कर्णालीको १२ सिटका लागि नौं पूर्वमन्त्रीसहित १३८ उम्मेदवार मैदानमा

कुन जिल्लामा कसको पल्ला भारी ?

कर्णालीको १२ सिटका लागि नौं पूर्वमन्त्रीसहित १३८ उम्मेदवार मैदानमा

कर्णाली : प्रतिनिधिसभा निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी रहँदै गर्दा अरु बेला राज्य र सरकारको नजरमा खासै नपर्ने कर्णाली प्रदेश पनि चुनावी माहोलले तातेको छ । कर्णालीका उम्मेदवार मात्र नभई अन्य जिल्लाबाट चुनावी मैदानमा रहेका शीर्ष दलका शीर्ष नेताहरुले समेत कर्णाली प्रदेशका विभिन्न जिल्लामा ठूलो सभा–सम्मेलन गर्दै कर्णालीका मुद्दा फेरि एक पटक उठाएका मात्र छैनन्, चुनावी सरगर्मी समेत बढाई दिएका छन् । 

चुनावअघि नै प्रधानमन्त्री तोकेका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीहरुले कर्णालीका विभिन्न जिल्लामा आफ्ना उम्मेदवारको चुनावी माहोल बढाउन ठूला सभा गर्दै फेरि एक पटक कर्णाली प्रदेशको अभाव, गरिवी, अशिक्षा, स्वास्थ्य, सडकको समस्यासँगै यहाँका स्याऊ जडिबुटी, पर्यटनलगायतका सम्भावनाहरुलाई राष्ट्रिय राजनीतिको मुद्दा बनाउने वचन प्रतिवद्धता जनाएका छन्। 

चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेले कर्णालीका सभालाई सम्बोधन गर्दै आफ्नो पक्षमा चुनावी माहोल बनाउने प्रयास गरेका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कर्णालीबाट नौं पूर्वमन्त्रीसहित १३८ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटनमन्त्री खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्रबहादुर शाही मुगुबाट र अम्मरबहादुर थापा दैलेख क्षेत्र नम्बर–१ बाट उम्मेदवार छन् । यी सबै पूर्वमन्त्रीहरु तत्कालीन माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।

कर्णालीका १२ वटा निवार्चान क्षेत्रमा १३  जनाले बागी उम्मेदवारी दिएका छन् । कालिकोटबाट नेपाली कांग्रेसले हर्षबहादुर बमलाई टिकट दिएको थियो । डोल्पामा ओमेन्द केसीले पनि बागी उम्मेदवारी दिएका छन् । यस्तै कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र शाही चुनावी मैदानमा छन् । यस्तै गरी दैलेख क्षेत्र–१ बाट लोकबहादुर बोगटीले स्वतन्त्रत उम्मेदवार दिएका छन् ।
 

जुम्बाट भक्तबहादुर रावत, सल्यानबाट २ जनाले स्वतन्त्र उम्मेदारी दिएका हुन् । ध्रुवराज वली र जुद्वबहादुर सिहंले स्वतन्त्र उम्मेदार दर्ता गरेका छन् । हुम्लाबाट सात,  मुगुबाट सात, कालिकोटबाट १०, दैलेख १०, जुम्ला १०,  सुर्खेत ३०, सल्यानबाट १४, जाजरकोटबाट ११,  डोल्पाबाट ९, रूकुम पश्चिमबाट १२ जना गरी १३४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

कर्णालीमा १३ जना ‘जेनजी’ उम्मेदवार
जेनजी विद्रोहपछि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १३ जना जेनजी समूहका उम्मेदवार छन् । १३८ उम्मेदवारमध्ये १३ जना जेनजी अर्थात् २८ वर्षमुनिका छन् । यिनमा पुरुष ११ र महिला दुई जना छन् ।
 

जेनजीका सबै १३ जना साना दल र स्वतन्त्रबाट उम्मेदवार छन् । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले जेनजीमा पर्ने एक जनालाई पनि उम्मेदवार बनाएका छैनन् । प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले जेनजीलाई उम्मेदवार बनाएका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले डोल्पाबाट २६ वर्षीय विकास बुढालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मुगुमा २५ वर्षीय भुवन टमटा र हुम्लामा २६ वर्षीय टासी ल्हान्जोमलाई उठाएको छ । यस्तै नेपाल जनता पार्टीले कालीकोटमा २६ वर्षीय रनिलविक्रम शाही, मंगोल नेशनल अर्गनाइजेसनले जाजरकोटमा २५ वर्षीय कमान बुढा मगर, गतिशील लोकतान्त्रिक पार्टीले सुर्खेत–२ मा २८ वर्षीय पवन थापा मगरलाई र सुर्खेत–२ मै नेपाल जनसेवा पार्टीले २६ वर्षीय हृदयन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।

आम जनता पार्टी (एकल चुनाव चिह्न) ले पनि दैलेख–२ मै २७ वर्षीया तीर्थाकुमारी बंशीमगर विकलाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा २८ वर्षीय रवि हमाल ठकुरीलाई मैदानमा उतारेको छ । ठकुरी जेनजी आन्दोलनमा अग्रस्थानमा रहेर सडकमा उत्रिएका थिए । यस्तै कालिकोटमा २७ वर्षीय अस्मिनकुमार विष्ट र २६ वर्षीय मानबहादुर तिरुवा, दैलेख–२ बाट २६ वर्षीय हिमबहादुर शाही र सुर्खेत–२ बाट २७ वर्षीय कृष्ण खत्री गरी ४ जेनजीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अधिकांश ‘सदावहार’
कर्णाली प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न दलका पुराना तथा नयाँ नेता प्रतिष्पर्धामा छन् ।रुकुम पश्चिमबाट पाँचौं पटक प्रतिनिधिसभा सदस्य बन्ने दाउमा रहेका जनार्दन शर्मा विगत २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका छन् । शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृह र अर्थमन्त्री समेत भइसकेका उनी पूर्व माओवादीबाट आफ्नो जनमत लगातार बढाउँदै आएका छन् । उनी यस पटक पूर्व सहकर्मी गोपाल शर्मासँग प्रतिष्पर्धा गर्दैछन् ।

शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसका राजु केसी, रास्वपाका मानबहादुर शाही र एमालेका नन्दराम देवकोटा पनि प्रतिष्पर्धामा छन् । नेकपाका नेता शक्तिबहादुर बस्नेत पनि चौथोपल्ट चुनावी मैदानमा छन् । उनी तीन पटक पूर्व माओवादीबाट विजयी भएका थिए । २०७९ मा ३४ हजार १५१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बस्नेतले जाजरकोटको विकास र समृद्धिमा थप योगदान गर्न उम्मेदवारी दिएका छन् ।

महेन्द्रबहादुर शाही कालीकोटबाट चौंथोपल्ट उम्मेदवार बनेका छन् । उनले कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएर संघीय सरकारमा ऊर्जामन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनीसँग नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्मा, कांग्रेसका हर्षबहादुर बम, एमालेका नागेन्द्र शाही र रास्वपाका प्रकाश न्यौपानेले प्रतिष्पर्धामा छन् ।

नेकपा नेता धनबहादुर बुढा पनि चौंथो पटक निर्वाचनको मैदानमा छन् । उनी तीन पटक प्रतिनिधिसभा सदस्य र दुई पटक मन्त्री भइसकेका छन् । उनका सहोदर कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट प्रतिष्पर्धा गर्दैछन् । यसले एउटै घरका दुई भाइ फरक पार्टीबाट चुनावमा होमिँदा प्रतिष्पर्धा रोचक बनाएको छ । सुर्खेतमा सबैभन्दा बढी ३० र मुगुमा सात जनाले उम्मेदवारी दिएका छन् । 

गत निर्वाचनमा गठबन्धन प्रवृत्तिका कारण कर्णालीमा नेपाली कांग्रेस र एमालेले आंशिक लाभ पाएका थिए । तर यस पटक कुनै पनि दलले गठबन्धन नगरेकाले वास्तविक जनमत मापन हुने देखिन्छ । कांग्रेसले सुर्खेत–१, २, दैलेख–२, डोल्पा, मुगु र हुम्ला क्षेत्रमा सहज जीतको अपेक्षा राखेको छ भने जाजरकोट, सल्यान, दैलेख–१ र जुम्लामा प्रतिष्पर्धा बलियो रहने देखिन्छ । एमालेले सुर्खेत, दैलेख, कालीकोट, सल्यानमा जित निकाल्ने दाबी गरेको छ ।

नेकपा माओवादीले रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र दैलेख–१, २ मा जित सुनिश्चित गर्ने योजना बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा विजयको अपेक्षा राखेको छ । यस पटक कर्णालीमा चुनावी नतिजा पुराना दलहरूको संगठन, नयाँ दलहरूको उदय, व्यक्तिगत लोकप्रियता र मतदाताको मनोविज्ञानको मिश्रणले निर्धारण गर्ने अपेक्षा गरिएको छ। मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सबै तयारी पूरा भइसकेको छ । 

कर्णालीमा कस्तो छ निर्वाचन तयारी ?
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ । निर्वाचन आयोगले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कर्णाली प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयमा आवश्यक मतपत्र, मतपेटिका, मतदान अधिकृतका सामग्री तथा अन्य प्राविधिक सामग्री सुरक्षित रूपमा पुगेको बताइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको र गुणस्तर सुनिश्चित गरी मतदान प्रक्रिया सहज तथा व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशभर ९४१ मतदानस्थल र १,१३७ मतदान केन्द्र निर्धारण गरिएको छ । यस पटक कर्णाली प्रदेशबाट कुल १० लाख ३७ हजार दुई सय ५० मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता थिए । यस वर्ष एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएका हुन् । जिल्ला–जिल्लामा निर्वाचन सामग्री तयारी, मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तथा सुरक्षा व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको छ ।

कर्णालीका कति मतदानस्थल छन् अति संवेदनशील ?
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ । प्रहरीका अनुसार ४२२ स्थल संवेदनशील र १६० सामान्य श्रेणीमा परेका छन् । कर्णाली प्रदेशमा ९५९ मतदानस्थल र १ हजार ४५५ मतदान केन्द्र रहेका छन्, जसमध्ये ४४६ केन्द्र अति संवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य छन् । 

१४ हजार बढी प्रहरी परिचालन
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन गराउन नेपाल प्रहरीले सुरक्षा रणनीति तयार गरी आवश्यक जनशक्ति परिचालन गरिसकेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन गरी सोही अनुसार सुरक्षाकर्मी खटाउने योजना छ । सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा निकायले मतदातालाई निर्भिक भई मतदान गर्न आग्रह पनि गरेका छन् । 

कर्णालीमा करिब १४ हजार ७१९ भन्दाबढी प्रहरी जनशक्ति निर्वाचनमा खटाएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको पूर्ण रूपमा सुरक्षा दिने प्रहरीले दाबी गरेको छ ।

अति संवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ । प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिष्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो । सोही अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीब्र बनाएका छन् ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.