भाषण छाडेर भाका : कसका चुनावी गीत कस्ता ?

भाषण छाडेर भाका : कसका चुनावी गीत कस्ता ?

काठमाडौं : चुनावमा नेताका भाषण, प्रदर्शन र घोषणापत्रको आफ्नै महत्व रहन्छ । तर जमाना हिजोको जस्तो मात्रै छैन । आजको डिजिटल र सञ्चार प्रविधिको युगमा नेताको भाषणले मात्र मतदाताको ध्यान खिच्न, रिझाउन, मतदानका लागि मन फर्काउन मुस्किल छ । मन जितेर मत पाउनका लागि अहिले सबैजसो दलहरुले मन–मस्तिष्कमा बसिहाल्ने गीत–संगीतको सहारा लिइरहेका छन् । 

यसैले त चुनाव आउनु भन्दा केहि महिना अगाडिदेखि नै केहि कलाकारहरुको व्यस्तता समेत बढ्ने गरेको छ । सूचना प्रविधिको अभूतपूर्व विकासले पछिल्लो एक दशकमा चुनावी प्रचारशैलीमा आमूल परिवर्तन ल्याएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै उम्मेदवारहरूले जनतासम्म पुग्न गीत र भिडियोको सहारा लिइरहेका छन् । यस्तै पछिल्लो समय आम नागरिकमा पनि नेताहरुका भाषणप्रति रुची कम हुँदै गएको छ । जसका कारण पार्टीका घोषणापत्र समेत आझेलमा पर्न थालेका छन् ।

यसै मनोविज्ञान बुझेका दलहरु, तिनका उम्मेदवार र गीत–संगीतका सर्जकले पनि भाषणबाट भन्दा गीत–संगीतको माध्यमबाट पार्टीका एजेण्डा मतदाता र आम नागरिकसम्म सहज रुपमा पुर्‍याउन सकिन्छ भन्ने मेसो पाइसकेका छन् । यसैले त पछिल्ला बर्षहरुमा पार्टी र उम्मेदवारका एजेण्डा मतदाताको मनसम्म पुर्‍याउन विभिन्न शैली र बान्कीमा गीत–संगीत र भिडियोहरु समेत सिर्जना गरिरहेका छन् । जसलाई उम्मेदवारको चुनावी सभाहरु, मतदाता भेटघाट र चुनावी घरदैलो लगायतका कार्यक्रमहरुमा मतदाताको मन खिच्ने ‘मसला’ का रुपमा गीत–नृत्यका माध्यमबाट पस्किने गरिएको छ । 

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका शहरदेखि गाउँघरसम्म अहिले चुनावी नारा, उम्मेदवारको प्रशंसा र पार्टीको एजेण्डा बोकेका गीतहरु घन्किरहेका छन् । जबजब चुनाव आउँछ, प्रचारमा नारा स्वरूप गुञ्जिन थाल्छन्, पार्टी गीत बज्न थाल्छन् । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । 

२०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’ गीतले निकै महत्वपूर्ण भूमिका खेलेको थियो। यति मात्र होइन वहुभाषा, वहुजाति र वहुसँस्कृति भएको नेपालमा उम्मेदवार र पार्टीले सोही क्षेत्रको परिवेश, भाषा र लयलाई चटक्क टिपेर चुनावी गीत–संगीत सिर्जना गर्ने गरिएको छ । जसको उद्देश्य एउटै हुन्छ–मतदातालाई आफ्नो पार्टी, आफ्नो उम्मेदारको एजेण्डा र नाराप्रति सजिलै आकर्षित गर्न सकियोस् । यस्ता गीत–संगीत दलहरुमा मात्र सीमित नभएर उम्मेदवारपिच्छे समेत हुने गरेको छ ।

कांग्रेसका चुनावी गीत कस्ता–कस्ता ?
प्रखर भाषणसँगै गीत–संगीतको माध्यमबाट मतदाता रिझाउनमा नेपाली कांग्रेसका सभापति गगन थापा समेत माहिर मानिन्छन् । भावी प्रधानमन्त्रीको दावीसहित मधेस प्रदेशको सर्लाही–४ बाट चुनावी मैदानमा होमिएका गगन थापाले पनि निर्वाचनका बेला गीत–संगीतले मतदातामा पार्ने प्रभाव मज्जैले बुझेका छन् ।

विद्यार्थी राजनीतिबाट चर्चामा आएका गगन २०६२–६३ को आन्दोलनबाट युवाहरुको साझा ‘आइकन’ का रुपमा उदाएका हुन् । त्यो बेला थापाको भाषण समेत युवाहरुले ‘रेकर्ड’ गरेर राख्थे । समय बदलियो, युवा बदलिए । अहिलेका जेनजी युवामा रुखासुख्खा भाषणमा रुची छैन । दुई दशक बढीको नेपालको राजनीतिक बदलाव र मतदाताको मनोभाव बुझेका गगनले आफ्ना चुनावी सभाहरुमा गीत–संगीतलाई समावेश गर्दै आएका छन् ।
 

युट्युव, टिकटक र फेसबुकको दबदबा नभएका बेला २०७० सालमा काठमाडौं–४ बाट चुनाव संविधानसभाको चुनाव लड्दा गगनले आधुनिक शैलीका गीत–संगीतलाई प्रचारको माध्यम बनाएका थिए । सो निर्वाचनमा चर्चित  र्‍यापर गिरीश गिरीले गाएको ‘भोट फर गगन थापा’ बोलको  र्‍याप सार्वजनिक गरिएको थियो ।  र्‍याप शैलीको प्रयोगले त्यतिबेला युवा मतदाताहरूमा निकै ठूलो प्रभाव छोडेको थियो। २०७९ को निर्वाचन थापाको राजनीतिक जीवनका लागि महत्वपूर्ण थियो । कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो ।

उनको चुनावी प्रचारका लागि तयार गरिएको ‘गगन दाइ हाइ हाइ’ गीत लोकप्रिय बन्यो । कृष्ण रेउले र कविता आचार्यको आवाजमा रहेको यस गीतले थापाको अफिसियल युट्युब च्यानलमा राम्रो भ्युज बटुलेको थियो । युवाहरूले टिकटकमा यो गीतमा नाचेका भिडियोहरू पनि भाइरल भएका थिए ।

प्रताप पौडेल र अमृत अधिकारीको शब्दको गीतमा थापाको इमानदारिता, विकासप्रतिको प्रतिबद्धता र जनप्रियताको प्रशंसा गरिएको थियो । गगनको ‘समुन्नत नेपाल, सुखी नेपाली’ नारालाई पनि गीतमा स्थान दिइएको थियो । तीन दिनपछि हुने प्रतिनिधिसभा निर्वाचनमा थापा काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवार छन् ।

थापाको पक्षमा चुनावी माहोल बनाउन ‘सरकार गगन भरत के’ बोलको गीत सार्वजनिक भएको छ । भोजपुरी भाषामा गाइएको गीतलाई प्रचलित र आधुनिक शैलीमा बनाइएको छ । सञ्जय यादवको स्वर रहेको गीतमा थापालाई जनताको दुःख, दर्द र पीडा बुझ्ने नेताको रूपमा चित्रित गरिएको छ । गीतले निर्वाचनपश्चात गगन थापा र भरत शाहको सरकार बन्ने कुरामा अधिक जोड दिएको छ ।
‘हमारे मन के गाव मे’

केही समयअघि गगन थापा समर्थक फेसबुक पेजमा मैथिली भाषाको एउटा गीत छाएको छ । गीतको बोल हो–हमारे मन के गाव मे । यद्यपि यो गीत थापा र कांग्रेसको प्रचारका लागि बनाइएको मौलिक गीत भने होइन । मैथिली संगीतको फाँटमा ‘हामार मन के गाउँमे’ गीतले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

चर्चित पाश्र्वगायक उदित नारायण झाको स्वरमा सजिएको यो मौलिक मैथिली गीत मूलतः प्रेम र सांस्कृतिक अपनत्वको भाव बोकेको सिर्जना हो । तर, थापाले आफ्नो चुनावी प्रचार अभियानका क्रममा यस लोकप्रिय धुनलाई परिमार्जन गरी चुनावी प्रचारको साधन बनाएका छन् ।  गीतमा युवा आवाजलाई प्रयोग गरिएको छ ।

स्थानीय संस्कृति र भाषासँग जोडिँदै आएको यस गीतको धुनलाई थापाको टोलीले राजनीतिक एजेण्डा र विकासको प्रतिबद्धतामा ढालेपछि यो मैथिलीभाषी मतदाताहरूमाझ भावनात्मक सम्बन्ध स्थापित गर्ने माध्यम बनेको छ । परिमार्जित गीतमा मूल गीतका स्थायी हरफहरूमा कुनै शब्द फेरबदल नगरी जस्ताको तस्तै राखिएको छ । तर अन्तराका हरफहरूमा भने कांग्रेसका नारा, गगन थापाको नाम र भावनात्मक सम्बन्ध जोड्ने खालका शब्दहरू राखिएका छन् ।

पहिलो पटक चुनाव लड्न मधेस झरेका गगनको पक्षमा चुनावी माहौल बनाउन अन्य पनि धेरै चुनावी गीत सिर्जना गरिएका छन् । रबीराज साहको शब्द, संगीत र स्वरमा ‘परिवर्तनका शंखनाद से पुरा देश मगन, गगन, गगन, गगन’, विमलराज क्षेत्रको स्वरमा ‘बदलियो कांग्रेस, बदल्छौं देश’, ‘सुनु ए चाचा, अब कि बार गगन थापा’, ‘भोट देम गाछी मे’, ‘आयो गगन, आयो गगन’ गीत पनि अहिले विभिन्न चुनावी सभा र घरदैलो अभियानहरुमा गुञ्जिरहेका छन् ।

चुनावी गीतमा एमाले पनि अगाडि
चुनावी प्रचारका क्रममा गीत–संगीत प्रयोगमा नेकपा एमाले पनि अगाडि देखिन्छ । वामपन्थी विचारधारा बोकेको एमालेले निर्वाचनहरूमा गीत, संगीत र सांस्कृतिक कार्यक्रमलाई मतदाता आकर्षित गर्ने मुख्य रणनीतिक औजार बनाउँदै आएको छ । २०७४ र २०७९ सालको आम निर्वाचनमा एमालेले ल्याएका गीतहरूले निकै चर्चा बटुलेका थियो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चर्चित गायक बद्री पंगेनीले गाएको ‘सै पनि एमाले, मै पनि एमाले’ बोलको गीत निकै लोकप्रिय बन्यो ।

यस गीतले एमालेको संगठनात्मक शक्ति र जनाधारलाई उजागर गर्दै मतदाताहरूलाई पार्टीप्रति आकर्षित गर्न ठूलो भूमिका खेल्यो । गीतमा पार्टीको नयाँ विचार भन्दा पुराना कार्यक्रमहरूको चर्चा बढी थियो । एक गाउँमा एक डाक्टर जस्ता अभियानदेखि लिएर आफ्नो कार्यकालमा प्रस्तुत गरेको वृद्धभत्ता जस्ता कार्यक्रमहरू गीतका शब्दमा उनिएका थिए । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारहरुले यो गीत बजारमा मतदाता रिझाइरहेका देख्न सकिन्छ ।

२०७९ सालको निर्वाचनमा ‘शहर शहरमा ओली, गाउँ गाउँमा ओली’ गीत एमाले चुनावी अभियानमा लोकप्रिय बन्यो थियो । नागरिकता विधेयकको विरोध, चुच्चे नक्सा सार्वजनिक गरिएका विषय गीतका शब्दहरुमा उतारिएका थिए । आफ्नो कार्यकालमा झोलुङ्ग पुल बनाइएको र तुइन हटाइएको जस्ता कार्यहरू पनि गीतका शब्दमा उतारिएको थियो । यी गीतहरूमा एमाले नेतृत्वको सरकारले गरेका कामहरूलाई चर्चा गर्दै भावी समृद्धिमा जोड दिइएको थियो । ओलीको नेतृत्वप्रतिको विश्वासलाई गीतको मुख्य विषय बनाइएको थियो । 

बद्री पंगेनी, पूर्णकला बीसी र सुजन लम्सालको स्वरमा रहेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ गीतले पनि मतदाताको ध्यान खिचेको थियो । यस पटक पनि हुम गैरे, जमुना राना, वीरता पुनको स्वरमा ‘एमालेको सूर्यमा भोट’, दीपक अर्यालको शब्द, तारानाथ आचार्य–टेकनारायण चापागाईको संगीत र कुशल बेलवासे र पार्वती जिसीको स्वरमा ‘भन्छन् बा–आमाले’ बोलको गीत सार्वजनिक भएको छ । यस्तै विभिन्न क्षेत्रबाट उनावी मैदानमा रहेका उम्मेदवार केन्द्रित एमालेका चुनावी गीतहरु ‘हाम्रो पार्टी एमाले छानौं, ‘एमालेको सूर्यमा भोट’ पनि विभिन्न सामाजिक सञ्जालहरुमा छन् । जसले एमाले उम्मेदवार र पार्टीको चुनावी माहोललाई तताइरहेको छ । 

पछि छैनन् प्रचण्ड पनि
विभिन्न डेढ दर्जन कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि गीत–संगीतलाई चुनावी प्रचार र उम्मेदवारलाई भोट माग्ने माध्यम बनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपाको आसन्न प्रतिनिधिसभा चुनाव लक्षित गीत–संगीत पनि युट्युवलगायतका विभिन्न सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

एक महिनाअघि मात्र विकेक लोप्चनको शब्द–संगीत र सुस्मिता स्याङतान र छेवाङ लामाको स्वरमा ‘शहरदेखि गाउँसम्म खुशीयाली छायो, जनजनमा नेपाली कम्युनिष्ट पार्टी आयो, सारा जनता जागिसके उठौं जुटौं साथी झ्याप्पै भोट हालौं है तारा चिन्हमाथि’, नविन खड्काको शब्द रचना रहेको ‘चम्किलो तारा, जनाको सहारा’ बोलको गीत सामाजिक सञ्जालमा भेटिन्छन् । यस्तै नेकपाका विभिन्न क्षेत्रका उम्मेदवार केन्द्रित गीत–संगीत पनि सिर्जना भएका छन् । 

नेकपाले पनि नेपाली राजनीतिमा गीत र संगीतलाई राजनीतिक चेतना र अभियानका रूपमा प्रयोग गरेको छ । विगतमा सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्डले चुनावका बेला गीत–संगीतको महत्वलाई राम्ररी बुझेका छन् । त्यसैले त प्रचण्डका चुनावीसभा र मतदाताको घरदैलो अभियानमा तलको गीत प्रायः छुट्दैन । 
अरुभन्दा हजारौं गुणामा
प्रचण्ड छन् मुटुको कुनामा
भा’छन् सबै दंग
राष्ट्रनायक प्रचण्ड सधैं जनतासँग

जनआक्रोशलाई गीतबाट उठाउँदै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ का उम्मेदवार बालेन शाह आफैंमा लामो समय गीत–संगीत सिर्जनामा संलग्न कलाकार हुन् । उनी मुख्यतः  र्‍याप विधाका गीतहरू सिर्जना गर्ने गर्छन् । २०७८ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको चुनाव लड्ने क्रममा चुनाव प्रचारका लागि उनले आफैं गीतहरू बनाएका थिए । चुनावी अभियानका क्रममा उनका पुराना सिर्जनाले लोकप्रियता प्राप्त गरे । क्लासिक नेपाली फिल्म बलिदानको ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन’ गीतलाई प्रयोग गरेर बालेनले गरेको  र्‍यापले धेरै मानिसहरूलाई नयाँ नेतृत्वको खाँचो रहेको कुरा बोध गरायो ।

गीतमा बालेनले पुराना शक्तिहरू, नेतृत्वका कमजोरी र अकर्मण्यतालाई आफ्नो मूल विषय बनाएका थिए । युवाहरू माझ यो गीत अत्यन्त चर्चित बन्यो । त्यस्तै बालेनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको  र्‍यापले सामाजिक सञ्जालमा चर्चा बटुल्यो । बालेनको मात्र होइन, रास्वपा पार्टीको समेत चुनावी प्रचार केन्द्रित धेरै गीतहरू युट्युबमा रिलिज छन् । 

एआई निर्मित गीतहरू पनि अत्यधिक संख्यामा बनाइएका छन् र भिडियो सामग्रीहरूमा पनि एआईको तीव्र प्रयोग गरिएको छ । रास्वपा पार्टीका गीतहरूले आफ्नो नारा र विचारलाई भन्दा धेरै पुराना राजनीतिक दल र व्यवस्थाप्रतिको आक्रोशलाई स्थान दिएको देखिन्छ ।

भावी प्रधानमन्त्रीका दाबेदार बालेन र सभापति रवि लामिछानेलाई केन्द्रमा राखेर सिर्जना गरिएका गीतहरु पनि रास्वपाका विभिन्न जनसभा र घरदैलो अभियानहरुमा बज्ने गरेका थिए । अहिले ‘अब की बार बालेन सरकार’ नारालाई मधेशमा चर्चित बनाइएको छ । केहि समयअघि मात्र युट्युबमा सार्वजनिक गीतको शब्द छ–
यो मौकालाई छोप आयो रास्वपा
घण्टी बज्नु पर्छ रास्वपाको नाममा
आउ साथी आऊ, जाऊ साथी जाऊ
देशैभरि सुन्नेगरी घण्टी बजाऊ

यो गीतलाई सूर्य खड्का, रुपा सिञ्जाली र ज्ञानु परियारले गाएका छन् । शिभा अखेलीले गीत लेखेका छन् । थुप्रै गीत र गायकीले चुनावको माहोल तताएको छ । कतिपय उम्मेदवार र पार्टीका गीत भने बन्ने क्रममा नै छन् । सडकदेखि सामाजिक सञ्जालमार्फत गुञ्जिने यी गीतले उम्मेदवार र पार्टीको सन्देश घरघर पुर्‍याउँदै चुनावी माहोल तताइरहेका छन् ।

चितवन–३ बाट नेकपाकी उम्मेदवार रेनु दाहालमाथि बनाइएको चुनावी गीत अहिले टिकटकमा चर्चित बनिरहेको छ । ‘रेनु दाहालको चुनावी गीत २०८२’ भनेर कपुरबोट टीभी नामक युट्युब च्यानलबाट बजारमा आएको गीतको स्थायी छ– 
बोल्ने भन्दा नि काम गर्ने बानी
सदनमा पठाऔं, रेनुलाई छानी...
रेनु दहाललाई जिताउन हजुर 
भोट हालौं सबैले तारामा 

सञ्चारकर्मी समेत रहेका सन्तोष देउजाको शब्दमा बनिएको यो चुनावी गीतले लाखौं भ्युज पनि बटुलेको छ । खासमा यो गीतको लय ‘जान्छ्यौ र लाहुरेको साथैमा’ बोलको हो । सन्तोषले गोविन्द पंगेनीसँग गीतको लयको अधिकार किनेर रेनुको गीत सिर्जना गरेका हुन्  ।

‘जान्छ्यौ र लाहुरेको साथैमा’ मा आवाज दिएका गायक हरि सुनार र सरिता सुनारले रेनुको यो गीतमा स्वर दिएका छन् । अहिले रेनुको घरदैलो कार्यक्रममा अधिकांशले बनाउने टिकटकमा यही गीत प्रयोग भइरहेको छ । चुनावी प्रचारका गीतमा एउटै कलाकारले फरक फरक पार्टीका र उम्मेदवारका गीत गाएका पनि छन् । 

श्रम सँस्कृति पार्टीमा गीत–संगीतलाई शीर्ष स्थान
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका हर्क साम्पाङ अध्यक्ष रहेको श्रम सँस्कृति पार्टीले पनि आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गरेर पार्टी र उम्मेदवारमाथि गीत–संगीत संगीत सिर्जना गरेको छ । आफै गीत–संगीत सिर्जनामा माहिर हर्क साम्पाङको पार्टीको चुनावी गीतमा राजेश पायल राईसहित अन्य स्थापित र चर्चित गायक–गायिकाको आवाज समेटिएका छन् । चुनावअघि पनि श्रम सँस्कृति पार्टीका मुद्दा, विषयमाथि केन्द्रित रहेका धेरै गीतहरु बाहिर आइसकेका छन् । 

रामशोभा राईको शब्द, सुमन राईको संगीतमा राजेश पायल राई, रामशोभा राई र सुमन राईको स्वरमा केहि समयअघि ‘जय जय हर्क साम्पाङ, भोट केमा ? माटोमा’ सहित एआइ प्रविधि प्रयोग गरेर चुनावी अभियान र श्रम सँस्कृतिसँग जोडिएका धेरै गीत–संगीत सिर्जना गरिएका छन् । अहिले अध्यक्ष हर्क साम्पाङ र अन्य उम्मेदवारहरु आफ्नो ठाउँ, सँस्कृति र आफू अनुकूलका गीतहरु जनसभा र घरदैलो अभियानहरुमा बजाएर मतदाता आकर्षित गरिरहेका छन् । 

गीत–संगीतबाट राष्ट्र र राष्ट्रियताको मुद्दा उठाउँदै राप्रपा
राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न प्रतिनिधिसभा निर्वाचनको माहोल तताउन केहि गीत–संगीत सिर्जना भएका छन् । दिपकविक्रम शाहको शब्द, लय र संगीतमा दुई महिनाअघि मात्र ‘राप्रपा हो हाम्रो पार्टी, चुनाव चिन्ह हलो’, माधव तिम्सिनाको शब्द रचनामा आमा–बुबा, सुन्नुहोस् दाजुभाइ’ लगायत केहि गीत फागुन २१ को चुनावलाई मध्यनजर गर्दै विभिन्न सामाजिक सञ्जालमा राखिएका छन् । 

अहिले देशका १६५ निर्वाचन क्षेत्रमा ६६ वटा दल र तिनका उम्मेदवार र स्वतन्त्र गरी तीन हजार ४८४ जना चुनावी मैदानमा छन् । चुनावमा उत्रिएका अधिकांश दलहरुले चुनाव लक्षित गीत–संगीत सिर्जना गरेका छन् । जसमा शीर्ष दल र शीर्ष नेताहरु नै अगाडि देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.