ब्रेन ड्रेनबाट ब्रेन ग्रेनसम्म

ब्रेन ड्रेनबाट ब्रेन ग्रेनसम्म
सुन्नुहोस्

लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको ‘मदन’ पात्र ल्हासा कमाउन जानु एउटा पारिवारिक वियोगको कथा थियो । तर आज त्यो कथा केवल साहित्यमा सीमित छैन; यो हरेक नेपाली घरको कहालीलाग्दो यथार्थ बनेको छ । फरक यति हो, हिजोको ‘ल्हासा’ आज खाडीका मरुभूमि, युरोपका खेत र अमेरिकाका सडकमा फेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ बाहिरिने हजारौँ युवाको ताँतीले एउटै प्रश्न गरिरहेको छ जस्तो लाग्छ,  ‘नेपाल युवाविहीन बन्दै गएको त होइन ?’

देशको सबैभन्दा ठूलो शक्ति भनेको यसको युवा जनशक्ति हो, तर विडम्बना यही शक्ति दिनहुँ देश छाडेर बाहिरिइरहेको छ । जोश, जाँगर र नयाँ सोच बोकेका युवाहरू नै देश विकासका मेरुदण्ड हुन् । तर आज यही वर्ग अवसरको खोजीमा परदेशिन बाध्य छ । देश विकासको मुख्य आधार मानिने ऊर्जाशील, जोशपूर्ण र नवीन सोच बोकेका युवाहरू नै देश छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ । देश विकासका मेरुदण्ड मानिने युवाहरू आज आफ्नै माटोमा भविष्य नदेखेर पराई भूमिमा पसिना बगाउन बाध्य हुनु राष्ट्रीय स्वाभिमानका लागि समेत लज्जास्पद विषय हो ।

नेपालमा अहिले १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको करिब ६१.९६ प्रतिशत छ । यो भनेको नेपालले जनसाङ्ख्यिक लाभ लिनुपर्ने स्वर्ण युग हो । तर, विडम्बना ! वर्षेनी औसतमा ८ लाख युवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् । तथ्याङ्कअनुसार देशको कुल युवा जनशक्तिका ८० प्रतिशत हिस्सा आज देशबाहिर छ ।

अझ दुखद पक्ष त के छ भने, १२ कक्षा पास गर्नेबित्तिकै वैदेशिक अध्ययन वा रोजगारीका लागि राहदानी बनाउनु नेपाली युवा र अभिभावकको बाध्यकारी ‘लक्ष्य’ बनेको छ । नेपालका गाउँ-बस्तीहरू आज विदेशका लागि जनशक्ति उत्पादन गर्ने कारखाना जस्ता भएका छन्, जहाँ केवल वृद्धवृद्धा र बालबालिका मात्र बाँकी छन् ।

विदेशबाट युवाहरुले पठाएको रेमिट्यान्सले नेपालमा घरपरिवार चलेकाछन् । देश चलेको छ । रेमिट्यान्सले देश धानेको सत्य हो । रेमिट्यान्सको चमकमा छोपिएको अर्को गम्भीर समस्या छ । युवा पलायनले सिर्जना गरिरहेको सामाजिक-सांस्कृतिक विग्रह तथा विचलनको पक्षलाई बेवास्ता गर्न सकिन्न । अत्यधिक युवा पलायनले नेपाली समाजमा पारिवारिक विखण्डन, सम्बन्ध विच्छेद र मानसिक स्वास्थ्य समस्या बढाएको छ ।

रेमिट्यान्सको अधिकांश रकम दैनिक उपभोग र घरजग्गामा खर्च हुन्छ, उत्पादनमूलक लगानीमा रूपान्तरण हुन सकेको छैन । यसले एकपछि अर्को पुस्ता पनि पलायनमा बाध्य हुने चक्र चलिरहेको छ । युवाशक्तिको यो पलायनलाई खोलाले खेतको मलिलो माटो बगाएजस्तै मान्न सकिन्छ । गाउँघरका खेतबारी बाँझो छन्, खाद्यान्न उत्पादन घट्दैछ । गाउँमा युवा होइन, बालबालिका र वृद्धहरू मात्र छन् । 
विदेशका लागि श्रमशक्ति उत्पादन गर्ने कारखाना जस्तो बनेको नेपालको अवस्था कति चिन्ताजनक छ भने ६० लाखभन्दा बढी नेपाली युवा विदेशमा छन् । श्रम बजारमा वार्षिक ५ लाखभन्दा बढी युवा प्रवेश गर्छन्, तर अधिकांश विदेश पलायन हुन्छन् ।

युवाशक्ति बाहिरिँदा गाउँ र साना शहरहरूमा जनसंख्या घट्दै गएका छन् । किसान, व्यवसायी र सामाजिक संरचना कमजोर हुँदै गएको छ । बहुसंख्यक घरमा आमाबुबा वैदेशिक रोजगारीमा छन्, जसले बालबालिकालाई असुरक्षित र भावनात्मक रूपमा प्रभावित बनाइरहेको छ । बालबालिकाहरु आमाबुबा बिना नै हुर्किन अभिसप्त भएकाछन् । घरका जेष्ठ सदस्यहरू वृद्धावस्थामा एक्लो बस्न बाध्य छन्, पारिवारिक संरचना कमजोर हुँदै गएको छ । गाउँ–समुदायको सामुदायिक जीवन कमजोर र कठिन बन्न पुगेको छ ।

विश्व बजारमा मानिस पनि “वस्तु” जस्तै भएको छ । खुला अर्थतन्त्रले श्रमको आयात–निर्यातलाई सहज बनाएको भए पनि आफ्नो ऊर्जाशील जनशक्तिलाई सधैं निर्यात गरेर मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्दैन । विकसित राष्ट्रहरू आज शक्तिशाली बनेका छन् भने त्यो त्यहाँका युवाको सिर्जनशीलता, परिश्रम र समर्पणकै कारण हो ।

यदि यही अवस्था आगामी केही वर्षसम्म निरन्तर रह्यो भने नेपालमा साना–ठूला सबै क्षेत्रमा जनशक्तिको अभाव हुनेछ । उत्पादन घट्नेछ, व्यवसाय चौपट हुनेछ, र देश झन् बढी आयातमा निर्भर हुनेछ । विदेशबाट थाकेर, ढल्दो उमेरमा फर्किने नागरिकका लागि स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यले ठूलो भार वहन गर्नुपर्ने अवस्था आउनेछ ।

समाधानका उपायहरू
पलायन जस्तो ठूलो राष्ट्रिय मुद्दा राजनीतिक दलहरुको न्यून प्राथमिकतामा परेको छ । राजनीतिक दलहरूले युवा पलायनलाई केवल ‘रोजगारी सिर्जना’ को नारा बनाएर टार्ने गरेका छन् तर रोजगारी कसरि सिर्जना गर्ने ? रोजगारी सिर्जना गर्नका लागि लगानी कसरी गर्ने ? सिप, प्रविधि, लगानी कहाँबाट ल्याउने जस्ता व्यावहारिक समाधानको कुनै ठोस योजना दलहरुसँग देखिँदैन । पलायन जस्तो ठूलो राष्ट्रिय मुद्दा चुनावी प्राथमिकतामा निकै पछाडि परेको छ । नेपालका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन जत्तिकै महत्वपूर्ण मुद्धा हो पलायन ।  रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनको योजना बर्नाइरहँदा यी नीतिहरूले देशमा रोजगारी र अवसर कसरी सिर्जना गर्छन भन्ने कुरा प्रष्ट्याउनुपर्छ ।

कृषि, कृषि-आधारित उद्योग, पर्यटन, सूचना प्रविधि, सेवा क्षेत्रलाई राष्ट्रिय नीति अनुसार सुदृढ पार्नुपर्छ । साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, कर छुट तथा लगानी अवसर उपलब्ध गराउनतर्फ केन्द्रित हुनुपर्छ । देशभित्र उच्च गुणस्तरीय विश्वविद्यालयहरू र व्यावसायिक तालिम केन्द्रहरू स्थापना गरिनुपर्छ । रोजगारसँग जोडिएको शिक्षा प्रणाली निर्माण गरी युवालाई सीपयुक्त बनाउनु ।

स्थानीय उद्योगलाई मात्र कर छुट होइन, युवालाई स्टार्टअप, उद्यम, नवप्रवर्तन र ग्रामीण रोजगारीको अवसर उपलब्ध गराउनु । राजनीतिक दलहरुले गैर आवासीय नेपाली(एनआरएन)बाट लगानी, अनुभव, लगानी ल्याउने योजना बनाउनै पर्छ । एनआरएन मार्फत सिप, प्रविधि र वैदेशिक लगानी भित्र्याउने योजना हर एक दलसंग हुनुपर्छ । तालिम, प्रविधि साझेदारी, र स्थानीय उद्योग विकासमा एनआरएनहरूको सहयोगलाई व्यवस्थित रूपमा समायोजन गर्नुपर्छ ।

सीप विकास र उद्यमशीलताः विदेशमा सिकेका सीपलाई नेपालमा प्रमाणीकरण, सस्तो ऋण, अनुदान । ‘रिटर्नी युवा उद्यमशीलता कोष’ स्थापना गर्ने काम गर्नुपर्छ । सुशासन र भ्रष्टाचार नियन्त्रणः युवाले देशमा बस्न ‘आशा’ चाहिन्छ । भ्रष्टाचार घटाएर न्याय, सुरक्षा र अवसर सुनिश्चित गर्ने । एकपटकको नेपाली सधैंको नेपाली नारामा मात्र नभई व्यवहारमै लागू हुनेगरी नेपाल फर्किने युवालाई कर छुट, जग्गा-घर ऋणमा सहुलियत, व्यवसायमा प्राथमिकता दिएर ‘फर्किउँ नेपाल, बनाउँ नेपाल’ अभियान सुरु गर्ने ।

नेपाललाई सबल, समृद्ध बनाउनका लागि एनआरएन नेपालका राजनीतिक दल र सरकारसँग मिलेर ब्रेन ड्रेनबाट ब्रेन गेनको काममा सक्रिय हुन सक्छ । एनआरएनलाई नेपालका उत्पादनमूलक उद्योग र जलविद्युतमा सामूहिक लगानी बढाउन प्रोत्साहित गर्नुपर्छ । एनआरएनले विदेशमा सिकेको आधुनिक प्रविधि र कार्यसंस्कृति नेपालका युवाहरूलाई सिकाउने ‘मेन्टरसीप’ कार्यक्रमहरू सञ्चालन गर्न सकिनछ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन एनआरएनहरूले सेतुको काम गर्न सक्छन् ।

गैर आवासीय नेपालीलाई सबैले देशको आर्थिक रूपान्तरणको एक प्रमुख आधार त भन्छन् । तर त्यस अनुसार प्रयोग भने गर्दैनन । वा त्यस अुनसार काम गर्ने नीतिगत र कानूनी बाटो भने तयार गरिदिदैंनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले त एनआरएनलनई मताधिकार पनि दिने वाचा गरेको छ ।  एनआरआरएनलाई नेप्सेमा कारोबार गर्न दिने, एनआरएनको पुँजी र ज्ञानलाई नेपालका विभिन्न क्षेत्रमा प्रयोग गर्ने नीतिगत र कानुनी बाटो खोल्न ढिला भईसकेको छ ।

विदेशमा रहेका युवाको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न ‘ब्रेन गेन सेन्टर’ बनाउन ढिलाई गर्नुहुन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप र अनुभवको आधारमा स्वदेशमै उद्यम सुरु गर्न पुँजी र प्रविधिको पहुँच सुनिश्चित गर्ने प्रष्ट खाका चाहिन्छ । 

गैर आवासीय नेपालीले नेपालमा भोग्ने अनेक कानुनी प्रशासनिक झमेला समाप्त गर्नेगरी एकिकृत कानून बनाईनुपर्छ । विदेशमा रहेका नेपालीले आफ्नो गाउँठाउँको विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न मिल्ने एकिकृत सकारी परियोजना चाहिन्छ । यस्ता अभ्यासले विदेशमा रहेका नेपालीलाई नेपालप्रतिको आफ्नो थप जिम्मेवारी बोध गराउँछ ।

युवा पलायन रोक्नु भनेको देश बचाउनु हो । राजनीतिक दलहरूले राष्ट्रिय एकता र दीर्घकालीन सोचले काम गरेमा यो समस्या समाधान हुन्छ । युवाहरूले पनि ‘देशमा केही गर्न सकिन्छ’ भन्ने विश्वास गर्नुपर्छ । नेपालमा बस्ने, नेपालमा कमाउने, नेपालमा सपना देख्ने युवा पुस्ता नै राष्ट्रको भविष्य हो । पलायन होइन, राष्ट्र निर्माण नै हाम्रो राष्ट्रिय मुद्दा बनोस् । पलायन रहर होइन, बाध्यता हो । तर यो बाध्यतालाई अवसरमा बदल्ने बेला घर्किसकेको छ । यदि अहिले पनि राज्यले ठोस कदम चालेन भने, भोलि हामीसँग ‘देश’ त होला, तर त्यो देश बनाउने ‘जनता’ र ‘युवा’ हुने छैनन् ।

(साह गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष हुन्)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.