सद्भाव र सहिष्णुता नै समाधान
चुनावी महाअभियानमा मुलुक होमिरहँदा रौतहटमा हिंसाको घट्नाले सबैको ध्यान तानेको छ। नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। विविधताबीचको एकता नै यसको विशेषता पनि। धार्मिक र सांस्कृतिक रूपमा नेपाल जत्तिको सहिष्णु मुलुक पनि कमै छन्। तर, रौतहटको पछिल्लो घटनाले नेपाली समाजको सहिष्णुताको जग हल्लाउन खोजेको छ।
एक समुदायको उपासना चलिरहँदा अर्काे समुदायको उत्सव हुँदा सिर्जना भयो, द्वन्द्व। त्यसैले जिल्ला सदरमुकाम गौरलाई अशान्त बनायो। जन्तीको बाजा र मस्जिदको नमाज आखिर दुवै आफ्नै सिलसिलामा भएका थिए। थिएन कुनै नियोजित दुर्भावना। दुर्याेग सञ्चारले खाडल पैदा भयो। त्यसले आपसमा वैरता सिर्जना गर्यो। समयको सामान्य तालमेल नमिलेको विषयबाट द्वन्द्व उठान भएर तोडफोड, आगजनी हुनु दुःखद हो। प्रहरीमात्रै नभई सेना परिचालन गर्नुपर्ने र कर्फ्यु आदेश लगाउनुपर्ने अवस्थाको सिर्जना भयावह हो।
दुईथरी धार्मिक समुदायको द्वन्द्व जटिल विषय हो। संसारमा यस्तै द्वन्द्वले धेरै समाजलाई सखाप पारेका छन्। तसर्थ, दुवैथरीले शान्तिको बाटो अपनाउनुको विकल्प छैन। सहअस्तिस्वलाई आत्मसात् गरेरै समाधान निस्कन सक्छ। हिंसात्मक गतिविधि आफैंमा समस्या हो, समाधान होइन। प्रशासनले सुरक्षाकर्मीको बुट र बन्दुकबाट क्षणिक शान्ति दिन सक्छ तर दिगो हुँदैन। तसर्थ, दिगो शान्तिका लागि चाहिन्छ सहिष्णुता र सहअस्तित्वको भावना। दुवै समुदायले हृदयदेखि एकअर्काका रीतिरिवाज र धर्मसंस्कृतिको सम्मान गर्नुपर्छ। अन्जानमा भएका कमजोरीमा क्षमाशील हुनुपर्छ। जुनसुकै बहानामा भएका गल्ती, कमजोरीलाई उप्काएर फेरि द्वन्द्व बढाउनुहुँदैन। द्वन्द्वको झिल्को जति सानो भए पनि त्यसले समाजमा विनाशकारी डढेलो फैलाउन सक्छ। दुवैथरीलाई अन्त्यमा नोक्सानी र हानिमात्रै दिन्छ भन्ने भुल्नु हुँदैन।
रौतहटमा हाललाई दुई समुदायबीच अविश्वासको खाडल परेको देखिन्छ। त्यसलाई पुर्न नागरिक समाज, राजनीतिक दलको पनि भूमिका अहम् हुन्छ। धर्म भनेकै शान्ति र अमनचयनका लागि हो भन्ने सन्देश धर्मगुरुहरूले दिनुपर्छ। शान्ति नभए धर्मको अस्तित्वमा पनि जोखिममा पर्छ। तसर्थ, दुवै समुदायले सबैभन्दा पहिला शान्ति र अमनचयनका लागि अग्रसर हुन जरुरी छ। त्यसपछि अविश्वासको खाडल पुर्नुपर्छ। द्वन्द्व समाधानको स्थायी बाटो संवाद नै हो। धर्मगुरुहरूले साझा मञ्चबाट शान्तिको अपिल गरून् र सामाजिक अगुवाहरूले पनि शान्तिका लागि पहल गरून्। सबै धर्मको केन्द्रमा मानवता हुन्छ। त्यसैले पनि धर्मको त्यही मर्मलाई सबैले आत्मसात् गर्न जरुरी छ।
आज केवल रौतहट घटनालाई समाधान गरेरमात्रै पुग्दैन। भविष्यमा पनि यस्ता दंगा नदोहोरिऊन् भन्नका लागि देशैभरि शान्तिको सन्देश फैलाउनुपर्छ। धार्मिक सहिष्णुता नै नेपालीको विशेषता हो भन्ने बुझ्नुपर्छ, बुझाउनुपर्छ। हामी धर्म वा समुदायका नाममा विभक्त हुँदा हाम्रो राष्ट्रियता कमजोर हुन्छ र विदेशीले समेत हेप्ने मौका पाउँछन्। सहिष्णुता भनेको एकले अर्काेलाई सहने भनेको होइन। यसको अर्थ फराकिलो छाती बनाएर अरूको अस्तित्वलाई स्वीकार्ने र सम्मान गर्ने भनेको हो। केन्द्रमा मानवता राखियो भने जुनसुकै द्वन्द्व पनि समाधान हुन असम्भव हुँदैन।
झन् यतिबेला मुलुकमा आमचुनावको महाउत्सव चलिरहेको छ। यो बेला सामाजिक सद्भाव र हिंसा भडकने कुनै काम गर्नु हुँदैन। दलका नेता, उम्मेदवार, नागरिक समाजका प्रतिनिधि सबैले रौतहटमा मात्र होइन, हिंसा भडकने सम्भाव्यता भएका सबै स्थानमा सहिष्णुता बढाउनका लागि भूमिका खेल्नुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !