सर्वोच्चले सोध्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण
काठमाडौं : मेडिकल व्यवसायी एवं राष्ट्र ,राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण सरकारलाई सोधेको हो।
भक्तपुर निवासबाट पक्राउ परी पाँच दिन थुनामा बस्नुपर्ने भएपछि प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अधिवक्ता सुरेश बोहरामार्फत् प्रसाईंले बन्दीप्रत्यक्षीकरणको रिट दायर गराएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई रिटमा विपक्षी बनाइएको छ।
प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनी फागुन ४ गते पक्राउ परेका थिए। फागुन १२ गते सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए। रिहाइ भएको एक हप्ता नबित्दै प्रसाईंलाई फागुन १७ गते प्रहरीले फेरि नियन्त्रणमा लिएको हो।
निर्वाचनको समय नजिक भइरहेको बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। जनताको सिंहदरबार,अदालत,प्रहरी हेडक्वाटर विदेशी षड्यन्त्रमा जलाइएको आरोप लगाउँदै उनले आमहड्ताल गर्दै बन्दको घोषणा पनि गरेका थिए।
प्रतिक्रिया दिनुहोस !