चुनाव र होलीको रौनक,  किसानलाई उखुकै चिन्ता

चुनाव र होलीको रौनक,  किसानलाई उखुकै चिन्ता

मलंगवा (सर्लाही) : सर्लाही बलराका रन्जित सहनीको खेतमा उखु सुक्न थालिसक्यो। कहिले उखु काट्ने भन्ने अझै टुंगो नहुँदा सहनी दिक्क छन्। उखु ढुवानीका लागि ‘चलान पुर्जी’को पर्खाइमा बस्दा बस्दा खेतमै उखु सुकेर काम नलाग्ने अवस्थामा त पुग्ने होइन भन्ने उनलाई चिन्ता छ। उखुकै पिरलोले यस वर्षको होली पर्व र चुनाव पनि उनलाई खल्लो लागिरहेको छ। 

‘विगतमा होलीभन्दा पहिल्यै उखु काटेर सकिन्थ्यो,’ सहनीले भने, ‘यस वर्ष अहिलेसम्म खेतमा जस्ताको त्यस्तै छ। सुकेर त्यसै नष्ट हुने हो कि भन्ने चिन्ता छ।’ जिल्लामा क्रसिङ क्षमता कम भएको चिनी उद्योग छ। उखु खेती भने निकै बढी छ। अन्य जिल्लाका उखु उद्योगका तौल काँटा यस वर्ष जिल्लामा ल्याइपुर्‍याइएका छैनन्। त्यही भएर उखु ढुवानी हुन नसकेको सहनीको दुखेसो छ। विगतमा महोत्तरीको रामनगर र रौतहटको चिनी उद्योगहरूका तौल काँटा जिल्लामा हुन्थे। समस्या हुदैन्थ्यो। ‘यस वर्ष बाहिरी जिल्लाका उद्योगहरूले आ–आफ्ना तौल काँटा हटाउँदा हामीलाई समस्या भएको छ,’ उनी भन्छन्। 

समयमा उखु बिक्री नहुँदा चुनाव र होली पर्व दुवैले किसानलाई आकर्षित गर्न सकेको छैन। चिनी उद्योगहरूले ठूलाबडालाई हातको हात चलान पुर्जी दिने र साना किसानलाई चलान पुर्जी समयमा नदिँदा खेतमै उखु सुक्न थालेको बलरा नगरपालिका–५ का रामईश्वर महतोले दुखेसो पोखे। 

‘उद्योगहरूको सिन्डिकेटले गर्दा अन्य जिल्लाका उद्योगहरूले तौल काँटा जिल्लाबाट उठाएर लगेका छन्,’ उनले भने, ‘गाउँ नजिकमै तौल काँटा हुँदा किसानलाई धेरै सहज थियो। हाम्रो क्षेत्रका ९० प्रतिशत किसानले उखु खेती नै गर्छन्। यस्तो अवस्थामा पनि नेताजीहरूले जनताका मुद्दा बुझ्न खोज्दैनन्। निल गाईको डरले गहुँ र दलहन बाली कमै गर्छन्।’ भोट माग्ने नेतालाई उखुको समस्या राख्नुहुन्न त ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘यहीँबाट हाम्रा समस्या पटकपटक देखेका, भोगेका नेताजीहरू पनि चुनाव उठ्नु भएको छ। उहाँहरू अहिले पनि तपाईंका माग सम्बोधन गर्छौं भनेर ठिक्क पार्नुहुन्छ। कसरी पत्याउनु, झुटा आश्वासन। अहिले हामीलाई पनि देश दुनियाँ थाहा छ। फेसबुक हामी पनि हेर्छौं। कसले कति गर्न सक्छन् हामीलाई पनि थाहा छ। अब जनता भेडा छैनन्।’ मधेसमा यतिबेला बर्खाका लागि गुइँठाको जोहो गर्ने र उखु काटेर मिलमा पुर्‍याउने चटारो किसानलाई छ। 

भोट बैंक भएको किसानका बस्तीमा चुनाव लागेकै छैन भन्दा पनि अत्युक्ति नहोला। प्रतिनिधिसभाका उम्मेदवारहरू जनताको घरदैलौ गरिरहेका छन्। किसानका मुख्य समस्या नै उखुको पुर्जा समयमै पाउनुपर्ने भन्ने हुन्छ। सर्लाही–४ का जनताको घरदैलोमा पुग्दा स्थानीय उम्मेदवारहरूसँग उनीहरू माग गर्दै थिए, ‘बर्खाका बेला सबै डुबान हुन्छ। बर्खाका बेला हाम्रा आँगनमा आउनुस्। गाउँमा एउटा घर बाट अर्को घर पुग्न सकिँदैन। यसको निकास चाहियो हामीलाई। हिउँदमा सिँचाइ चाहियो। २, ४ पैसाको आसमा यत्रो उखु खेती लगाएका छौं।’ स्थानीय ज्वाला पोख्रेलले भने, ‘समयमा उचित मूल्य दिएर मिलमा छिटो र सहज ढंगले पुर्‍याउन सकियोस्। चलानी दिने विषयमै यहाँ राजनीति छ। नेताजीका नजिकका मान्छेले अगाडी हस्तक्षेप गर्छन्। अनि हाम्रा उखु बारीमै सुक्छन्।’ ‘बारीभरी खेताला लगाएर उखु ढालिएको छ। ती उखुलाई अब मिल सम्म पुर्‍याउनुपर्ने छ। मिल पुर्‍याएर मात्र भएन ती उखुलाई पेल्नका लागि पनि पालोमा राख्नुपर्ने हुन्छ। बारीबाट मिलमा पुर्‍याउँदासम्म उखु सुकेर ग्राम पनि घट्छ।’

४० किलो मिटर टाढा हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग र १० किलो मिटर टाढा रहेको गोडैताको बगदहको महालक्ष्मी सुगर मिलमा उखु लानुपर्ने बाध्यता सर्लाहीका किसानलाई छ। ‘नजिकमा काँटा हँुदा ढुवानी खर्च बच्थ्यो। तर, अहिले हरिवन लग्दा प्रतिक्विन्टल १ सय १० रूपैयाँ र बगदह लग्दा ७० रूपैयाँ प्रतिक्विन्टल ढुवानी खर्च पर्ने गर्छ।’ मलमाद र खेतालाको अभाव झेल्दै आएका किसानमाथि ढुवानी र चलान पुर्जीको समयमा आइ परेको महतोले बताए। समस्याले घेरिएका किसानलाई कतैबाट राहत नहुँदा चुनावसमेत नलागेको महतोले बताए। राज्यले पनि किसानसँग विभेद गरेको उनको गुनासो छ। 

उद्योगले आफ्नो भुक्तानी दिए पनि राज्यबाट पाउने अनुदान रकम गत वर्षकै बाँकी रहेको छ। राज्यले दिँदै आएको ७० रूपैयाँ अनुदानमध्ये ३५ रूपैयाँ मात्र पाएको किसानहरूको गुनासो छ। समयमै उखु ढुवानी नहँुदा खेतमै सुक्न थालेको गडहियाका जगतनारायण राउतको मन दुखेको छ। गत वर्षहरूको होलीभन्दा पहिलो नै उखु बेचेर सकिन्थ्यो। यस वर्ष उखु खेतमै छ। उखु बिक्री नहँुदा होली खल्लो हुने राउतले बताए। 

गर्मी बढेपछि उखु सुक्ने समस्या बढेको छ। गर्मी बढेसँगै डढेलोको समस्या पनि उत्तिकै छ। अढाई महिनादेखि उद्योग सञ्चालनमा छ। अहिले सम्म हामीले चलान पुर्जी पाएनौं। ६ सय ९० रूपैयाँ प्रतिक्विन्टलमा बिक्री हुने उखु सुक्ने डरले किसानहरू जस्तोमै बेच्न बाध्य भएका छन्। उद्योगहरूले समयमा उखु नकिन्दा किसानहरू ठेक्केदारसँग सस्तोमा उखु बेच्न थालेको रामनगरका रमेश रायले बताए। उनले भने, ‘६ सय ९० रूपैयाँ प्रतिक्विन्टल बिक्री हुने उखु ठेक्केदारलाई ६ सयमा बेच्नु पर्ने बाध्यता छ। 

अहिले खेतालाको पनि समस्या छ। खेतालाहरू उखु काटेको प्रतिक्विन्टल १ सय ४० रूपैयाँ लिन्छ। सय रूपैयाँ ढुवानी खर्च। ट्याक्टरको ड्राइभरलाई १५ सय खाना खर्च तिर्नुपर्छ। उद्योगले समयमा पैसा नदिँदा ऋण काढेर भए पनि खेताला र सवारीसाधनलाई पैसा तिर्नुपरेको छ।’ चलान पुर्जी वितरणमा उद्योगले किसानलाई कुनै प्रकारको दुःख दिने नगरेको हरिवनका इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए। एकै दिनमा उद्योगले सबै उखु क्रसिङ गर्न सक्दैन। सबै उखु क्रसिङ गर्नका लागि कम्तीमा ५ महिना उद्योग चल्नुपर्छ। पालैपालो सबैको पालो आउँछ। तर, किसानहरू एक महिनामै सबै उखु क्रसिङ होस् भन्ने चाहन्छ। अहिले हामी चलान पुर्जी दिन्छौं। तर, किसानले उखु काट्न सकेको छैन। पुस ७ गतेबाट उद्योग सञ्चालन भएको छ। आजसम्म हामीले २२ लाख २२ हजार क्विन्टल उखु क्रसिङ गरि सकेका छौं। 

इन्दुशंकर चिनी उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। जसका लागि अझै चैससम्म उद्योग चलाउनुपर्छ। दैनिक हामी औसत रूपमा ३९/४० हजार क्विन्टल उखु क्रसिङ गर्दै आएको रजकले बताए। जिल्लामा रहेको ३ वटा उद्योगका लागि बढी उखु छैन। किसानले कुनै पनि चिन्ता लिनुपर्दैन। किसानले कुरा बुझ्न नसक्दा समस्या भएको हो। बाहिरका काँटा जिल्लामा हुँदा चाँडै उखु सकिन्थ्यो। होलीभन्दा पहिले नै उखु सकिन्थ्यो। यस वर्ष बाहिरको काँटा नहुँदा अलि ढिला भएको महालक्ष्मी सुगर मिलका प्रशासकीय अधिकृत शिवशंकर कुशवाहाले बताए।

उनले भने, ‘हामीले दैनिक ४ सय बैलगाडाको र सय टेलर ट्याक्टर लोड भएका उखु क्रसिङ गर्दै आएको छौं। ५ सय किसानको उखु एक दिनमा लिन्छौं। तर, यहाँ १० हजारभन्दा बढी किसान छन्। सबैको त एकै पटकमा क्रसिङ हुँदैन। पालैपालो सबैको उखु लिने महतोले बताए। उखु नसकिएसम्म उद्योग बन्द हँुदैन। हामीले १ महिना ढिला उद्योग सञ्चालन गर्दा किसानलाई केही समस्या भएको हो।’ उनले एक महिना उद्योग सञ्चालनमा ल्याउँदा किसानलाई समस्या परेको स्विकार्दै भने, ‘२० लाख क्विन्टल उखु क्रसिङ गर्ने हाम्रो लक्ष्य छ। दैनिक रूपमा सरदर १८ देखि २० हजार क्विन्टल दैनिक रूपमा उखु क्रसिङ भइरहेको छ। उन्नत जातको उखुको भुक्तानी ३ दिनमै हुने गरेको र कमसल जातको उखुको भुक्तानीमा केही ढिलाइ भएको उनले बताए। ८ वर्षदेखि उन्नतजातको उखु लगाउनका लागि किसानलाई आग्रह गर्दा पनि केही किसानहरूले अझै पनि कमसल जातको उखु लगाएको उनले दाबी गरे। 

उखुको समस्या समाधान गर्ने मेरो जिम्मा : थापा

नेपाली कांग्रेसको जनकपुरको प्रतिज्ञा सभामा पार्टीका सभापति गगन थापाले उखु किसानसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र छलफल भइरहेको बताएका थिए। उनले यो विषय घरदैलोका क्रममा जनताले गुनासो गर्दै आउँदा पनि सम्बोधन गर्दै आएका छन्।

सर्लाही–४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताका घरदैलोमा उनले भन्दै थिए, ‘काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो।’ थापाले मतदातासँग काम गर्ने मौका माग्दै भने, ‘मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ सम्म मेरा लागि हिँडिदिनुस्, २१ गतेपछि तपाईंहरूको जिम्मा म लिन्छु।’

पटकपटक संसद्मा आवाज उठाएको छु :  सिंह

रास्वपाबाट उम्मेदवार भएका पूर्वसांसद अमरेशकुमार सिंहले उखु किसानले लामो समयदेखि भुक्तानी नपाएको र राज्यले उखुबालीलाई उधारो बाली बनाएको भन्दै संसद्मै आवाज उठाउँदै आएका छन्। उनले किसानलाई समयमा मलबिउ र सिँचाइको व्यवस्था नभएको र उत्पादित उखुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

अमरेशले घरदैलोको बेला पनि आफूले जति सिँगो उखु कृषकका लागि पहल अहिलेसम्म कसैले नगरेको भन्दै सम्झाउँदै हिँडेका छन्। घरदैलोको क्रममा उनले भने, ‘मैले जति यो ठाउँबाट कसैले सम्बोधन गरेको छैन। मैले उखुको विषय मात्र हैन, कृषकले बेलामा मल नपाएको विषय पटकपटक संसद्मा उठाएको छु। तपाईंहरूले जान्नुभएकै छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.