पेट्रोलको माग एक्कासी बढ्यो
काठमाडौं : काठमाडौं उपत्यकाका पेट्रोलियम पम्पहरूमा सोमबार होली पर्वको बिदाका दिन लाइन देखिएको छ। उपत्यकाका केही पेट्रोल पम्प बन्द पनि छन्। शनिबारबाट अमेरिका–इरान युद्ध सुरु भएसँगै पेट्रोल पम्पमा आइतबारबाट नै उपभोक्ताको लाइन बढेको छ। आइतबार सरदरभन्दा बढी खपत हुँदा केही पम्प खाली भएर पनि बन्द भएको हुन सक्ने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन्।
सार्वजनिक बिदा परेकोले र निर्वाचनमा उपत्यका छोड्ने कारणले पम्पमा लाइन भएको भनाइ निगमको छ। ‘प्रत्यक्ष रूपमा हामीलाई अहिलेको युद्धले फरक पारिसकेको छैन। नेपालमा भारतबाट मात्र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र ग्यास) आयात हुन्छ। इन्डियन आयल कर्पोरेसनले तेल अभाव नभएको र नेपाललाई तेल निर्यातमा रोक नलगाउने भनिसकेको छ। अहिलेको यो भिड निर्वाचनकै कारण हो,’ ठाकुरले अन्नपूर्णसँग भने। निगमले अनावश्यक रूपमा पेट्रोलियम पदार्थको बढी संचिति नगर्न पनि भनेको छ।
आइतबार मात्रै काठमाडौं उपत्यकामा पेट्रोल र डिजेल गरी १६ सय ५० किलोलिटर खपत भएको छ। शनिबारसम्म उपत्यकाको खपत करिब ८ सय किलोलिटर थियो। एकैदिन झन्डै दोब्बरले पेट्रोल र डिजेलको खपत बढेको छ। खपत बढेसँगै निगमले आइतबार नै १६ सय किलो लिटर पेट्रोल र १२ सय किलो लिटर डिजेल बजारमा पठाएको छ।
‘तर, उपभोक्तामा अब पेट्रोल पाइँदैन कि भन्ने आंशका बढेको छ। निगम के आश्वस्त पार्न चाहन्छ भने हाम्रो नियमित आपूर्ति भइरहेको छ। बाहिरको युद्धले कुनै समस्या छैन। त्यही भएर नआत्तिन अनुरोध गर्दछौं,’ ठाकुरले स्पष्ट पारे। भारतले विशेषतः रसिया (कुल आयातको करिब एकतिहाइ, इराक, साउदी अरेबिया, यूएई, कुवेत, अमेरिका, अर्जेन्टिनालगायत मुलुकबाट कच्चा तेल आयात गर्ने गर्छ। भारतले करिब ८५ प्रतिशत पेट्रोलियम पदार्थ अन्य देशबाट आयात गर्छ भने करिब १५ प्रतिशत आन्तरिक उत्पादन गर्छ।
मुलुकको दैनिक खपत करिब २ हजारदेखि २५ सय किलोलिटर पेट्रोल र ४ हजारदेखि ४५ सय किलो लिटर डिजेलको छ। २०७६ सालमा भारतले निर्माण गरिदिएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट दैनिक ६ हजारदेखि ७ हजार किलो लिटर आउँछ, जुन २४ सैं घन्टा आयात हुन्छ।
अहिले नेपालले देशभरि गरी करिब १ लाख २ हजार किलोलिटर पेट्रोल तथा डिजेलको भण्डारण गर्न सक्छ। तर, आइतबारको जस्तै खपत बढ्ने हो र भारतबाट आयात पनि ठप्प हुने हो भने करिब ३–४ दिनलाई पनि नपुग्ने सक्ने प्रवक्ता ठाकुर बताउँछन्। सरदर भण्डारणले बढीमा १० दिनसम्मको माग धान्ने निगमको तथ्यांक छ।
निगमको पेट्रोलियम पदार्थ आयातका लागि ७ प्रादेशिक, डिपो कार्यालय र शाखा कार्यालय गरी ७ रहेका छन्। निगमले पाइपलाइबाट नै विराटनगर, काठमाडौंसम्म पोखरासम्म तेल पुर्याउँछ भने अन्यमा अमलेखगन्चमा आएको तेललाई ट्रकमा लोड गरेर ढुवानी गर्दै आएको छ। हाल मुलुकभरि करिब २ हजार र काठमाडौंमा सप्लाइ गर्ने करिब १ सय ३४ पेट्रोल पम्प छन्।
आइतबार पम्पमा लाइन बढेपछि सोमबार निगमले उपत्यकाको बजार अनुगमन गरेको छ। आइतबारको भन्दा स्थिति सहज भएको र भिडभाड नभई सजिलै पेट्रोल पाइरहेको निगमका प्रवक्ता बताउँछन्। केही पेट्रोल पम्प आफूसँग तेल सकिएको र सार्वजनिक बिदाका कारण डिपोबाट ल्याउन नपाएर बन्द भएका उनको भनाइ। ‘सञ्चालित पम्पहरूको आ–आफ्नो क्षमता छm भण्डारणको। ल्याएको तेल सकिएपछि अर्को ल्याउनलाई समय लाग्छ। थानकोटबाट आउने हो, लोड हुनुपर्यो त्यसपछि आउनुपर्यो पम्पमा,’ उनले भने। मंगलबारबाट स्थिति थप सहज हुने उनको भनाइ छ।
थप २ पाइपलाइन निर्माणको चरणमा
भारत सरकारको अनुदानमा निर्माण सम्पन्न २०७६ सालमा मुलुकको पहिलो पाइपलाइन सञ्चालनमा आएको हो। मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर छ, जसमा नेपालतर्फ ३६ र भारततर्फ ३३ किलोमिटर रहेको छ। अहिले दैनिक करिब ७ हजार किलोलिटरसम्म तेल आयात भइरहेको छ। योसँगै सिलिगुडी–झापा र अमलेखगन्ज–चितवन पाइपलाइन निर्माणको चरणमा रहेको छ। भारतको अनुदानमा निर्माण हुन लागेका यी दुवै परियोजनाको ल्यान्ड फिलिङको काम भइरहेको प्रवक्ता ठाकुर बताउँछन्। करिब ४ वर्षमा आयोजना निर्माण सक्ने योजना छ।
अति भण्डारणले ग्यास अभाव
काठमाडौं उपत्यकामा करिब एक महिनादेखि भएको ग्यास अभाव अहिले पनि कायम नै छ। सम्बन्धित निकाय निगम ग्यास अभाव छैन, आपूर्ति कोटा बढाएका छौं भन्छ तर उपत्यकाका धेरै स्थानमा सहज रूपमा ग्यास पाउन सक्ने अवस्था छैन। आवश्यकताभन्दा अति भण्डारणले ग्यासको कृत्रिम अभाव भएको निगमको भनाइ छ। चाहिनेभन्दा बढी ग्यासको सञ्चितिले ग्यासको आपूर्ति शृंखलामा असर गरेको भन्दै निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आयात र बिक्री वितरणमा कुनै समस्या नभएको ठोकुवा गर्छन्।
इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातको लागि देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने परिमाण ४९ हजार ५ सय टन रहेको छ। सन् २०२५ को नोभेम्बर २०२५ मा ४७ हजार २ सय ६४ टन, डिसेम्बर २०२५ मा ४८ हजार ५ सय ३१ टन र जनवरी २०२६ मा ४७ हजार ३ सय ४ टन ग्यास भारतबाट आयात भएको छ।
अहिलेको मासिक खपत करिब ४६ हजार टन छ भने दैनिक खपत करिब १५ सय टन (७०–७५ बुलेट ग्यास) रहेको छ। नेपाल करिब १ करोड ७० लाख ग्यास सिलिन्डर छन्। आयात र खपतको परिमाणलाई दाँज्दा पनि ग्यास अभाव हुने देखिँदैन। बजारमा ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई मध्येनजर गरी निगमले फेब्रुअरी २०२६ का लागि साविकको परिमाणमा २ हजार टन थप गर्ने निर्णय गरि आयात बढाएको छ। अहिले मासिक ५१ हजार टन ग्यास आयात भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !