहेका सुहाङले चुनावको मिति नजिकिंदै गर्दा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया दिइरहेको सुनाए । उनले भने, ‘१६ महिनाको छोटो समयमा पनि हामी मतदाताको सुख–दुःखमा साथ दिनु भयो । संसदबाट पनि जनताको आवाज बोली दिनुभयो, युवाको आवाज उठाई दिनु भयो, अगाडि बढ्नुस्, हामी साथमा छौं भन्ने प्रतिक्रिया मतदाताहरुले दिइरहनु भएको छ’, सुहाङले भने ।
आफू संसदको यात्रामा निस्केपछि इलामे नागरिक र मतदाताको चाहना अनुसार विकास, निर्माणलगायतका धेरै योजनाहरु अगाडि बढेको सुनाउँदै उम्मेदवार नेम्वाङले अहिले पनि आफू जनताको गुनासो सुन्ने, सुझाव र आशिर्वाद लिने क्रममै रहेको बताउँछन् । अहिलेसम्मको माहोल र मतदाताको आफूप्रतिको विश्वासले चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उम्मेदवार नेम्वाङ इलामका पार्टीका अग्रहजहरुबाट पनि भरपुर सहयोग, साथ र समर्थन पाइरहेको बताउँछन् । युवापुस्ता माझ सुहाङको आकर्षण, एमालेको संगठित संरचना र स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजनीतिक विरासत उनको प्रमुख बलका रूपमा हेरिएका छन् ।
आचार्यको आत्मविश्वास : अनुभवको भर
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य इलामको राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उम्मेदवार हुन् । विद्यार्थी राजनीतिदेखि जिल्ला विकास समितिसम्मको अनुभव बटुलिसकेका आचार्यलाई कांग्रेसले ‘ग्रासरुट’ का बलियो उम्मेदवारका रूपमा अघि सारेको छ ।
०७४ र २०७० का निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग प्रतिष्पर्धा गरेर झिनो मतान्तरले पराजित आचार्य यस पटक परिणाम उल्ट्याउने दाउमा छन् ।
उनी विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो चुनावी एजेण्डा बनाएको बताउँछन् । ‘नागरिकका समस्या नजिकबाट बुझेको छु, संसदमा दरिलो आवाज उठाउने नेता चाहिन्छ भन्ने मतदाताको अपेक्षा मैले महसुस गरेको छु’, उनको भनाइ छ । उनले विगतको निर्वाचनका बेलाको परिवेश र अहिलेको परिवेश धेरै फरक रहेकाले आफ्नो पक्षमा जनमत बढ्दो रहेको दावी गरे ।
उनले भने, ‘पहिले तीन वटा निर्वाचन क्षेत्र थिए, अहिले दुई वटा भएको छ । कांग्रेसको पकडका ठाउँहरु अहिले मेरै क्षेत्रमा समेटिएकाले यस पटक जित निकाल्नेमा ढुक्क छु ।’ आफ्नो उम्मेदवारी यहाँको पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गर्दै संसदलाई सरकारसँग जोड्नका लागि भएको जानकारी दिंदै उम्मेदवार आचार्यले अहिले मतदातालाई भेट्दै गर्दा विकास, निर्माण, स्वास्थ्य, शिक्षा, सम्मुनति र रोजगारीकै मागहरु राखिरहेको पनि बताए । विगतका निर्वाचनहरुमा भन्दा यस पटक मतदाताहरु सचेत रहेको बताउँदै आचार्यले आफ्नो क्षेत्रका लामो समय काम गरेर र गरिरहने उम्मेदवारलाई रोज्ने दावी समेत गरे ।
कांग्रेसभित्रको एकता, गाउँ–गाउँमा पुराना कार्यकर्ताको सक्रियता र मतदातामा परिवर्तनको चाहना उनको जितको आधार मानिएको छ । विगतमा झिनो मतान्तरले हार व्यहोरेको इतिहास यस पटक जितमा बदल्ने विश्वास आचार्यमा देखिन्छ ।
अन्य दलको उपस्थिति र समीकरण
यद्यपि मुख्य प्रतिष्पर्धा एमाले र कांग्रेसबीच केन्द्रित छ, अन्य दलको उपस्थिति पनि उल्लेखनीय छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदीप राई, राप्रपाका गणेश दुलाललगायतका उम्मेदवार पनि मैदानमा छन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेशसनबाट श्यामबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट दिवस राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादरसिंह लिङदेन (लिम्बू), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट होमप्रसाद खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पवित्रा लिम्बू तुम्वाहाम्फे र जनता समाजवादी पार्टीबाट बलबहादुर आङदेम्बे चुनावी मैदानमा छन् । यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा डाकप्रसाद गौतम चुनावी दौडमा छन् ।
नेकपा उम्मेदवार ओमबहादुर गुरुङले अहिले पनि आफू आफ्नो निर्वाचन क्षेत्रको दुर्गम मानिने फाकफोक थुमका मतदातासँगको भेटघाटमा व्यस्त रहेको बताए । फाकफोक थुम सडक, खानेपानी, स्वाथ्य, शिक्षालगायतका क्षेत्रमा अझै पनि पछाडिरहेको जानकारी दिंदै उनले यहाँका नागरिकको सुख–दुःख बुझ्ने, सुझाव संकलन गर्ने काम भइरहेको बताए । उम्मेदवार गुरुङले आफूले अहिलेसम्म भेटेका सबैजसो मतदाताले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता सुवासचन्द्र नेम्वाङले जित्दै आएको ठाउँ भए पनि अपेक्षित विकास–निर्माणका काम हुन नसकेको भनेर गुनासो सुनाउने गरेको बताए ।
आफू यहि भूगोलमा जन्मिएको र यहाँका समस्याहरुसँग जानकार रहेको बताउँदै गुरुङले सडक, खानेपानी, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण र यहाँको निर्माण भइरहेको अस्पताल निरन्तरता दिंदै १५ शैंयाको बनाउन पहलकदमी लिने काम आफूले लिने कुरा मतदातालाई विश्वास दिलाइरहेको पनि उनले सुनाए । हिजो ठूला नेताले आफूनो क्षेत्र र गाउँका लागि केहि काम गर्छन् कि भन्ने आश गरेको भए पनि ती पुरा नभएको, जनताको समस्यामा ध्यान दिएको गुनासो मतदाताले गर्ने गरेको बताउँदै अब नयाँ र काम गर्नसक्ने मान्छेलाई जिताएर पठाउनु पर्छ भन्ने पक्षमा मतदाता रहेको उम्मेदवार गुरुङले बताए ।
रास्वपाका गोकुल राईले कृषि, गुणस्तरीय शिक्षा–स्वास्थ्य, वन–वातावरण संरक्षण, सुशासन र नागरिकमैत्री पूर्वाधारलाई आफ्नो प्राथमिकता बताएका छन् । ३२ वर्षका राई यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन् । यस्तै उनले विकासका गतिविधिमा स्थानीयको सहभागिता, गरिबी निवारण तथा सामुदायिक विकास पनि एजेण्डामा समेटेका छन् । तर २०८१ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको तथ्यले यस पटक पार्टीको मत आधार कति बढ्छ भन्ने प्रश्न उठाएको छ ।
यसअघि माओवादी केन्द्रले उपनिर्वाचनमा सुहाङलाई सहयोग गरेको थियो । तर अहिले माओवादीसहित अन्य वाम घटक मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नै उम्मेदवार ओमबहादुर गुरुङलाई उठाएको छ । यसले एमालेको मतमा केही असर पार्न सक्ने विश्लेषण गरिएको छ।
मौन मतदाता
इलाम–२ मा एक लाख १९ हजार ४८९ मतदाता छन् । चुनावी प्रचारप्रसार शुरु भएसँगै उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चिया पसल, खेतबारी र स्थानीय मेलापातमा यस पटक ठूलो होहल्लाभन्दा मौन विमर्श बढी देखिन्छ । राजनीतिक अस्थिरताबाट दिक्क मतदाताहरू स्थिर प्रतिनिधित्व र दिगो विकासको पक्षमा देखिएका छन् ।
उम्मेदवारहरूको व्यक्तिगत लोकप्रियता मात्र होइन, उनीहरूको नेतृत्व शैली, नीति निर्माणमा भूमिका र दीर्घकालीन दृष्टिकोणबारे मतदाता सुक्ष्म रूपमा मूल्यांकन गरिरहेका छन् । खासगरी युवा मतदातामा रोजगारी, शिक्षा र अवसर सिर्जनाको मुद्दा प्राथमिकतामा परेको छ ।
के छ इलामको अंक गणित ?
२०७९ को निर्वाचनमा एमाले र कांग्रेसबीचको मतान्तर अत्यन्त झिनो थियो । उपनिर्वाचनमा भने सुहाङले पाँच हजारभन्दा बढी मतान्तरले जित निकाले। तर त्यो बेला बनेको राजनीतिक समीकरण अहिले फेरिएको छ । माओवादी र अन्य दलले आफ्नै उम्मेदवार उठाएका कारण मत विभाजनको स्वरूप बदलिएको छ ।
समानुपातिक मततर्फको अघिल्लो परिणाम हेर्दा पनि एमाले अगाडि देखिए पनि कांग्रेस निकट प्रतिष्पर्धामा थियो । यसैले साना दल र स्वतन्त्र उम्मेदवारले कति मत काट्छन् भन्ने विषयले अन्तिम परिणाममा निर्णायक भूमिका खेल्न सक्ने देखिएको छ ।
परिणामको प्रतीक्षा
इलाम–२ को यो निर्वाचन केवल दुई उम्मेदवारको हार–जित मात्र होइन, दीर्घकालीन राजनीतिक सन्देश पनि हो । मतदाताले अनुभव र परिपक्वतालाई रोज्ने कि नयाँ पुस्ताको प्रतिनिधित्व र विरासतलाई निरन्तरता दिने भन्ने प्रश्नको उत्तर फागुन २१ गतेको मत परिणामले दिनेछ । एमालेको संगठित संरचना र कांग्रेसको परिवर्तनको एजेण्डाबीचको यो टक्करले इलामको राजनीतिक भविष्य निर्धारण गर्नेछ । नेम्वाङ परिवारको निरन्तरता कायम रहने कि तीन दशक लामो प्रयासपछि आचार्यको सपना पूरा हुने–यसको फैसला अब इलाम–२ का मतदाताको हातमा छ ।
प्रतिक्रिया दिनुहोस !