प्रकाशमानको बिरासत जोगाउनै पर्ने दबाबमा प्रबल

बिरासत भत्काउने दाउमा एमाले, रास्वपा र राप्रपा

प्रकाशमानको बिरासत जोगाउनै पर्ने दबाबमा प्रबल

काठमाडौं : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि जेन–जी आन्दोलनमा ध्वस्त भएको संसद् भवनसम्म रहेको काठमाडौं १ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। विगत चार निर्वाचन लगातार जित्दै आएका प्रकाशमान सिंह यसपटक प्रतिस्पर्धाबाट बाहिरिएसँगै उनको राजनीतिक बिरासत जोगाउने चुनौती कांग्रेसका नयाँ उम्मेदवार प्रबल थापा क्षेत्रीमाथि आएको छ। सिंहको अनुपस्थितिमा यो क्षेत्र बहुपक्षीय प्रतिस्पर्धाको खुला मैदान बनेको छ।

तेस्रोपटक चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रदेखि पत्रकारिता पृष्ठभूमिकी मेनुका भण्डारी र विकेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशपछि उम्मेदवार बनेकी रञ्जु दर्शना न्यौपानेसम्मका नयाँ–पुराना नेताहरूको टक्करले काठमाडौं १ को चुनावी भिडन्तलाई रोचक बनाउने पक्का देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रोपटक यही क्षेत्रबाट चुनावी मैदानमा छन्। २०७४ र २०७९ मा सिंहसँग अत्यन्तै झिनो मतान्तरले पराजित भएका मिश्र यसपटक सिंह मैदानबाहिर रहेकाले मिश्र जितका लागि ढुक्क भएका छन्।

यसअघि दुईपटक काठमाडौं १ बाट चुनाव लडिसकेका पूर्वपत्रकारसमेत रहेका मिश्र यसपटक भने बाजी मार्ने दाउमा छन्। २०७९ को निर्वाचनमा मिश्रका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह बाधक बनेका थिए। मिश्र उक्त निर्वाचनमा सिंहसँग १ सय २५ मतको अन्तरले मात्र पराजित भएका थिए।
 २०७४ सालको निर्वाचनमा मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए। त्यतिबेला उनी सिंहसँगै ८१८ मतान्तरले पराजित भएका थिए। सिंहले यो क्षेत्रमा पहिलो संविधानसभा २०६४, २०७०, २०७४ र २०७९ मा चुनाव जिते। मिश्रलाई पटक–पटक संसद् प्रवेश गर्न रोक्दै आएका कांग्रेस नेता सिंह यसपटकको निर्वाचनमा भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

 कांग्रेसले यसपटक सिंहलाई रोक्दै नयाँ अनुहारलाई अगाडि सारेको छ। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रबल थापा क्षेत्री उम्मेदवार बनेका छन्।  ०७४ र ०७९ को निर्वाचनमा मिश्र सिंहका निकटतम प्रतिस्पर्धी बने। ०७४ को चुनावमा सिंह १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार मिश्रले १० हजार ११८ मत ल्याए। फेरि तीन वर्षअघि राप्रपाबाट उम्मेदवार बनेका मिश्र १ सय २५ मतान्तरले पराजित बने। सिंह ७ हजार १ सय ४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले भने ७ हजार १८ मत ल्याए। 

सो निर्वाचनमा कांग्रेसलाई नेकपा (माओवादी केन्द्र) ले सघाएको थियो। अर्थात् उक्त निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धन थियो। अहिले माओवादी केन्द्र पार्टी एकीकरण गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछिको बदलिँदो परिस्थितिका कारण अहिले ठूला दलहरू एक्ला–एक्लै मैदानमा छन्। 

देशको बदलिँदो राजनीतिक परिवेश र चीर प्रतिद्वन्द्वी सिंहलाई कांग्रेसले वि श्राम दिएसँगै ६० वर्षीय मिश्र तेस्रोपटक जित निकाल्ने दाउमा छन्। उनले सार्वजनिक कार्यक्रमहरूमार्फत आफ्नो ‘ह्याट्रिक’ भिडन्तलाई जितमा बदल्ने दाबी गर्दै आएका छन्।

२०७४ मा विवेकशील साझाबाट उठेका उनले ८१८ मतान्तरले हार बेहोरेका थिए भने २०७९ मा राप्रपाबाट १२५ मतले मात्र पराजित भएका थिए। मिश्रले अघिल्लोपटक नपुगेको मत यसपटक सजिलै पुग्ने दाबी गर्दै मतदाता हलो चिह्नप्रति सकारात्मक देखिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि यो क्षेत्रमा उम्मेदवार फेरेको छ। रास्वपाले रञ्जु न्यौपाने (दर्शना) लाई उम्मेदवार बनाएको छ। रञ्जु दर्शनाको नाम पहिले समानुपातिक सूचीमा राखिएको थियो। पार्टीको प्रारम्भिक मतदानमा पाएको मतभन्दा सूचीमा तल राखिएपछि उम्मेदवारी फिर्ता लिएर प्रत्यक्षतर्फ मैदानमा उत्रिएकी हुन्।

बिरासत जोगाउने दबाबमा प्रबल

नेपाली कांग्रेसले ४२ वर्षीय युवा उम्मेदवार प्रबल थापा क्षेत्रीलाई अघि सारेको छ। सिंहको लामो प्रभाव रहेको क्षेत्रमा नयाँ अनुहारलाई स्थापित गर्नु उनका लागि चुनौतीपूर्ण देखिन्छ। २०४८ देखि ०५६ सम्म एमालेको प्रभाव रहेको यो क्षेत्रमा २०६४ यता कांग्रेसको वर्चस्व रह्यो। लगातार चारपटक सिंह विजयी बने। तर, पार्टीको आन्तरिक समीकरण बदलिएसँगै कांग्रेसले नयाँ उम्मेदवार पठाएको हो। दलहरूबीच गठबन्धन नभएको अवस्था र मतदाता संख्या सीमित भएकाले मतान्तर अत्यन्तै कम हुने अनुमान गरिएको छ। थापा भने आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दछन्। जेन–जी आन्दोलनका क्रममा वानेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाले पनि चुनावी बहस तातेको छ। उम्मेदवारहरूले सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै सुरक्षा र स्थायित्वको मुद्दा उठाइरहेका छन्।

एमाले, नेकपा र रास्वपाको रणनीति

नेकपा (एमाले) ले यसपटक मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ। २०७९ मा चौथो बनेको एमाले यसपटक स्थानीय उम्मेदवार अघि सारेर मत फर्काउने रणनीतिमा देखिन्छ। नेकपा (एमाले)ले पनि यो क्षेत्रमा उम्मेदवार फेरेको छ। एमालेले यसपटक काठमाडौं–१ मा मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ। ५६ वर्षीय रेग्मी काठमाडौं–१ कै बासिन्दा हुन्। ०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको थियो।

एमाले उम्मेदवार रेग्मीले अहिले आफू पार्टीले तय गरेको कार्यक्रमहरू लिएर मतदाताहरू समक्ष गइरहेको बताउँछन्। रूखमा धेरैपटक मत दिँदा पनि केही काम हुन नसकेको बताउँदै मतदाताहरूले यसपटक एमाले र आफूलाई साथ दिन पक्षमा रहेको बताए। मतदातालाई भेटिरहँदा ‘स्थानीय उम्मेदवार नपाएको धेरै भएको थियो  तपाई आउनुभयो भन्ने गरेको जानकारी दिँदै रेग्मीले भने, ‘आफू उम्मेदार बनेर जाँदा मतदाता असाध्यै उत्साहित हुनुहुन्छ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पत्रकारिता पृष्ठभूमिकी मेनुका भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी मानव बेचबिखनविरुद्ध कडा कानुन निर्माणलाई प्रमुख एजेन्डा बनाइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना न्यौपाने उम्मेदवार छिन्। यसअघि काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गरिसकेकी उनले यसपटक क्षेत्र र रणनीति दुवै बदलेकी छन्। मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उनको दाबी छ।

सुकुम्बासी समस्या : साझा एजेन्डा

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका–१०, ११, २९ र ३१ रहेको छ। मतदाताको संख्याका आधारमा काठमाडौंको १० मध्ये यो सबैभन्दा सानो निर्वाचन क्षेत्र हो। यहाँ कुल ४८ हजार ४८९ मतदाता छन्। २२ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत नयाँ बानेश्वर, पुरानो बानेश्वर, भीमसेनगोला, डिल्लीबजार, पुतलीसडक चोकबाट पूर्वतर्फको सिंहदबारतर्फ, अनामनगर, बुद्धनगर, बबरमहल, माइतीघर थापाथली पुल उत्तरपश्चिम हुँदै त्रिपरेश्वर, भोटेबहालसम्म पर्छ।

महानगरपालिका–१०, ११ र ३१ मा झन्डै २ हजार ५ सय सुकुम्बासी बसोबास गर्छन्। बागमती किनार हुँदै थापाथलीसम्म फैलिएको सुकुम्बासी बस्ती हरेक निर्वाचनमा मुख्य मुद्दा बन्दै आएको छ। यसपटक पनि सबै उम्मेदवारले सुकुम्बासी व्यवस्थापन, ढल–सडक सुधार, आवास क्षेत्र व्यवस्थापन र नदी नियन्त्रणलाई साझा मुद्दा बनाएका छन्। स्थानीयले भने चुनावी वाचा मात्र दोहोरिने तर समाधान ननिस्कने गुनासो दोहोर्‍याइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.