रारा ताल क्षेत्रको नियमित सरसफाइ अभियान सुरु गर्दै नेपाली सेना
मुगु : रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना अन्तर्गतको हनुमान ध्वज गुल्म हुटुले अबदेखि रारा ताल क्षेत्रको नियमित सरसफाइ गर्ने भएको छ।
महाशिवरात्रि तथा २६३ औँ सेना दिवसको अवसरमा शनिबार आयोजित सरसफाइ शुभारम्भ कार्यक्रममा गुल्मले हरेक महिनामा एक पटक ताल क्षेत्र सरसफाइ गर्ने सार्वजनिक गरेको हो। शनिबार आयोजित सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, होटल व्यवसायी, घोडा व्यवसायी, निकुञ्ज कर्मचारी तथा स्थानीय सरोकारवाला सहभागी भई ताल क्षेत्रबाट करिब ४ सय केजी फोहोर संकलन गरिएको थियो।
पर्यटन सिजन सुरु भएसँगै बढ्दो फोहोर व्यवस्थापनलाई ध्यानमा राख्दै रारा ताल वरपरको १६ किलोमिटर क्षेत्र नियमित रूपमा सफा राख्ने उद्देश्यले यो अभियान सुरु गरिएको गुल्मका सेनानी खड्गबहादुर श्रेष्ठले बताए।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले रारा मुगु मात्र नभई समग्र कर्णाली प्रदेशको पर्यटन विकासका लागि महत्वपूर्ण सम्पदा भएकाले यसको स्वच्छता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
पर्यटक तथा स्थानीय गतिविधिका कारण प्लास्टिकजन्य फोहोर बढ्दै गएपछि सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ। कार्यक्रममा सहभागीहरूले फोहोर व्यवस्थापनमा अन्य सरोकारवाला निकाय र स्थानीय समुदायको समेत सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। मुगु जिल्लास्थित रारा क्षेत्रलाई स्वच्छ र आकर्षक राख्न यस प्रकारका अभियानलाई नियमित रूपमा सञ्चालन गर्न सके तालको स्वच्छता सधैँ कायम रहने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस !