ब्रेन ड्रेनबाट ब्रेन ग्रेनसम्म
लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको ‘मदन’ पात्र ल्हासा कमाउन जानु एउटा पारिवारिक वियोगको कथा थियो । तर आज त्यो कथा केवल साहित्यमा सीमित छैन; यो हरेक नेपाली घरको कहालीलाग्दो यथार्थ बनेको छ । फरक यति हो, हिजोको ‘ल्हासा’ आज खाडीका मरुभूमि, युरोपका खेत र अमेरिकाका सडकमा फेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ बाहिरिने हजारौँ युवाको ताँतीले एउटै प्रश्न गरिरहेको छ जस्तो लाग्छ, ‘नेपाल युवाविहीन बन्दै गएको त होइन ?’
देशको सबैभन्दा ठूलो शक्ति भनेको यसको युवा जनशक्ति हो, तर विडम्बना यही शक्ति दिनहुँ देश छाडेर बाहिरिइरहेको छ । जोश, जाँगर र नयाँ सोच बोकेका युवाहरू नै देश विकासका मेरुदण्ड हुन् । तर आज यही वर्ग अवसरको खोजीमा परदेशिन बाध्य छ । देश विकासको मुख्य आधार मानिने ऊर्जाशील, जोशपूर्ण र नवीन सोच बोकेका युवाहरू नै देश छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ । देश विकासका मेरुदण्ड मानिने युवाहरू आज आफ्नै माटोमा भविष्य नदेखेर पराई भूमिमा पसिना बगाउन बाध्य हुनु राष्ट्रीय स्वाभिमानका लागि समेत लज्जास्पद विषय हो ।
नेपालमा अहिले १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको करिब ६१.९६ प्रतिशत छ । यो भनेको नेपालले जनसाङ्ख्यिक लाभ लिनुपर्ने स्वर्ण युग हो । तर, विडम्बना ! वर्षेनी औसतमा ८ लाख युवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् । तथ्याङ्कअनुसार देशको कुल युवा जनशक्तिका ८० प्रतिशत हिस्सा आज देशबाहिर छ ।
अझ दुखद पक्ष त के छ भने, १२ कक्षा पास गर्नेबित्तिकै वैदेशिक अध्ययन वा रोजगारीका लागि राहदानी बनाउनु नेपाली युवा र अभिभावकको बाध्यकारी ‘लक्ष्य’ बनेको छ । नेपालका गाउँ-बस्तीहरू आज विदेशका लागि जनशक्ति उत्पादन गर्ने कारखाना जस्ता भएका छन्, जहाँ केवल वृद्धवृद्धा र बालबालिका मात्र बाँकी छन् ।
विदेशबाट युवाहरुले पठाएको रेमिट्यान्सले नेपालमा घरपरिवार चलेकाछन् । देश चलेको छ । रेमिट्यान्सले देश धानेको सत्य हो । रेमिट्यान्सको चमकमा छोपिएको अर्को गम्भीर समस्या छ । युवा पलायनले सिर्जना गरिरहेको सामाजिक-सांस्कृतिक विग्रह तथा विचलनको पक्षलाई बेवास्ता गर्न सकिन्न । अत्यधिक युवा पलायनले नेपाली समाजमा पारिवारिक विखण्डन, सम्बन्ध विच्छेद र मानसिक स्वास्थ्य समस्या बढाएको छ ।
रेमिट्यान्सको अधिकांश रकम दैनिक उपभोग र घरजग्गामा खर्च हुन्छ, उत्पादनमूलक लगानीमा रूपान्तरण हुन सकेको छैन । यसले एकपछि अर्को पुस्ता पनि पलायनमा बाध्य हुने चक्र चलिरहेको छ । युवाशक्तिको यो पलायनलाई खोलाले खेतको मलिलो माटो बगाएजस्तै मान्न सकिन्छ । गाउँघरका खेतबारी बाँझो छन्, खाद्यान्न उत्पादन घट्दैछ । गाउँमा युवा होइन, बालबालिका र वृद्धहरू मात्र छन् ।
विदेशका लागि श्रमशक्ति उत्पादन गर्ने कारखाना जस्तो बनेको नेपालको अवस्था कति चिन्ताजनक छ भने ६० लाखभन्दा बढी नेपाली युवा विदेशमा छन् । श्रम बजारमा वार्षिक ५ लाखभन्दा बढी युवा प्रवेश गर्छन्, तर अधिकांश विदेश पलायन हुन्छन् ।
युवाशक्ति बाहिरिँदा गाउँ र साना शहरहरूमा जनसंख्या घट्दै गएका छन् । किसान, व्यवसायी र सामाजिक संरचना कमजोर हुँदै गएको छ । बहुसंख्यक घरमा आमाबुबा वैदेशिक रोजगारीमा छन्, जसले बालबालिकालाई असुरक्षित र भावनात्मक रूपमा प्रभावित बनाइरहेको छ । बालबालिकाहरु आमाबुबा बिना नै हुर्किन अभिसप्त भएकाछन् । घरका जेष्ठ सदस्यहरू वृद्धावस्थामा एक्लो बस्न बाध्य छन्, पारिवारिक संरचना कमजोर हुँदै गएको छ । गाउँ–समुदायको सामुदायिक जीवन कमजोर र कठिन बन्न पुगेको छ ।
विश्व बजारमा मानिस पनि “वस्तु” जस्तै भएको छ । खुला अर्थतन्त्रले श्रमको आयात–निर्यातलाई सहज बनाएको भए पनि आफ्नो ऊर्जाशील जनशक्तिलाई सधैं निर्यात गरेर मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्दैन । विकसित राष्ट्रहरू आज शक्तिशाली बनेका छन् भने त्यो त्यहाँका युवाको सिर्जनशीलता, परिश्रम र समर्पणकै कारण हो ।
यदि यही अवस्था आगामी केही वर्षसम्म निरन्तर रह्यो भने नेपालमा साना–ठूला सबै क्षेत्रमा जनशक्तिको अभाव हुनेछ । उत्पादन घट्नेछ, व्यवसाय चौपट हुनेछ, र देश झन् बढी आयातमा निर्भर हुनेछ । विदेशबाट थाकेर, ढल्दो उमेरमा फर्किने नागरिकका लागि स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यले ठूलो भार वहन गर्नुपर्ने अवस्था आउनेछ ।
समाधानका उपायहरू
पलायन जस्तो ठूलो राष्ट्रिय मुद्दा राजनीतिक दलहरुको न्यून प्राथमिकतामा परेको छ । राजनीतिक दलहरूले युवा पलायनलाई केवल ‘रोजगारी सिर्जना’ को नारा बनाएर टार्ने गरेका छन् तर रोजगारी कसरि सिर्जना गर्ने ? रोजगारी सिर्जना गर्नका लागि लगानी कसरी गर्ने ? सिप, प्रविधि, लगानी कहाँबाट ल्याउने जस्ता व्यावहारिक समाधानको कुनै ठोस योजना दलहरुसँग देखिँदैन । पलायन जस्तो ठूलो राष्ट्रिय मुद्दा चुनावी प्राथमिकतामा निकै पछाडि परेको छ । नेपालका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन जत्तिकै महत्वपूर्ण मुद्धा हो पलायन । रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनको योजना बर्नाइरहँदा यी नीतिहरूले देशमा रोजगारी र अवसर कसरी सिर्जना गर्छन भन्ने कुरा प्रष्ट्याउनुपर्छ ।
कृषि, कृषि-आधारित उद्योग, पर्यटन, सूचना प्रविधि, सेवा क्षेत्रलाई राष्ट्रिय नीति अनुसार सुदृढ पार्नुपर्छ । साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, कर छुट तथा लगानी अवसर उपलब्ध गराउनतर्फ केन्द्रित हुनुपर्छ । देशभित्र उच्च गुणस्तरीय विश्वविद्यालयहरू र व्यावसायिक तालिम केन्द्रहरू स्थापना गरिनुपर्छ । रोजगारसँग जोडिएको शिक्षा प्रणाली निर्माण गरी युवालाई सीपयुक्त बनाउनु ।
स्थानीय उद्योगलाई मात्र कर छुट होइन, युवालाई स्टार्टअप, उद्यम, नवप्रवर्तन र ग्रामीण रोजगारीको अवसर उपलब्ध गराउनु । राजनीतिक दलहरुले गैर आवासीय नेपाली(एनआरएन)बाट लगानी, अनुभव, लगानी ल्याउने योजना बनाउनै पर्छ । एनआरएन मार्फत सिप, प्रविधि र वैदेशिक लगानी भित्र्याउने योजना हर एक दलसंग हुनुपर्छ । तालिम, प्रविधि साझेदारी, र स्थानीय उद्योग विकासमा एनआरएनहरूको सहयोगलाई व्यवस्थित रूपमा समायोजन गर्नुपर्छ ।
सीप विकास र उद्यमशीलताः विदेशमा सिकेका सीपलाई नेपालमा प्रमाणीकरण, सस्तो ऋण, अनुदान । ‘रिटर्नी युवा उद्यमशीलता कोष’ स्थापना गर्ने काम गर्नुपर्छ । सुशासन र भ्रष्टाचार नियन्त्रणः युवाले देशमा बस्न ‘आशा’ चाहिन्छ । भ्रष्टाचार घटाएर न्याय, सुरक्षा र अवसर सुनिश्चित गर्ने । एकपटकको नेपाली सधैंको नेपाली नारामा मात्र नभई व्यवहारमै लागू हुनेगरी नेपाल फर्किने युवालाई कर छुट, जग्गा-घर ऋणमा सहुलियत, व्यवसायमा प्राथमिकता दिएर ‘फर्किउँ नेपाल, बनाउँ नेपाल’ अभियान सुरु गर्ने ।
नेपाललाई सबल, समृद्ध बनाउनका लागि एनआरएन नेपालका राजनीतिक दल र सरकारसँग मिलेर ब्रेन ड्रेनबाट ब्रेन गेनको काममा सक्रिय हुन सक्छ । एनआरएनलाई नेपालका उत्पादनमूलक उद्योग र जलविद्युतमा सामूहिक लगानी बढाउन प्रोत्साहित गर्नुपर्छ । एनआरएनले विदेशमा सिकेको आधुनिक प्रविधि र कार्यसंस्कृति नेपालका युवाहरूलाई सिकाउने ‘मेन्टरसीप’ कार्यक्रमहरू सञ्चालन गर्न सकिनछ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन एनआरएनहरूले सेतुको काम गर्न सक्छन् ।
गैर आवासीय नेपालीलाई सबैले देशको आर्थिक रूपान्तरणको एक प्रमुख आधार त भन्छन् । तर त्यस अनुसार प्रयोग भने गर्दैनन । वा त्यस अुनसार काम गर्ने नीतिगत र कानूनी बाटो भने तयार गरिदिदैंनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले त एनआरएनलनई मताधिकार पनि दिने वाचा गरेको छ । एनआरआरएनलाई नेप्सेमा कारोबार गर्न दिने, एनआरएनको पुँजी र ज्ञानलाई नेपालका विभिन्न क्षेत्रमा प्रयोग गर्ने नीतिगत र कानुनी बाटो खोल्न ढिला भईसकेको छ ।
विदेशमा रहेका युवाको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न ‘ब्रेन गेन सेन्टर’ बनाउन ढिलाई गर्नुहुन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप र अनुभवको आधारमा स्वदेशमै उद्यम सुरु गर्न पुँजी र प्रविधिको पहुँच सुनिश्चित गर्ने प्रष्ट खाका चाहिन्छ ।
गैर आवासीय नेपालीले नेपालमा भोग्ने अनेक कानुनी प्रशासनिक झमेला समाप्त गर्नेगरी एकिकृत कानून बनाईनुपर्छ । विदेशमा रहेका नेपालीले आफ्नो गाउँठाउँको विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न मिल्ने एकिकृत सकारी परियोजना चाहिन्छ । यस्ता अभ्यासले विदेशमा रहेका नेपालीलाई नेपालप्रतिको आफ्नो थप जिम्मेवारी बोध गराउँछ ।
युवा पलायन रोक्नु भनेको देश बचाउनु हो । राजनीतिक दलहरूले राष्ट्रिय एकता र दीर्घकालीन सोचले काम गरेमा यो समस्या समाधान हुन्छ । युवाहरूले पनि ‘देशमा केही गर्न सकिन्छ’ भन्ने विश्वास गर्नुपर्छ । नेपालमा बस्ने, नेपालमा कमाउने, नेपालमा सपना देख्ने युवा पुस्ता नै राष्ट्रको भविष्य हो । पलायन होइन, राष्ट्र निर्माण नै हाम्रो राष्ट्रिय मुद्दा बनोस् । पलायन रहर होइन, बाध्यता हो । तर यो बाध्यतालाई अवसरमा बदल्ने बेला घर्किसकेको छ । यदि अहिले पनि राज्यले ठोस कदम चालेन भने, भोलि हामीसँग ‘देश’ त होला, तर त्यो देश बनाउने ‘जनता’ र ‘युवा’ हुने छैनन् ।
(साह गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस !