निवर्तमान सभामुखलाई रास्वपा र राप्रपाको कडा चुनौती
झापा : फर्किदो गर्मी र नजिकिँदो प्रतिनिधिसभा निर्वाचनका कारण झापा निर्वाचन क्षेत्र नम्बर २ को माहोल तात्न थालेको छ। प्रतिनिधिसभा निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी रहँदै गर्दा झापा–२ मा परिणाम आआफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रमा चुनावी सरगर्मी बढाएको हो। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र नम्बर–५ जतिकै क्षेत्र नम्बर–२ को आसन्न चुनावी भिडन्त पनि सबैको चासोमा परेको छ।
यो क्षेत्रमा पनि चर्चित नेतासहित १८ उम्मेदवार चुनावी मैदानमा रहेकाले आसन्न प्रतिस्पर्धा रोचक हुने देखिएको छ। मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूबीच यहाँ कडा टक्कर हुने अनुमान गरिएको छ। पहिलोपटक झापा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा रहेकी पूर्वउपसभामुखसमेत रहेकी रास्वपाकी इन्दिरा राना मगर र २०७९ को निर्वाचनका उपविजेता राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत) लाई पनि मतदाताले चासोका साथ हेरेका छन्। इन्दिराको उम्मेदवारी पक्का नहुँदासम्म झापा–२ मा निशा डाँगीको नाम चर्चामा थियो।
यहाँ स्वतन्त्र र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन्। यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलोपटक झापा–२ मा आफ्नो उम्मेदवार खडा गरेको छ। यसले पनि आसन्न चुनावी प्रतिस्पर्धामा रोचकता थपेको छ। अझ विघटित प्रतिनिधिसभाका सभामुख देवबराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर नै प्रतिस्पर्धामा उत्रिएपछि यहाँको माहोल गर्माएको छ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ७१६ मतका साथ विजयी भएका घिमिरेलाई स्वतन्त्र उम्मेदवार अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालले पछ्याएका थिए। सो निर्वाचनमा २६ हजार ४५५ मत ल्याएर घिमिरेलाई पछ्याएका स्वागतलाई यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार बनाएको छ। इन्दिरा रानामगर अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसद थिइन्। चुनाव नजिकिएसँगै यस क्षेत्रका सबै उम्मेदवारलाई आफ्ना एजेन्डासहित मतदातासम्म पुग्न भ्याइनभ्याइ छ। ०७९ मा विजयी देवराज घिमिरेले यस क्षेत्रको विकास गरेका कारण मतदाताले यस पटक पनि आफैंलाई जिताउनेमा उनी विश्वस्त छन्।
अहिले मतदाताहरूलाई भेटेर कुरा सुन्ने, सुझाव संकलन गर्ने काममा आफू व्यस्त रहेको बताउँदै देवराज घिमिरेले झापा–२ मा एमालेप्रति जनताको आकर्षण अझ बढेर गएको दाबी गरे। तत्कालै ठूलोसभा गरिहाल्ने कार्यक्रम नरहेको जानकारी दिँदै घिमिरेले भने, ‘अहिलेसम्म जति मतदाताहरूलाई भेटियो, अन्तरक्रिया–छलफल गरियो एमालेमा झन विश्वास बढेर गएको पाएको छु।’
मतदाताले विकास निर्माणका काम तीव्र गतिमा होस्, सुशासन, घूसखोरी नियन्त्रणसँगै स्थानीय नदी नियन्त्रण, सुकुमबासीलाई सहज रुपमा धनीपुर्जालगायतका विषय र मागहरू उठाउने गरेको जानकारी दिँदै उम्मेदवार घिमिरेले भने, ‘यो व्यवस्थासँग रुचि नराख्ने, ‘एमालेको काम छैन’ भन्ने केहि सीमित मान्छेबाहेक एमालेले मात्र सुशासन, विकास र समृद्धि दिन सक्छ भन्ने कुरामा मतदाता ढुक्क छन्।’ निर्वाचनको मिति नजिकिएसँगै एमाले र आफ्नो पक्षमा दिन प्रतिदिन माहोल झन राम्रो बनिरहेको दाबी गर्दै उम्मेदवार घिमिरेले भने, ‘मतदाता एमालेले नै देशका लागि राम्रो काम गर्छ भन्नेमा ढुक्क छन्, म आफू विजयी हुनेमा ढुक्क छु।’
यता सामाजिक कार्यका साथै महिलामैत्री व्यवहारका कारण मतदाताको रोजाइमा आफू नै पर्ने रास्वपा उम्मेदवार इन्दिरा रानामगरको दाबी छ। आफ्नो निर्वाचन क्षेत्रका २५ वटै वडामा एक सरो मतदाता भेटघाट सकेर चुनावी प्रचार–प्रसारको काममा लागेको रानामगरले जानकारी दिइन्। झापा–२ इलामको चुरे क्षेत्रलाई समेत छुने भूगोलका हिसावले ठूलो क्षेत्र भएकाले अहिलेसम्म ६ वडामा चुनाव प्रचार प्रसारका कार्यक्रम सकेको जानकारी दिँदै उम्मेदवार रानामगरले भनिन्, ‘मतदातासँगको भेटघाट–अन्तरक्रियालगायतका कार्यक्रममा जेनजी युवाहरूलेसमेत बढो चासोका साथ समर्थन जनाइरहनुभएको छ।’
यो क्षेत्रमा विभिन्न जनजाति समुदायको बसोबास भएकाले उनीहरूको भाषा, संस्कृतिसम्बन्धी विभिन्न खालका समस्याहरू सुन्ने काम गरिरहेको जानकारी दिँदै उम्मेदवार रानामगरले भनिन्, ‘यहाँका मतदाताले यस पटक देशमा सुशासन हुनुपर्यो, भ्रष्टाचार नियन्त्रण हुनुपर्यो, सरकारी काम सहज रूपमा हुनुपर्यो र देशले सहि दिशा लिनुपर्यो भन्ने सुझावहरू पनि दिइरहनुभएको छ।’ मतदाताहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक–पूर्वाधारका विषयसमेत उठाउने गरेको जानकारी दिँदै रानामगरले भनिन्, ‘मतदाताले सडक, डुबानको समस्या, कुलो–पैनी निर्माण, नदी कटान र पुल पुलेसाका मागहरू समेत उठनु भएको छ।’
अहिले पनि कतिपय दलहरूले सामाजिक सुरक्षा भत्तालाई आफ्नै गोजीबाट दिए जसरी भ्रम छर्ने गरेको पाइएको बताउँदै उम्मेदवार रानामगरले आमाको नाममा नागरिकता, ज्येष्ठ नागरिक, बालबालिकाको क्षेत्रमा आफूले विगतमा गरेका कामहरूबारे मतदाता जानकार रहेको दावी गरिन्। बालबालिका, महिला, ज्येष्ठ नागरिकका क्षेत्रमा अझै राम्रो कानुन बनाउन आवश्यक रहेकाले मतदाताका सुझावलाई आफूले संकलन गर्ने र गर्नुपर्ने कामका विषयमा जानकारी दिने काम गरिरहेको रानामगरले बताइन्। आफ्नो क्षेत्रमा रास्वपाप्रति युवासहित सबैको आकर्षण बढिरहेको दाबी गर्दै रानामगरले भनिन्, ‘देश निर्माण सबै मिलेर गर्नुपर्छ, मेरो पक्षमा अत्यन्तै राम्रो माहोल छ, जित निकाल्नेमा ढुक्क छु।’
यस क्षेत्रमा नेपाली कांगे्रस, नेपाली कम्युनिष्ट पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ। झापा–२ मा चार महिला प्रतिस्पर्धामा रहेकाले मत तानातान हुनसक्ने समेत देखिएको छ। झापा–२ मा कांग्रेसले पुराना नेता चक्र बास्तोलाकी भाञ्जी सरिता प्रसाईंलाई मैदानमा उतारेको छ। प्रसाईंलाई उम्मेदवार बनाएको कांग्रेस पुराना कांग्रेसीको ‘सेन्टिमेन्ट’ तान्ने रणनीतिमा देखिन्छ। कांग्रेस उम्मेदवार प्रसाईले यस पटकको निर्वाचनमा निस्क्रिय बनेर बसेका पार्टीका नेता–कार्यकर्ता समेत आफ्नो पक्षमा सक्रिय भइरहेको जानकारी दिइन्।
आफ्नो क्षेत्रका २५ वटै वडाका मतदातासँग एक पटक भेट्ने, छलफल गर्ने, अन्तरक्रिया गर्ने, मतदाताको आशा, अपेक्षा र सुझाव लिने काम गरिसकेको जानकारी दिँदै उम्मेदवार प्रसाईले भनिन्, ‘अहिले पनि म स्थानीय जनजाति समुदायको कार्यक्रममा नै छु, कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले उत्साहित बनाएको छ।’
यसअघि पार्टी उपसभापति विश्वप्रकाश शर्मा पनि आफ्नो चुनावी अभियानमा सरिक भइसकेको जानकारी दिँदै प्रसाईंले भनिन्, ‘मेरो पक्षमा चुनावी माहोल सकारात्मक बनिरहेको छ, मतदाताको मप्रतिको विश्वासले जित सुनिश्चित देखेको छु।’ मतदाताले सुशासन, भ्रष्टाचारमुक्त समाजसँगै जग्गाको कर कम गर्नुपर्ने, कृषिमा सुविधा उपलब्ध गराउनुपर्ने, स्वास्थ्य–शिक्षा सुलभ बनाउनु पर्नेलगायतका सुझाव पाइरहेको जानकारी दिँदै प्रसाईंले आसन्न निर्वाचनमा आफूले जित्ने दावी गरिन्।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा झापा–४ मा कांग्रेसका प्रभावशाली नेता बास्तोलालाई पराजित गर्दै राष्ट्रिय राजनीतिक चर्चा बटुलेकी धर्मशिला चापागाईं यस पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनावी प्रतिस्पर्धामा छिन्। महिला मुक्ति आन्दोलनमा आफूलाई अग्रमोर्चामा उभ्याउँदै आएकी चापागाईं यस पटक ०६४ कै इतिहास दोहोर्याउने दाउमा छिन्।
फागुन ४ गते सुखानीस्थित शहीद पार्कमा पाँच सहिदलाई माल्यार्पणसहित शहीदको रगतमा बदनामी’ नगर्ने प्रतिबद्धता र अठोटसहित आफूले मतदाता भेटघाट कार्यक्रम अगाडि बढाएको उम्मेदवार चापागाईंले जानकारी दिइन्। अहिले पनि आफू मतदातासँग भेट्ने, अन्तरक्रिया गर्ने, छलफल गर्ने कार्यक्रमहरूमै व्यस्त रहेको बताउँदै चापागाईंले भनिन्, ‘मतदाताहरूले आफ्नो उम्मेदवार घर–घरमै आइदियोस्, आफ्ना कुरा सुनिदेओस भन्ने चाहना राख्नु स्वभाविक हो, तर १ लाख ४७ हजार बढी मतदाताको घरघरमा पुग्न समय कम छ। सकेसम्म मतदातासम्म पुगेर उहाँहरूको माग सुन्ने, सुझाव लिने र राखेका जिज्ञासाहरूको उत्तर दिने काम गरिरहेको छु।’
पार्टीको सल्लाह र सुझावमा आवश्यकताअनुसार फागुन १० पछि मात्र ठूलो सभाहरू गर्ने तयारी रहेको जानकारी दिँदै उम्मेदवार चापागाईले विगतमा संसद विघटन, सरकार परिवर्तनलगायतका विविध राजनीतिक कारणले चाहे जति काम गर्न नसकिएको कुरा मतदाता र आम नागरिकलाई बुझाउने कामसमेत गरिरहेको जानकारी दिइन्।
देशको तल्लो तहसम्म भ्रष्टाचार मौलाएको वर्तमान अवस्था रहेको बताउँदै चापागाईले भनिन्, ‘विगतमा पनि भ्रष्टाचारजन्य गतिविधिको कडा विरोध गर्दै आएको मान्छे हुँ। यसपटक पनि सुशासन, भ्रष्टाचार नियन्त्रणका एजेन्डा लिएर मतदाताको घरदैलोमा गइरहेको छु।’ पहाडबाट बसाई सर्ने र नयाँ बस्ती विकास झापाको मुख्य समस्या रहेको जानकारी दिँदै उम्मेदवार चापागाईंले यी समस्याहरू हल गर्न विकासको ‘मोडेल’ नै फेर्नुपर्ने अनि मात्र जनताले चाहेको विकास अगाडि बढ्ने भएकाले मतदातालाई यी विषय चुनावी अभियानकै क्रममा बुझाउने कामसमेत गरिरहेको उनले बताइन्।
प्रचण्ड सरकारको पालामा नागरिकता ऐन बने पनि सरकार ढलेका कारण कार्यान्वयन पक्ष अगाडि बढ्न नसकेको बताउँदै चापागाईंले झापा–२ का विभिन्न बस्तीमा रहेको नागरिकताको समस्या, सुकुमबासी समस्यालाई आफूले जोड्दार रूपमा उठाउने एजेन्डा मतदातामाझ राखिरहेको पनि उनले बताइन्। झापा–२ का मतदाताले आफ्नो राजनीतिक सक्रियता, प्रतिबद्धता र क्रियाशीलतालाई नजिकबाट बुझेको हुनाले आसन्न निर्वाचनको प्रतिष्पर्धामा थोरै मतान्तरले भए पनि आफूले जित निकाल्नेमा ढुक्क रहेको चापागाईंले दावी गरिन्।
अघिल्लो पटकको चुनावमा स्वतन्त्र उम्मेदवारी दिँदा पनि लोकप्रिय मत ल्याएका भद्रप्रसाद (स्वागत) नेपाल यसपालि पार्टीको चुनाव चिह्न लिएर लड्दा आफ्नो मत झनै थपिने दाबी गर्छन्। उनी घिमिरेसँग अघिल्लो निर्वाचनको बदला लिने दाउमा छन्। उम्मेदवार नेपालले बिहीबार आफ्नो क्षेत्रमा घरदैलो अभियान गर्दै हलो चिन्हमा मतदान गरिदिन आग्रह गरेका छन्।
अरू को–को छन् प्रतिस्पर्धाको मैदानमा ?
झापा–२ बाट १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जनमत पार्टीका रमेशकुमार राजवंशी, नेमकिपाकी चन्द्रकुमारी गारु, मंगाले नेशनल अर्गनाइजेशनका अकलबहादुर, नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामी मगर र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) श्रीप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चूडाकर्ण बेघा र जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न) बाट तिलबहादुर राईलाई चुनावी दौडमा छन्।
संग्रौलासहित तीन स्वतन्त्रमा उम्मेदवार प्रतिस्पर्धामा
पूर्वसहन्यायाधिवक्तासमेत रहेका युवराज संग्रौला पनि झापा–२ बाट चुनावी मैदानमा छन्। उनीसँगै पुण्यप्रसाद आचार्य र रमेशकुमार कार्की पनि उम्मेदवार छन्। झापा–२ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका १, २ र ३, बिर्तामोड नगरपालिकाको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन्। झापा–२ मा अहिले १३ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार यहाँका कुल मतदाता संख्या १ लाख ४७ हजार ५२२ छ। ४९ मतदानस्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
गएको स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एउटा वडामा राप्रपाले जितेको छ। यो क्षेत्रमा कांग्रेस, तत्कालीन माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए। राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए।
२०७४ मा झापा–२ प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनले जितेको थियो। बाम गठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाएकी थिइन् भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए।
झापा–२ मा यस्तो थियो ०७९ को गणित
०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार स्वागत नेपाल झिनो मतले पराजित भएका थिए। उनी अहिले राप्रपा नेपालबाट उम्मेदवार छन्। २०७९ को निर्वाचनमा एमालेका देवराज घिमिरेले २६ हजार ७ सय १६ मतसहित विजयी हुँदा स्वागतको मत २६ हजार ४ सय ५५ मत आएको थियो। तेस्रो स्थानको माओवादी केन्द्रका हरिकुमार रानाको मत १३ हजार ९ सय ३० थियो। त्यसबेला रास्वपाबाट रुद्रप्रसाद गिरी उठेका थिए। गिरीले ८ हजार ७ सय ८१ मत पाएका थिए। समानुपातिकमा एमालेले २६ हजार ४ सय ९० मत ल्याउँदा रास्वपा २२ हजार ७१७ मतसहित दोस्रो बनेको थियो। तत्कालीन अवस्थामा कांग्रेसको सहयोगमा माओवादी तेस्रो भएको थियो।
०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेकी पवित्र निरौला खरेल विजयी भएकी थिइन्। त्यसबेला कांग्रेसका उम्मेदवार उद्धव थापा पराजित भए। खरेलले ४५ हजार ८१७ मत ल्याउँदा थापाले ३२ हजार ५० ल्याए। त्यसबेला विवेकशील साझाका नवीन बास्तोलाले १,१०५ मत पाएका थिए। ०७४ को निर्वाचनमा पवित्रा तत्कालीन नेकपा गठबन्धनकी उम्मेदवार थिइन्। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा यहाँबाट कांग्रेसका सुधीरकुमार शिवाकोटीले जितेका थिए।
प्रतिक्रिया दिनुहोस !