इरानलाई साथ दिँदै चीन, विदेश मन्त्री यीले समकक्षीसँग गरे छलफल
काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यी र इरानका विदेश मन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता भएको छ। सोमबार भएको उक्त वार्तामा चिनियाँ विदेश मन्त्री यीले इरानमा जारी सैन्य संघर्षको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
चिनियाँ विदेश मन्त्रालयका अनुसार अमेरिकाले वार्ताकै क्रममा दोस्रो पटक इरानमाथि आक्रमण गरेको छ। 'अमेरिकाको कदम अन्तर्राष्ट्रिय कानुनविरुद्ध छ। अब इरानसँग आफ्नो रक्षा गर्नुबाहेक अर्को विकल्प छैन,' इरानी विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।
विदेश मन्त्री यीका अनुसार चीनले इरानसँगको पुरानो मित्रतालाई महत्वका साथ हेरेका छन्। 'इरानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय सम्मानको रक्षा गर्न गरेको प्रयासमा समर्थन गर्छ। चीनले इरानका वैध र कानुनी अधिकारको पनि समर्थन गर्दछ,' उनले भनेका छन्।
उनले थपे, 'तनाव थप नबढोस् र संघर्ष सम्पूर्ण मध्यपूर्व क्षेत्रमा नफैलियोस् भन्ने उद्देश्यले चीनले अमेरिका र इजरायलसँग तत्काल सैन्य कारबाही रोक्न अपिल गरेको छ।'
प्रतिक्रिया दिनुहोस !