साम्बाबाट सिक्नुपर्ने पाठ

साम्बाबाट सिक्नुपर्ने पाठ

नेपाली महिला फुटबलको चम्किलो नाम हो, सावित्री भण्डारी अर्थात् साम्बा। यिनले खेलकुदकै माध्यमबाट नेपाली किशोरी र महिलाको मनोबलमात्रै उँचो पारेकी छैनन्, राष्ट्रकै पहिचान गर्बिलो बनाएकी छन्। सम्भवतः महिला फुटबलमा उनले जति नाम अरूले कमाएको छैन। यिनै खेलाडीले नेपाली राष्ट्रिय टोलीको कप्तानी पनि सम्हालिन् र राष्ट्रको छवि चम्काइन्। आज तिनै खेलाडी उपचारका लागि आर्थिक सहयोगको याचना गर्न बाध्य हुनु चाहिँ राष्ट्रकै लागि ठूलो बिडम्वना हो। 

हो, उनले अपिल गरेको ८० हजार अमेरिकी डलर २४ घण्टाकै सेरोफेरोमा समर्थक र शुभेच्छुकले जुटाइ दिए। तर, यस्तो किन हुन गयो भन्ने चाहिँ पेचिलो प्रश्न हो। राष्ट्रिय कप्तानले नै उपचारसमेत गर्न सक्दैन भने अरू खेलाडीको हालत के होला यसैबाट प्रस्ट हुन्छ। साम्बाले सामाजिक सञ्जाल गुहार्दा एन्फा र नेपालको खेल प्रशासनले लज्जा महसुस गर्नुपर्ने हो तर उल्टै साम्बा तिनीहरूबाट तिरस्कृत जस्तो हुनुपर्‍यो। यस्तो परिस्थितिमा नागरिक तह र निजी क्षेत्रबाट मुठी खोलेर जुन सहयोग जुट्यो त्यो राज्यका लागि एउटा प्रहार पनि हो। 

अस्ट्रेलियामा खेल्दा घुँडामा चोट लागेपछि उनले कतारमा उपचार गरेकी थिइन्। चोट बल्झियो र फेरि शल्यक्रिया गर्नुपर्ने भयो। अनि, चाहियो अर्थ। जीवनको उर्वर समय नेपाली फुटबललाई अर्पण गरेकी भण्डारीलाई अर्को चोट फेरि लाग्यो—खर्च अभावको। यो खासमा राज्यले दिएको चोट हो। अनि, अखिल नेपाल फुटबल संघ (एन्फा)को गैरजिम्मेवारीपनको। हाम्रा खेलाडीलाई सरकार गहना पनि भन्छ। तर, उनीहरूको भरपर्दो आर्थिक सुरक्षाका लागि माखो मार्दैन भन्ने उदाहरण साम्बाको चोट हो। साम्बाले अस्ट्रेलियाबाट खेल्दा पनि नाम त नेपालकै रहेको थियो र शिर उँचो नेपालीकै भएको थियो।

तसर्थ, पनि उनीसँग नेपाल राज्यको दायित्व छ, त्यसमाथि लामो समय नेपाली महिला फुटबलमा योगदान गरेकी नागरिकमाथि राज्यको कर्तव्य नहुने कुरै भएन। तसर्थ, पनि यो केवल एकजना खेलाडीको घुँडाको घाउचोटमात्रै होइन, हाम्रो खेल प्रशासनको पक्षघात हो। किनभने, प्रशासन आफैं हल न चलको अवस्थामा छ। किंकर्तव्यविमूढ छ। चर्चित, लोकप्रिय र प्रतिभावान् खेलाडीले नै उपचारका लागि हात फैलानुपर्ने दिन आउँदा अब नयाँ पुस्ताले खेलकुदमा कसरी भविष्य देख्न सक्छ।

यो गम्भीर प्रश्न खडा भएको छ। हामीकहाँ खेलकुदमा यसै त बजेट न्यून छ र त्यो पनि खेलाडीका निम्ति भन्दा धेरै अरूका लागि छ। खासमा राज्य तहबाटै खेलाडीको सुरक्षाको प्रबन्ध मिलाइनुपर्छ। उनीहरूको उपचारका लागि कल्याणकारी कोष व्यवस्था हुनुपर्छ। खेलाडीहरूको पूर्ण बिमा र उपचारको सुनिश्चितता हुनैपर्छ। राष्ट्रका लागि खेल्नेले आफ्नो उपचारको चिन्ता आफैं गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। साम्बाको यो घटनाले नीतिगत सुधारका लागि ठूलो पाठ सिकाएको छ। साम्बाको घटनाबाट ब्युँझिएर राज्यले भविष्यमा यस्ता पीडा नदोहोरिने प्रबन्ध गरोस्। हामी साम्बाको सफल शल्यक्रिया र सुस्वास्थ्यको कामना गर्छौं। उनी फेरि मैदान फर्किएर उत्कृष्ट कौशल प्रदर्शन गरून्। राष्ट्रको पहिचानलाई अझै चम्किलो पारून्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.