जेन–जी पुस्तासँग बहस
करिब तीन दशकदेखि लगातार मैले रेडियोमार्फत युवा, नवयुवाको मन–मनको कुरा खोतलेँ। विश्वभर जहाँ रहेका नेपालीले समेत आफ्ना भावना साटासाट गरेको पाएँ। अब रेडियोबाट मात्र नभई छापा र अनलाइनमार्फत समेत यो पुस्तासँग म जोडिँदै छु।
सुरु गरौं, सानो कथाको प्रसंगबाट। गाउँमा अचानक हमला भएछ। शत्रुहरूले पूरै गाउँ कब्जा गरेछन्। मानिसहरूको भागाभाग चलेछ। त्यही बीचमा गाउँका एकजना किसान भाग्न खोज्दा आफूले घरमा पालेको जनावर गधाको माया लागेछ र त्यसलाई खोज्न ऊ गाउँ वरिपरि दौड्दै शत्रुहरूको आँखा छल्दै घुम्न थालेछ। गाउँमा कतै नदेखेपछि उ खेतमा पुगेछ। गधा मज्जाले खेतमा चरिरहेको थियो। त्यो देख्नासाथ किसानले भनेछ, ‘ए तँ यहाँ के गर्दैछस् ? उता हाम्रो गाउँमा आक्रमण भयो। भागाभाग भइरहेको छ। म तलाई लिन आएको! हिँड छिटो!’ ‘तिनीहरूले गाउँ–गाउँमा हमला गरेर मलाई के फरक पर्छ र मालिक ?’ गधाले प्रश्न गर्दै फेरि भनेछ, ‘तिनीहरूले पूरै गाउँ त के पूरै देश कब्जा गरे पनि के नै गर्छन् र मलाई ?’ ल मलाई के फरक पर्छ र!’ गधाले जवाफ फर्काउँदै भन्यो, ‘तिमीले पनि त्यही गथ्र्यो। मलाई भारी बोकाउँथ्यौ। बोकेन भने पिट्थ्यौ। तिनीहरूले पनि त्यही गर्ने त हुन नि! तिमी र तिनीहरूमा केही फरक छैन। तिमी जाऊ। मलाई तिमी भए पनि, तिम्रा दुस्मन भए पनि ममाथि गरिने व्यवहार एउटै हो।
देशभरि चुनावको माहोल चलिरहेको बेला मेरो दिमागमा यो कथा कुनै चलचित्रको रिलजस्तै बारम्बार घुमिरहेको छ। के हामी जनता साँच्चिकै त्यही गधा हो त ? हरेक चुनावरूपी हमलामा हामीले भोग्ने नियति यही हो त ? आउनुहोस्, यसबारे थोरै चर्चा गरौं।
हामीले सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि देशका राजनीतिक दलहरू, ती दलका संगठनहरू वा स्वतन्त्र रूपमा काम गरिरहेका अन्य संस्थाहरू अनि तिनका विधानहरू, नियमहरू आफैंमा नराम्रा हुँदैनन्। अझ, प्रजातान्त्रिक मुलुकहरूमा ती दलहरू, संगठनहरू र ती संस्थाहरू कसैको पेवा हुँदैनन्। बहुमतद्वारा छनौट गरिएका वा सर्वसम्मत भएका व्यक्तिहरू नै त्यसको प्रमुख हुन पुग्छन्। यसरी चुनाव भएर माथिल्लो तहमा पुगेका व्यक्तिहरू असल नै हुन्छन् भन्न सकिँदैन। पदमा पुगेपछि तिनीहरू खराब पनि हुन सक्छन्। एउटा असल राजनीतिक दल निर्माण हुन, दिन, साता, महिना मात्र होइन, दशकौं लाग्न सक्छ। तर, हामी भने दलमा भएका कुनै व्यक्तिलाई निशाना बनाएर पूरै दलमाथि प्रहार गर्छौं, मानौं, त्यो दल कुनै प्राइभेट कम्पनी हो र ती प्रमुखहरू त्यसका मालिक हुन्।
अहिलेका जेन–जी वा नवयुवा सबैले बुझ्नुपर्ने कुरा दलका नेतृत्वलाई फेरबदल गर्न सकिन्छ। तिनीहरूलाई परिवर्तन गर्न सकिन्छ। तिनीहरूलाई हटाउन सक्ने उपाय र पद्धतिहरू पनि छन्। तिनका विधान नीति, नियम परिवर्तन गर्न सकिन्छ। तिनका कमीकमजोरीहरूलाई हटाउन सकिन्छ भन्ने चेतबाट हामी बाहिर बस्नु हुँदैन।
प्रजातान्त्रिक पद्धतिले दिएको यो सुन्दर विचारबाट हामी कहिल्यै पन्छिनु हुँदैन। हो, अधिकार प्राप्त गर्नमा अझै संघर्ष गर्नुपर्छ। अधिकारहरू सजिलै प्राप्त हुँदैनन्। तर, संसारमा अझै पनि यस्ता देशहरू छन्, जहाँ मानिसहरू चोकमा निस्किएर त्यहाँका प्रमुखलाई विरोधसम्म गर्न पाउँदैनन्। त्यसो गर्यो भने तिनीहरू जेल जान्छन् वा सजायको भागेदार हुन्छन्। तर, हामी एक स्वतन्त्र पर्याप्त अधिकार पाएकै देशमा छौं, जहाँ विरोध गर्नलाई, बोल्नलाई कसैले रोक्दैन। र, हामीले यो उपलब्धिलाई बचाइराख्नुपर्छ।
जसरी एउटा घर निर्माण गर्दा इँटा, बालुवा सिमेन्ट वा जेसुकै होस्, त्यसको तहतह मिलेर घर निर्माण हुन्छ। त्यो घर सिंहदरबार पनि हुनुसक्छ। देशभित्रका संगठनहरूको निर्माण प्रक्रिया पनि त्यस्तै हो।
त्याग, बलिदान र योगदानबाट बनेका ती कुराहरूलाई हामीले इतिहासको रूपमा पढ्छौं। त्यसकारण हामीले हाम्रो इतिहास पनि बिर्सनु हुँदैन। भर्खरै भएको जेन–जी आन्दोलनमा मारिएका हाम्रा भाइबहिनीहरू वा साथीहरूलाई स–सम्मान स्मरण गर्दै इतिहासतिर फर्केर हेरौं न– त्यो १९९७ सालको माघ महिनाको जाडो।
दरबार हाइस्कुलबाट १९९४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेको प्रतिभाशाली केटोलाई सहिद दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट निकालेर काठमाडौंको शोभा भगवतीमा लगेर गोली हानेर मारियो। मात्र २२–२३ वर्षको ती युवाको घरमा आमा बन्न लागेकी श्रीमती थिइन्। कतै श्रीमतीको मायाले माफी मागिहाल्छ कि ? भनेर उसलाई माघ महिनाको जाडोमा राति उसको घरको बाटो हुँदै लगिएको थियो। तर, त्यो २२–२३ वर्षका युवाले माफी मागेनन्। उसको कसुर थियो, इन्द्रचोकको सभामा राणा शासनविरुद्ध बोल्यो, किन ? यो इतिहासको गर्भमा बसेको त्यो मृत्युलाई पनि हामीले अहिलेको जेन–जी आन्दोलनसँग जोडेर विश्लेषण गर्नुपर्छ। यस्ता घटनाहरू इतिहासमा थुप्रै छन्। तिनीहरूलाई बिर्सनु हुँदैन।
तिनकै लिगेसीमा निर्माण भएका प्रजातान्त्रिक संस्थाहरू र राजनीतिक दलहरूका खराब पक्षलाई बदलौं। नयाँ सोचमा रूपान्तरण गरौं। र, देशलाई विकास र आधुनिकीकरण गर्ने यही मौकामा भोटको सही ठाउँमा सदुपयोग गरौं। नयाँ दलहरू नराम्रा हुँदैनन्। तिनीहरूमा जोश हुन्छ, परिवर्तनका संवाहक हुन सक्छन् तिनीहरू। तर, त्यतिले मात्र पुग्दैन। तिनीहरूलाई तिनका एजेन्डाको बारेमा सोधौं। तिनीहरूलाई बहसमा उतारौं। तिनका एजेन्डाहरू देश, माटो सुहाउँदो छ कि छैन भनेर सोधौं, बुझौं। नभए सुहाउँदो बनाउने जिम्मेवारी पनि हाम्रै हो। किनभने हरेक चम्कने वस्तु हीरा नै हुन्छ भन्ने ग्यारेन्टी केही हुँदैन। नयाँले समेत कमीकमजोरी सच्याउने मौका पाउनुपर्छ। त्यसका लागि पनि आवाज उठाउनुपर्छ। त्यसैले मनन गरेर भोट हाल्ने बेला आएको छ। नभए फेरि त्यही किसान र गधाको कथा दोहोरिन सक्छ। अब यसलाई दोहोरिन नदेऔं।
प्रतिक्रिया दिनुहोस !