डोलेश्वर महादेवमा महाशिवरात्रिको तयारी
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी तीव्र पारिएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्षको महाशिवरात्रिको तयारीलाई तीव्र पारिएको जनाएको हो।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज वस्तेका अनुसार भारतको उत्तराखण्डस्थित केदारनाथ ज्योतिर्लिङ्गको शिर भागका रूपमा २०६६ सालमा घोषणा भएपछि डोलेश्वर महादेवको संरक्षण तथा विकास कार्यले तीव्रता पाएको हो। हालसम्म भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको समितिले जानकारी दिएको छ। विकास कार्यका लागि हालसम्म करिब १८ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको र विभिन्न संरचनाहरू निर्माण सम्पन्न भइसकेको जनाइएको छ।
मन्दिर परिसरमा मूल मन्दिर, गणेश मन्दिर, नन्दी (बसाहा), मनकामना मन्दिर, १०८ शिवलिङ्ग, तामाको नाग, त्रिशूल, तुलसी मठ, विष्णु मन्दिर, सूर्य मन्दिर, सरस्वती मन्दिर, बुद्ध मन्दिर लगायतका संरचना निर्माण भइसकेका छन्। साथै मूल प्रवेशद्वार, चोक तथा परिसरमा ढुंगा छाप्ने, रंगरोगन गर्ने र सेरामिक टायल्स लगाउने काम सम्पन्न भएको छ। भोजन गृह, धर्मशाला तथा अन्य पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
समितिका अध्यक्ष धर्मराज बरालले महाशिवरात्रिको दिन लाखौं श्रद्धालु भक्तजन आउने अनुमान गरिएको जानकारी दिँदै दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउन विशेष तयारी गरिएको बताए। भक्तजनको सहजताका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ३ गते आइतबार मनाइने छ। सो अवसरमा विशेष पूजाआजा, भजन कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ। समितिले महाशिवरात्रि पर्वलाई सफल बनाउन सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई सहयोगका लागि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !