वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
काठमाडौं : आईसीसी टी २० विश्वकप २०२६ मा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ। भारतले सेमिफाइनलमा समूह बी को विजेता इङ्ल्यान्डसँग खेल्नेछ। यी दुई टिमले विश्वकप २०२६ को दोस्रो सेमीफाइनलमा एकअर्काको सामना गर्नेछन् । दुई टोलीको खेल मार्च ५ मा मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।
पहिलो सेमिफाइनलमा समूह ए को विजेता दक्षिण अफ्रिका र समूह बीको उपविजेता रहेको न्युजिल्यान्डले इडेन गार्डेनमा खेल्नेछन्। यी दुई टिमको खेल मार्च ४ मा हुनेछ।
कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टर्न डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९५ रन बनाएको थियो।
वेस्ट इन्डिजले दिएको १९६ रनको विजयी लक्ष्य पछाएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९९ रनसहित लक्ष्य पूरा गरेको हो।
भारतको लागि ओपनर ब्याटर सन्जु सामसनले ९७ रनको अविजित पारी खेले। उनले ५० बलमा १२ चौका र चार छक्का प्रहार गरे। एक तर्फबाट विकेट गइरहँदा सन्जुले उत्कृष्ट पारी खेल्दै भारतको जित सुनिश्चित गरे।
भारतको लागि ओपनर अभिषेक शर्मा र वान डाउन आएका इशान किसनले समान १० /१० रन बनाए। कप्तान सूर्यकुमार यादवले १८ र तिलक बर्माले २७ रन बनाउँदा हार्दिक पाण्ड्या १७ रनमा पेवेलियन फर्किएका थिए। शिवम दुबे भने ८ रनमा अविजित रहे।
वेस्ट इन्डिजका लागि बलिङतर्फ जेसन हल्डर र समर जोसेफले २-२ विकेट लिए। अकेल होसेनले १ विकेट लिए।
पहिलो इनिङ्समा ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि रोस्टन चेजले सर्वाधिक ४० रन बनाए। कप्तान सेइ होपले ३२ रन बनाए। पहिलो विकेटका लागि सेई र रोस्टनले ६८ रनको साझेदारी बनाएका थिए। सिम्रन हेटमायर २७ रन बनाएर पेबिलियन फर्के। उनले दोस्रो विकेटका लागि रोस्टन चेजसँग ३४ रनको सानो साझेदारी बनाए। शेर्फान रुथर्फोड १४ रन बनाएर विकेटकिपर सन्जु सामसनको हातमा क्याच भए। पाँचौं विकेटका लागि रोभ्मन पावेल र जेसन होल्डरले ७६ रनको अविजित साझेदारी गरे। रोभ्मन पावेल ३४ र जेसन होल्डर ३७ रनमा अविजित रहे।
भारतका लागि बलिङतर्फ जसप्रीत बुमराहले २ विकेट लिए। हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए। सन् १९८३ यता इडन गार्डेनमा खेलेका खेलहरूमा वेस्ट इन्डिजले भारतलाई कुनै पनि अन्तर्राष्ट्रिय खेलहरूमा हराउन सकेको छैन। आज यही मैदानमा पुन भारतले वेस्ट इन्डिजलाई हराएको छ।
यो खेल सकिएसँगै आइसिसी टी २० विश्वकप २०२६ को सुपर ८ का खेलहरू सकिएका छन्। आइसीसी टी २० विश्वकप २०२६ को फाइनल खेल मार्च ८ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस !