शिव प्रार्थना
हे भोलेनाथ !
हजुर जटाभित्र बगिरहने गंगाजस्तै
मेरो चेतनामा निरन्तर बगिरहनुहोस्–
प्रत्येक सासमा, प्रत्येक धड्कनमा।
हे महादेव !
हजुरले दिनुभएको भरिपूर्ण जीवन
मलाई चिन्न सिकाइदिनुहोस्,
नरबाट नारायण बन्ने यात्रामा
क्रोधलाई सहनशीलतामा
र स्वार्थलाई परमार्थमा
रूपान्तरण गर्ने मार्ग देखाइदिनुहोस्।
हे शंकर !
डमरुको डम–डम
मेरो हृदयको जप बनोस्–
नामको मौन स्मरण,
अहंकारविहीन चेतना अनि
जहाँ म पाप लुकाउन नखोजूँ,
र पुण्य निःसर्त समर्पण गर्न सकूँ।
हे नटराज ! प्रकृतिको लयसँगै
दया, माया र करुणामा नृत्य गर्दै
सबै प्राणीप्रति प्रेमभावले बाँच्न सकूँ।
हे त्रिनेत्रधारी !
मलाई संसार देख्नमात्र होइन,
आत्मा चिन्न देऊ,
‘म’ हुनुको सार बुझ्न देऊ।
हे पशुपति ! सबै जीवमा
परमात्माको स्वरूप देख्न सकूँ,
तिनको रक्षामा सहयोगी बन्न सकूँ।
हे भैरव !
ईष्र्या, द्वेष, लोभ र मोह
तथा मभित्रको ‘म’ भाव
पूर्ण रूपमा भष्म गरिदिनुहोस्।
समभाव मेरो स्वभाव बनोस्।
- वासुदेव पौडेल
प्रतिक्रिया दिनुहोस !