इङ्ल्यान्डले न्युजिल्याण्डलाई हराउँदा पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै
काठमाडौं : आइसिसी टी२० विश्वकप २०२६ अन्तर्गत सुपर आर्टको खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डमाथि ४ विकेटको जित दर्ता गरेको छ।
इङ्ल्यान्डले न्युजिल्याण्डलाई हराउँदा पाकिस्तानको भने सेमिफाइनल सम्भावना कायमै बनेको छ। यो जितसँगै इङ्ल्यान्ड समूह बी को विजेताको रूपमा सेमिफाइनल खेल्नेछ। कोलम्बोको आर प्रेमादशा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।
न्युजिल्यान्डले दिएको १६० रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १६१ रन सहित लक्ष्य पूरा गर्यो। इङ्ल्यान्डका लागि टम ब्यान्टनले सर्वाधिक ३३ रन बनाए। उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कप्तान ह्यारी ब्रोकले २६, जेकोब बेथेलले २१, साम करनले २४ रन बनाए। विल ज्याक्स ३२ र रिहान अहमद १९ रनमा अविजित रहे।
न्युजिल्यान्डका लागि बलिङतर्फ रचीन रविन्द्रले सर्वाधिक ३ विकेट लिए । म्याट हेन्री , लोकी फर्गुसोन र ग्लेन फिलिप्सले १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३९ रन बनाएका थिए। उनले २८ बलमा चार चौका र एक छक्का प्रहार गरे। ओपनरद्वय टिम सेफर्ट र फोन एलनले क्रमश: ३५ र २९ रन बनाए। मार्क च्याम्पम्यानले १५ र कोल एमसीकोन्चीले १४ रन बनाए।
इङ्ल्यान्डको लागि बलिङतर्फ विल ज्याक्स,आदिल रसिद र रेहान अहमदले समान २-२ विकेट लिए। लियम डुवासनले १ विकेट लिए। समूह बीको आज श्रीलङ्का र पाकिस्तानको खेल बाँकी छ। यो खेलमा पाकिस्तानले श्रीलंकालाई कम्तिमा ६४ रन वा दिइएको लक्ष्य १३.१ ओभर भन्दा अगाडि नै जित्नुपर्ने हुन्छ। यस्तो भएको खण्डमा मात्रै न्युजिल्यान्डलाई पछि छाड्दै पाकिस्तानले सेमिफाइनल खेल्ने सम्भावना रहन्छ । यदि पाकिस्तानले श्रीलंकालाई अङ्कगणितीय रुपमा नै जित्न नसक्दा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउनेछ।
प्रतिक्रिया दिनुहोस !