रोगको जरा नै खराब जीवनशैली हो

रोगको जरा नै खराब जीवनशैली हो
सुन्नुहोस्

मुटु, मधुमेह, मिर्गौलाजस्ता दीर्घ रोग बढ्नुको मुख्य कारण के हो ?   

अधिकांश रोगको मुख्य कारण अस्वस्थ जीवनशैली नै हो। म त रोगको जरा भनेकै खराब जीवनशैली हो भन्ने गर्छु। हरेक व्यक्तिलाई मेरो आग्रह छ, स्वस्थ जीवनशैली बिताउनुहोस्। घामपानी, परिश्रम, आहारविहार र विचारमा ध्यान दिनुहोस्। बाहिर घाममा निस्कनुहोस्।  पर्याप्त मात्रामा पानी पिउनुहोस्। शारीरिक परिश्रम गर्नुहोस्। कम्तीमा पनि ३० मिनेट हिँडडुल गर्नुहोस्। आहारविहारमा फलफूल, ताजा र हरिया सागसब्जी खानुहोस्। शुद्ध र सकारात्मक सोंच राख्नु हो । तनावयुक्त जीवनशैलीबाट टाढै रहनुहोस्। तनाव वा रिसले शरीरका अंगलाई फाइदा गर्दैन। बरु बिगार्छ। 

नसर्ने रोगहरूको बोझ  बढिरहेको छ। व्यवस्थापन कसरी गर्न सकिएला ?  

यी दीर्घ रोगको लक्षण सुरुवाती चरणमै नदेखिन पनि सक्छ। त्यसैले मुटु, मिर्गौला, मधुमेह रोगलाई भुसभित्रको आगोजस्तो भित्रभित्रै अंग बिगार्ने रोगको रूपमा लिने गर्छु। लक्षण नदेखिएको भन्दै गाउँमा बसोबास गर्ने व्यक्तिहरू सजगता अपनाउँदैनन्। उच्च रक्तचाप र सुगरको त दबाब खाए पनि उस्तै नखाए पनि उस्तै भन्ने धारणा छ। परीक्षण र उपचारमा पनि चासो देखाउँदैनन्। त्यसैले पनि दीर्घरोग सताइरहेको छ। नेपालमा केही दीर्घरोगहरूले भुसको आगोले भित्रभित्रै अंग बिगारिरहेका छन्। क्यान्सर पनि धेरै हदसम्म अस्वस्थ जीवनशैलीकै उपज भएकाले यस विषयमा सजग रहनु जरुरी छ । 

दीर्घरोगले बिरामीको अवस्था त बिग्रिने भइरहाल्यो। राज्यको खर्च पनि बढ्दो छ नि ?  
 हो। मिर्गौला, मुटु, मधुमेह क्यान्सरलगायतका रोगले व्यक्तिको स्वास्थ्यमा असर गरिरहेको हुन्छ। उपचार खर्च व्यहोर्न घरपरिवारलाई पनि धौ धौ परिरहेको हुन्छ।  बिरामीले पाउने दुःखलाई रोक्न सकिन्छ। यी रोगको रोकथाम र उपचारमा  पनि राज्यले करोडौं खर्च गरिरहेको छ। यसका लागि राष्ट्रिय प्रोटोकल बनाई एकीकृत रूपमा काम गर्न जरुरी छ। 

सुरुवाती अवस्थामै के गर्न सकिन्छ ?  
व्यक्ति स्वयं पनि सजग हुनुपर्छ। हामीले सर्वसाधारणलाई एबीसीडीई जाँच गरौं भनिरहेका छौं। ए भनेको पिसाबमा एल्बुमिनको जाँच, बी भनेको ब्लडप्रेसर, सी भनेको कोलेस्टेरोल, डी भनेको डायबिटिज र ई भनेको मिर्गौलाका लागि क्रियटिनिन (ईजीएफआर) जाँच हो। के भनेको मिर्गौलाको लागि क्रियटिनन जाँच हो। यी पाँचको जाँच गरे रोगले छिट्टै अंग बिगार्न पाउँदैन। त्यसैले रोगले अंगलाई बिगार्नु अघि नै सजग हुनुपर्छ। जनसमुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्छ। त्यसपछि उपचारमा पहुँच पुर्‍याउनु पर्छ। सरकारले पनि गाउँघरमा रहेका स्वास्थ्यसंस्थाबाट दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्छ। घरदैलोमै सेवा प्रवाह गर्न सके दीर्घरोगको रोकथाममा सहयोग पुग्छ। 
उपचार पद्धति त  सहरमुखी छ  नि ?  
सहरमुखी उपचार पद्धति भएका कारण सबैको उपचारमा पहुँच पुग्न सकेको छैन। गाउँघरमा स्वास्थ्य संस्थामा सेवा दिने सरकारी जनशक्तिलाई तालिम दिएर दक्ष बनाउनु पर्छ। त्यसका लागि हरेक महिना अनलाइनबाट पनि तालिम दिन सकिन्छ। 

पाइलटिङको रूपमा मेची, दमक र फुङलिङ नगरपालिकामा हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिएका पनि छौं। प्यारामेडिक्स (ननफजिसियन)लाई तालिम दिएर पनि दक्ष बनाउन सकिन्छ। यसो गर्दा गाउँघरमै रक्तचाप, कोलेस्टेरोल, सुगर, मिर्गौलाको सुरुवाती अवस्थाको जाँच गर्न सकिन्छ। प्राइमरी तहमै पनि धेरै गर्न सकिन्छ। घरदैलोमै सम्भव नभएमा माथिको जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय तहका अस्पतालमा रेफर गर्न सकिन्छ। प्रा.डा. सञ्जीवकुमार शर्मासँग गरिएको कुराकानी
प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.