बंगलादेशी सन्देश : अतिवादी होइन, अनुभवी सरकार
बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक निर्वाचन परिणाम यतिबेला विश्वभर चर्चाको विषय बनेको छ। चुनावमा पछिल्लो जेन–जी आन्दोलनको रापमा स्थापित राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसीपी)ले अनपेक्षित हार बेहोर्यो।
पुरानो तर सत्ता खिचातानीले ओझेलमा पारिएको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले संसद्को दुईतिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। यस जितसँगै करिब दुई दशकपछि बीएनपी पुनः बंगलादेशको सत्तामा फर्कने भएको छ। पार्टी अध्यक्ष तारिक रहमान देशको भावी प्रधानमन्त्री बन्दैछन्। रहमानले नयाँ सरकारको सफलताका लागि विश्वभरबाट बधाई सन्देश पाइरहेका छन्।
यो चुनावले विश्व राजनीतिक परिवेशलाई नयाँ आयाममा धकेलेको छ। खासगरी दक्षिण एसियाली राष्ट्रहरूका आपसी सम्बन्ध, सहअस्तित्व र सहकार्यका लागि नयाँ खालको दिशानिर्देश गर्नुपर्ने अवस्था ल्याएको छ। अझ, बंगलादेशको चुनावी परिणाम नेपालमा बढी अभिरुचि, चर्चा र चासोको विषय बनेको छ। किनभने नेपालमा जेन–जी आन्दोलनको सत्तापलटपछि यही ३ साताकै बीचमा आमनिर्वाचन हुन गइरहेको छ। नेपालमा हुन लागेको चुनावमा बंगलादेशी परिणामले कस्तो असर र प्रभाव पार्छ भनी जिज्ञासा र बहस् हुनु स्वाभाविक हो। बंगलादेशमा सन् २०२४ मा युवा र विद्यार्थीहरूले गरेको आन्दोलनबाट शेख हसिना सत्ताच्युत हुनुपरेको हो। उनी अहिले भारतको शरणमा छिन्।
यो चुनावबाट बंगलादेशी अधिक जनताले लोकतान्त्रिक मूल्य मान्यतामा अडिग, पुरानो र अनुभवी दललाई मनपराएको प्रष्ट भएको छ। कुनै पनि नाममा उच्छृंखल, अराजकता र अतिवादी सोचाइलाई प्रशय जनताले नदिने पनि परिणामले देखाउँछ। अराजकता फैलाउने, हिंसा र आतंकलाई मलजल गर्ने पक्षलाई जनताले कुरेर पर्ख र हेरको रणनीति अपनाउने रहेछन् भन्ने प्रष्ट भएको छ। त्यति हुँदाहुँदै पनि बंगलादेशमा त्यतिबेला भएको युवा आन्दोलन र नेपालमा गत भदौ २३ गते भएको जेन–जी आन्दोलन र भोलिपल्ट अराजक समूहले गरेको आतंककारी क्रियाकलापबीच फरक छुट्ट्याउनुपर्ने हुन्छ।
बंगलादेशको युवा आन्दोलन नेपालमा जस्तो २ दिनमा भएको थिएन। ४६ दिनसम्म भएको उक्त आन्दोलनमा करिब १४ सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको थियो । हसिना देश छाडेर भागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहोम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले चुनाव गराएको हो। हसिना सरकार पतन गराउन नेतृत्व गर्ने विद्यार्थी आन्दोलनकारीहरूले पछि आफ्नै राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसीपी) गठन गरे। बिहीबार सम्पन्न निर्वाचनमा उक्त पार्टीले जम्मा ६ सिट जितेको छ। जसमध्ये अधिकांश २० वर्षको उमेर समूहका छन्। ठूलो दल बनेको बीएनपीले त्यहाँको युवा आन्दोलनलाई सहयोग गरेको थियो। तत्कालीन प्रधानमन्त्री खालिदा जिया अध्यक्ष रहेको दलको सरकारलाई आन्दोलनबाट सत्ताच्युत गरेपछि हसिनाले २००९ देखि बंगलादेशमा एकछत्र शासन चलाइरहेकी थिइन्।
एकातिर, युवा आन्दोलनलाई बीएनपीले समर्थन गरेको थियो भने अर्कोतिर त्यहाँको आन्दोलनमा भावी रोडम्याप के हुने भन्ने जुलाई चार्टर तय भएको थियो। जहाँ एकै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने, न्यायालय र निर्वाचन आयोग पूर्ण स्वायत्त हुने, सुशासन प्रत्याभूति गराउने खालका विभिन्न एजेन्डा थिए। यो चुनावसँगै भएको जनमत संग्रहले उक्त चार्टरलाई समेत ६० प्रतिशतभन्दा बढी जनमतले अनुमोदन गरेको छ। एउटा परिवारबाट अर्को परिवारको विरासतमा बंगलादेशको राजनीतिक शक्ति सरेको छ। चुनाव जितेको शक्तिले परिवर्तनको एजेन्डालाई आत्मसात गरेको थियो। जेन–जी पुस्ताबाट खुलेको दल एनसीपीले ती एजेन्डा उठाए पनि सफलता हासिल गर्न सकेनन्।
सामाजिक सञ्जालमा अति लोकप्रिय बनेका उम्मेदवारले समेत हार व्यहोर्नुपर्यो। यसले के देखाउँछ भने परम्परागत शक्तिले परिवर्तनका एजेन्डा समाउँदा र नयाँ पुस्तालाई अघि बढाउँदा जनमत सजिलै जित्न सक्ने रहेछ। उमेर समूह विशेषभन्दा जनताको प्राथमिकतामा जनमुखी एजेन्डा र कार्यान्वयन गर्न सक्ने आधार हुने रहेछन् भन्ने यो चुनावी परिणामले प्रस्ट पारेको छ।
हसिनाले नेतृत्व गरेको लामो कार्यकालमा विकास निर्माणका काम नभएका होइनन। तर त्यसको आडमा व्यापक भ्रष्टाचार मौलाएको, दललाई प्रतिबन्ध लगाएको, एकाधिकार लागू गरेको, युवाको मनोभावनालाई लत्याएको जस्ता आवाज उठाउँदै जेन–जी सडकमा उर्लिएका थिए। बंगलादेशको चुनावमा विदेशमा रहेका नागरिक, कैदीबन्दीलाई मतदानको व्यवस्था, अनलाइन मतदानको प्रभावकारी कार्यान्वयनसमेत भयो। युवाको साथमा साथ मिलाएका कारण रहमानको दलले भारी मतसहित सफलता प्राप्त गरेको हो। नेपालमा जेन–जी आन्दोलनसँगै कैयौं युवाले दलहरूमा स्थान पाएका छन्। परम्पारगत शक्तिभित्र युवाको दबदबा छ। युवामुखी कार्यक्रम र चुनावी घोषणापत्रहरूसमेत बनिरहेका छन्।
त्यसैले अब फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव त्यस अर्थमा भिन्न र उत्सुकतापूर्ण हुनेछ। भदौ २३ र २४ गते सडकमा देखिएका युवा अनुहार एकमुष्ठ समेट्ने बेग्लै दल नभए पनि अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्। जेन–जी आन्दोलनभन्दा अघि नै स्थापित पार्टीमा आबद्ध भएकाले बंगलादेशको चुनाव र नेपालका दलहरूको अवस्था त्यो अर्थमा भिन्न छ भन्न सकिन्छ। रानीतिक मूल्य, मान्यता र प्रणाली स्थापित गर्न सकेमात्र चुनावमा विजय हासिल गर्न सकिन्छ भन्ने यो चुनावको मूल सन्देश हो। त्यस्तै, उम्मेदवार र मतदाताबीच आमनेसामने विमर्श हुनुपर्ने, मतदाताका पीरमर्का बुझ्न सक्ने, घरदैलोमा पुगी जनताको घाउमा मल्हम लगाउने उम्मेदवार रोजाइमा पर्छन् भन्ने सन्देश पनि हो।
सुशासनका लागि, प्रणाली स्थापित गर्नका लागि प्रस्ट भिजन मात्र होइन, पत्याउन सक्ने आधार जनतालाई दिन सक्नुपर्छ। जेन–जी पुस्ता हुन् या अन्य उमेर समूह, परम्परागत दल हुन् वा नयाँ, सबैले जनता जनार्दनलाई सम्मान नगर्ने हो भने आउन सक्ने मत परिणाम बंगलादेश जस्तै हो भनेर बुझ्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !