‘वामपन्थी गढ’ भोजपुरमा १२ उम्मेदवार मैदानमा, छैनन् महिला

पूर्व मुख्यमन्त्रीदेखि गाउँपालिकाका पूर्व अध्यक्षसम्म प्रतिष्पर्धामा

‘वामपन्थी गढ’ भोजपुरमा १२ उम्मेदवार मैदानमा, छैनन् महिला

भोजपुर : पूर्वी पहाडको राजनीतिक नक्सामा भोजपुर दशकौंदेखि विचारधाराको परीक्षणस्थल रहँदै आएको भूगोल हो । पटक–पटक वामपन्थी शक्तिलाई अनुमोदन गर्दै आएको भोजपुर फेरि एक पटक प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अवस्थामा रहेको छ । 

भोजपुरमा अहिले १० दिनपछि आउने निर्वाचनको तयारी तीब्र छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पूर्व मुख्यमन्त्रीदेखि गाउँपालिकाका पूर्व अध्यक्षसम्मका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ दल चुनावी प्रतिष्पर्धामा छन् । तर प्रतिष्पर्धा केही स्थापित र केही उदाउँदै गरेका अनुहारमै सीमित देखिन्छ । भोजपुरमा यस पटक चुनावी मैदानमा एक जना पनि महिला उम्मेदवार छैनन्, जसले समावेशिताको प्रश्नलाई फेरि एक पटक गम्भीर वहसको रुपमा उठाएको छ ।

यीमध्ये नेकपा (एमाले) का शेरधन राई (५५), नेपाली कांग्रेसका बालकृष्ण थापा (७३), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अजम्बर राई काङमाङ (५८) र श्रम संस्कृति पार्टीका ध्रुवराज राई (४३) बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । राष्ट्रिय राजनीतिमा जल्दोबल्दो शक्तिका रूपमा उदाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य प्रभाव क्षेत्र शहर बजार रहेकाले भोजपुरसहितका पहाडी भेगमा पकड केहि कमजोर नै रहेको स्थानीय बताउँछन् । 

शेरधन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री र ध्रुवराज भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । बालकृष्ण कांग्रेसका पुराना नेता हुन् भने अजम्बर केन्द्रसम्म परिचित नेता हुन् । काङमाङ प्रतिनिधिसभा चुनावमा तेस्रो पटक मैदानमा छन् । असार २०६९ तिरै एमाले त्यागेका उनी संघीय समाजवादी पार्टीमा आबद्ध भएका थिए । उक्त पार्टीबाट २०७० सालको दोस्रो संविधानसभा चुनाव र २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा उठेका उनी दुवैमा पराजित भएका थिए । २०७४ सालमा उनलाई तत्कालीन एमाले नेता राजेन्द्र राईले पराजित गरेका थिए ।

हर्क साम्पाङ नेतृत्वको नयाँ दलबाट उम्मेदवार बनेका ध्रुवराज प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक लड्दै छन् । यस्तै, रास्वपाले भोजपुरमा रमेशकुमार ओझा (५१) लाई उम्मेदवार बनाएको छ । अजम्बर र ध्रुवराज टेम्केमैयुङ गाउँपालिका–४ का बासिन्दा समेत हुन् भने रमेशकुमार र बालकृष्ण भोजपुर नगरपालिकाका स्थानीय निवासी हुन् । ओझा मूलतः काठमाडौं केन्द्रित पर्यटन व्यवसायी हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह (बालेन) निकट स्वतन्त्र उम्मेदवार थिए । बालेनको टिम चुनावको मुखमा रास्वपामा समाहित भएपछि उनी यस पार्टीबाट भोजपुरमा उम्मेदवार बनेका हुन् ।

अरु को–को छन् मैदानमा ?
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजाराम बासी नेपाल मजदुर किसान पार्टी, धुव राई श्रम संस्कृति पार्टी, शेरधन राई नेकपा (एमाले), जितेन्द्र राई राष्ट्रिय परिवर्तन पार्टी, जनक नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, रमेशप्रसाद ओझा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चन्द्रप्रसाद राई मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी, अजम्वर राई नेपाली कम्युनिष्ट पार्टी (नेकपा), बालकृष्ण थापा नेपाली कांग्रेस र देवानराज राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चुनावी मैदानमा छन् । 

यस्तै गोपालकुमार राई जनता समाजवादी पार्टी, युवराज थापा आमजनता पार्टी छन् । यद्यपि, यति धेरै नाममध्ये वास्तविक प्रतिष्पर्धा पाँच जनामै केन्द्रित हुने संकेत देखिन्छ-शेरधन राई, ध्रुव राई, अजम्वर राई, बालकृष्ण थापा र रमेशप्रसाद ओझा ।

के छ भोजपुरको विगत ?

भोजपुरको चुनावी मनोविज्ञान बुझ्न विगत फर्केर केलाउनु पर्ने हुन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०७९ सालसम्म देशमा सात वटा आम निर्वाचन भए । भोजपुरमा २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले लगातार जित हात पारेको देखिन्छ । २०४८ सालको निर्वाचनमा भोजपुर क्षेत्र नम्बर–१ बाट नरेन्द्र बस्नेत, २ बाट हेमराज राई र ३ बाट धनहर्क राई विजयी भएका थिए । २०५१ सालको निर्वाचनमा क्षेत्र नम्बर–१ बाट हेमराज राई र २ बाट धनहर्क राईले जित दोहोर्‍याए । २०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट घनेन्द्र बस्नेत र २ बाट शेरधन राईले जिते ।


२०६४ मा शान्ति प्रक्रियापछि माओवादीले दुवै क्षेत्रमा जित हात पार्‍यो । संघीयता लागू भएपछि एक मात्र निर्वाचन क्षेत्र कायम भयो र २०७४ तथा २०७९ दुवैमा माओवादी केन्द्रका सुदन किराती विजयी भए । यसरी हेर्दा भोजपुरमा वाम धार नै निर्णायक शक्ति रहँदै आएको देखिन्छ । तर त्यो धार कहिले एमाले, कहिले माओवादी, कहिले गठबन्धनमार्फत सरेको देखिन्छ । यस पटक भने गठबन्धनविहीन प्रतिष्पर्धा भएकाले मत विभाजन निर्णायक बन्ने देखिएको छ ।

एमालेका शेरधन राई यो चुनावका सबैभन्दा ‘हेभीवेट’ उम्मेदवार मानिन्छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, पूर्वमन्त्री र पार्टीका केन्द्रीय सचिव भइसकेका उनी छैटौं पटक चुनावी मैदानमा छन् । अनुभव, संगठन र संसाधनका हिसाबले उनी बलिया देखिन्छन् । तर चुनौती पनि कम छैन । 

एमाले विभाजनपछिको असन्तुष्टि, पहिचान राजनीतिसँग जोडिएका विवाद र स्थानीय असन्तोषले उनलाई सहज बाटो दिएको छैन । अधुरा पुल, सडक र पूर्वाधारका कामलाई उनले आफ्नो प्रमुख एजेण्डा बनाएका छन्–चुहार पुल, सुनबालुवा पुल र रानीटार मोटरेबल पुल जस्ता परियोजनालाई पूरा गर्ने वाचा गर्दैछन् । तर मतदाताले प्रश्न गरिरहेका छन्–विगतमा अवसर पाउँदा किन पूरा भएनन् ?

एमाले उम्मेदवार शेरधन राई चुनावको मिति नजिक आइसकेकाले अहिले आफू मतदाता भेटघाटमै व्यस्त रहेको बताउँछन् । समय, खर्चलगायतका दृष्टिकोणले ठूला खालका कार्यक्रमहरु कुनै तय नगरीको जानकारी दिँदै उम्मेदवार राईले अहिले एक वडाका पाँच ठाउँसम्म साना खालका कार्यक्रमहरु गर्दै मतदाता भेट्ने काम गरिरहेको बताउँछन् । 

उनले भने, ‘मतदाताले पनि भरसक आफ्नो उम्मेदवार घरमै आइदिउन्, कुरा सुनिदिउन भन्ने चाहना राख्ने भएकाले टोलस्तरमै कार्यक्रमहरु गरेर मतदाताका सुझाव, अपेक्षा सुन्ने र आफ्ना कुराहरु सुनाउने काम भइरहेको छ ।’ उनले अहिलेसम्म १२५ बढी  घेटघाटका कार्यक्रमहरु गरिसकेको जानकारी दिंदै एक दिनमा पाँच वडासम्म घुमिरहेको बताए ।

मुख्यमन्त्री, मन्त्री र पार्टी सचिवको जिम्मेवारीमा रहँदा आफूले भोजपुरको समग्र विकासमा केहि न केहि योगदान गरेको दावी गर्दै उम्मेदवार राईले आफ्नो उम्मेदवारीलाई मतदाताले पनि आशा र अपेक्षाको नजरले हेरिरहेको बताए। भोजपुरमा अहिलेसम्म ठोस रुपमा काम गर्ने जनप्रतिनिधि आफू मात्र भएको दावी गर्दै राईले भने, ‘अरु पनि धेरै उम्मेदवार हुनुहुन्छ, नयाँ पनि हुनुहुन्छ । तर, मतदाताले अहिले सबैको तुलना गरिरहनु भएको छ । हेभिवेट र पहुँच भएकै उम्मेदवारलाई जिताउँदा जिल्लामा केहि न केहि विकासका काम अगाडि बढ्छन् भन्ने मतदाताको सोंचाइ रहेको पाएको छु ।’

कांग्रेस पुरानो पार्टी भए पनि भदौं २३–२४ गतेको आन्दोलनपछि प्रष्ट रुपमा बोल्न नसकेको अवस्थामा चुनावमा रहेको बताउँदै एमाले संविधान, देशको सार्वभौमसत्ता, नागरिकको सुरक्षा र विकास निर्माणको विषयमा स्पष्ट रहेकाले आफ्नो पार्टी र आफ्नो पक्षमा मतदाता उत्साहित रहेको दावी गरे । उनले भने, ‘भोजपुरमा एमाले निर्णायक शक्ति हो, मेरो जित सुनिश्चित जस्तै हो ।’

कांग्रेसका बालकृष्ण थापा पुराना नेता हुन् । भोजपुरमा कांग्रेसले संघीय संसदमा जितको इतिहास बनाउन नसकेको सन्दर्भमा उनको उम्मेदवारी रणनीतिक पनि छ । यस पटक कांग्रेस एकजुट देखिन्छ । यदि एमालेको मत विभाजित भयो र वाम मत नयाँ दलतर्फ सर्‍यो भने कांग्रेसले लाभ लिन सक्ने पनि देखिएको छ । थापाले भ्रष्टाचार र कुशासनविरुद्धको एजेण्डा अघि सारेका छन्, महँगी र वर्गीय खाडल बढेको तर्क गर्दै आर्थिक मुद्दालाई केन्द्रमा राखेका छन् । तर भोजपुरको गहिरो वाम आधार चिर्न कांग्रेसलाई त्यति सजिलो छैन ।

कांग्रेस उम्मेदार बालकृष्ण थापाले भोजपुर ठूलो क्षेत्र र दुर्गम समेत भएका कारण अहिले एक दिनमा चार वडासम्मका मतदाताहरुलाई निश्चित स्थानहरुमा भेटेर छलफल गर्ने मतदाताका कुरा सुन्ने र आफ्नोबारेमा मतदातालाई बुझाउने काम गरिरहेको बताए । आफू १५ वर्षको उमेरदेखि अहिलेसम्म राजनीतिमा सक्रिय रहेको बताउँदै महाधिवेशनपछि बदलिएको कांग्रेसबाट उम्मेदवार बनेको बताए । 

उनले  पञ्चायतकालमा जेल बसेकोदेखि भर्खरको जेनजी आन्दोलनपछिको अवस्थामा पनि सक्रिय रहेको व्यक्ति भएको बताउँदै आफू विचार र विकासको राजनीति हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । उम्मेदवार थापाले आफू सामाजिक काममा सक्रिय भएको हुँदा जिल्लाका सबैले चिन्ने बताउँदै उनले संकीर्ण राजनीतिले आफूलाई कुनै असर नगर्ने दावी गरे । 

आफू सँधै आदर्शको राजनीति गर्नुपर्छ भन्ने मान्यतामा हिंड्ने भएका कारण संकीर्ण प्रचारको पछि आफू नलाग्ने बताए । कम खर्चालु राज्य व्यवस्था आजको आवश्यकता भएको बताउँदै संविधानमा आवश्यक परिमार्जन, पुरानै स्वरुपका स्थानीय तह भए मात्र नागरिकको आवश्यकता सम्बोधन हुन सक्ने बताउँदै उम्मेदवार थापाले स्थानीय तहको असन्तुलित आम्दानीका कारण नागरिकले प्रभावकारी सेवा–सुविधा पाउन सक्ने अवस्था नभएको बताए । उम्मेदवार थापाले आफूले अहिले यस्तै आम नागरिकका मुद्दाहरु नै बोकिरहेको उनी बताउँछन् ।

चुनावको सबैभन्दा रोचक पक्ष ध्रुव राईको उदय पनि हो । पूर्व एमाले नेता, टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष र जुझारु छविका ध्रुव अहिले श्रम संस्कृति पार्टीबाट उम्मेदवार छन् । एमाले नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी त्यागेका उनी अहिले आफ्नै पूर्व नेता शेरधन र अजम्बरसँग भिडिरहेका छन् । उनलाई पूर्व माओवादी नेता सुदन किरातीको समर्थन छ, जसले चुनावी गणितलाई थप जटिल बनाएको छ । यदि ध्रुवले एमालेको परम्परागत मत काट्न सके भने परिणाम उल्टिन सक्छ ।

उम्मेदवार ध्रुव राई नयाँ पार्टी भएका कारण पनि आफ्नो जिल्लामा पार्टी र आफ्नो पक्षमा माहोल राम्रो भएको दावी गर्छन् । अहिले मतदाताहरुसँग फोनमा कुराकानी गर्ने, स्थानीय हाट बजारमा सानातिना कार्यक्रमहरु गरी आफ्ना कुरा राख्ने र मतदाताको प्रक्रिया लिने काम गरिरहेको जानकारी दिंदै उम्मेदवार राईले भने, ‘सबै मतदाताले पुरानालाई होइन, यो पटक नयाँ पनि हामीलाई नै मतदान गर्छौ भनिरहनु भएको छ ।’

भोजपुरको घोडेटारमा पार्टी अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा पर्सी (सोमबार) कार्यक्रम रहेको जानकारी दिंदै उम्मेदवार राईले अहिले आफ्नो पार्टी र आफ्नो उम्मेदवारीको पक्षमा मतदाता आकिर्षत भइरहेकाले जित पक्का रहेको दावी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेशप्रसाद ओझालाई अघि सारेको छ ।

शहरी लहरका रूपमा उदाएको यो दल पहाडी जिल्लामा कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि छ । २०७९ मा समानुपातिकतर्फ भोजपुरमा रास्वपाले सीमित मत पाएको थियो । तर वैकल्पिक राजनीति खोज्ने युवा मतदातालाई आकर्षित गर्न सकेमा उसले निर्णायक मत काट्न सक्छ । ओझाले विकृति–विसंगतिविरुद्ध र रोजगारी सिर्जनाको मुद्दा उठाएका छन्, तामझामरहित प्रचारमा जोड दिएका छन्।

अजम्बर राई काङमाङ पनि कम अनुभवी छैनन् । पूर्व एमाले नेता, संघीय समाजवादी आन्दोलनसँग जोडिएका, पहिचानवादी धारका प्रखर वक्ता । अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ब्यानरमा मैदानमा छन् । एकीकृत समाजवादी पृष्ठभूमिका मतदाताको समर्थन उनलाई मिल्ने अपेक्षा छ । यदि वाम मत चार भागमा विभाजित भयो भने सानो मतान्तरले नतिजा निर्धारण हुन सक्छ ।

नेकपा उम्मेदवार अजम्बर काङमाङले कठिन भूगोलमा मोटरसाइकलमा चढेर जोखिम मोल्दै भए पनि मतदाताहरुसँग भेट्ने, छलफल गर्ने, उनीहरुका कुरा सुन्ने र आवश्यकताका विषयहरु सूचीकृत गर्ने काममा लागिरहेको बताए । उनले भने, ‘नौं पालिकाका ८१ वटा वडाका सबै घरमा पुग्न नसकेपछि सबैलाई पायक पर्ने ठाउँमा मतदाताहरुसँग भेटेर आफ्ना कुरा राख्ने र उहाँहरुका कुरा सुन्ने काम भइरहेको छ ।’

विगतमा उम्मेदवारहरुले चुनाव जित्ने नाममा परिभाविषत जिम्मेवारी र क्षेत्र नबुझी मतदातालाई आश्वासनको पोको बाँड्ने गरेको भए पनि आफूले त्यसरी आश्वासन नबाँडीरहेको काङमाङले बताए । मतदाताहरुसँग भेट्दै गर्दा आफूले विकास निर्माणका मुद्दासँगै संविधान कार्यान्वयनका विषयलाई उठाउने कुरा मतदातालाई बुझाइरहेको बताए ।

भोजपुर बालागुरु षडानन्द, योगमायालगायत धेरै सचेत र क्रान्तिकारी मानिस जन्मिएको थलो भएकाले यस पटकको निर्वाचनमा भावनात्मक ‘ब्ल्याकमेलिङ’ नचल्ने उम्मेदवार काङमाङले बताए । उनले भने, ‘निष्ठा, आस्था र विश्वास’ का कारण यस पटकको चुनावमा मेरो जित सुनिश्चित छ ।’

कति छन् मतदाता ?
भोजपुरमा यस पटक एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष मतदाताको संख्यामा केही वृद्धि भएको देखिएको छ । अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा यस पटक दुई हजार तीन सय ८७ नयाँ मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयका अनुसार कुल मतदातामध्ये पुरुषको संख्या ६५ हजार सात सय ८८ र महिलाको संख्या ५९ हजार ९७७ रहेको छ । त्यस्तै, एक जना अन्य मतदाता पनि सूचीकृत छन् ।

भोजपुरका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता षडानन्द नगरपालिकामा रहेका छन् । त्यहाँ २१ हजार आठ सय ९६ मतदाता छन् भने भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ मतदाता छन् । अन्य गाउँपालिकाहरूमा अरुणमा १२ हजार छ सय ४३, आमचोकमा १२ हजार चार सय ४४, पौवादुङमामा १० हजार छ सय ६३, टेम्केमैयुङमा १३ हजार पाँच सय ५७, रामप्रसाद राईमा ११ हजार नौ सय, साल्पासिलिछोमा आठ हजार सात सय २४ र हतुवागढीमा १३ हजार सात सय ५० मतदाता रहेका छन् ।

भोजपुर ८७ मतदानस्थल र १५५ मतदान केन्द्र तोकिएका छन् । संख्याको रूपमा ठूलो मतान्तर नदेखिए पनि सानो ‘स्विङ’ ले परिणाम उल्टाउन सक्छ । २०७९ को समानुपातिक मत परिणामले देखाएको अन्तर धेरै फराकिलो थिएन; एमाले अगाडि थियो, तर कांग्रेस, माओवादी र अन्य दलहरूको संयुक्त मत उल्लेख्य थियो ।

अब गठबन्धन छैन, त्यसैले प्रत्यक्ष मतको अंकगणित नयाँ रूपमा खुल्ने छ । यो चुनावमा अर्को उल्लेखनीय तथ्य-महिला उम्मेदवार शून्य हुनु पनि रहेको छ । दलहरूले समावेशिताको भाषण गरे पनि प्रत्यक्षतर्फ महिलालाई टिकट नदिएको प्रश्न उठेको छ । यो केवल प्रतिनिधित्वको मुद्दा होइन, राजनीतिक संस्कृतिको ऐना पनि हो ।

अन्ततः भोजपुरको चुनाव तीन तहमा लडिँदैछ-पुराना विरुद्ध नयाँ, एकीकृत वाम विरुद्ध विभाजित वाम, र परम्परागत आधार विरुद्ध वैकल्पिक आकांक्षा । यदि एमालेले आफ्नो आधार जोगायो भने शेरधन पुनरागमन गर्न सक्छन् । यदि वाम मत व्यापक रूपमा विभाजित भयो भने कांग्रेसले इतिहास रच्न सक्छ । यदि असन्तोष निर्णायक भयो भने ध्रुव जस्ता नयाँ अनुहार उदाउन सक्छन् ।

यदि वैकल्पिक राजनीति खोज्ने लहर अपेक्षाभन्दा बलियो भयो भने रास्वपा जस्ता दलले आश्चर्यजनक उपस्थिति जनाउन सक्छन्। भोजपुरको नतिजाले केवल एउटा सिटको फैसला गर्ने छैन; यसले वामपन्थी गढको भविष्य, वैकल्पिक शक्तिको सम्भावना र पहाडी राजनीतिक मनोविज्ञानको दिशा संकेत गर्नेछ । मतदाताको विवेक, दलहरूको संगठन र अन्तिम समयको समीकरण-यी तीन तत्वले तय गर्नेछ, भोजपुर पुरानै किल्ला रहन्छ कि नयाँ प्रयोगशाला बन्छ ।

स्थानीय तहमा कहाँ कसको प्रभुत्व ?
स्थानीय तहको निर्वाचन परिणाम हेर्दा भोजपुर सत्ता बाँडफाँट मुख्यतः परम्परागत दलहरूमै सीमित छ । गत स्थानीय तहको निर्वाचन परिणामअनुसार नेकपा एमालेले चार स्थानीय तहमा विजय हासिल गर्दै अग्रस्थान ओगटेको छ । त्यस्तै, नेपाली कांग्रेसले तीन स्थानीय तहमा नेतृत्व कायम राखेको छ भने तत्कालीन नेकपा (माओवादी केन्द्र) ले दुई स्थानीय तहमा जित दर्ता गरेको छ ।

कांग्रेसले भोजपुर नगरपालिका, अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ । यी पालिकामा कांग्रेसले परम्परागत मत आधार र संगठनात्मक संरचनाको बल देखाएको मानिन्छ ।

नेकपा एमालेले षडानन्द नगरपालिका, पौवादुङ्मा गाउँपालिका, साल्पा सिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिका जित्दै जिल्लामा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व लिएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा विजय हासिल गरेको छ । संख्या कम भए पनि यी जितहरूले ग्रामीण क्षेत्रमा माओवादीको प्रभाव अझै पूर्ण रूपमा समाप्त भइसकेको छैन ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.