बलिउड अभिनेता राजपाल यादव जेलबाट रिहा
दिल्ली : चेक बाउन्स मुद्दामा उच्च अदालतले अन्तरिम जमानत दिएपछि बलिउड अभिनेता राजपाल यादव नयाँ दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्।
रिहाइको औपचारिकता पूरा गरेपछि उनी मंगलबार जेलबाट बाहिर निस्किएका हुन्। जेलबाट बाहिर आएपछि यादवले आफूले पाएको समर्थनको लागि धन्यवाद व्यक्त गरेका छन् । चेक बाउन्स मुद्दामा राजपाल यादवले फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
मिडियासँग कुरा गर्दै राजपाल यादवले उक्त मुद्दाकाे जानकारीको लागि उनका वकिल भास्कर उपाध्यायलाई सोध्न सकिने बताएका छन्।
साथै राजपाल यादवले आफू विगत ३० वर्षदेखि बलिउडको हिस्सा रहेको बताए। यस अवधिमा उनले उद्योग र दर्शकहरूबाट अपार समर्थन र माया पाएका छन्, जसले गर्दा उनले लगभग २५० फिल्महरूमा काम गरिसकेका छन् ।
अदालतको आदेशसँगै यादव अब आगामी मार्च १८ सम्म जेलबाहिर रहनेछन्। अदालतले राजपाल यादवलाई आगामी मार्च १८ मा हुने सुनुवाइमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !