बारामा चार लाख ६६ हजार मतदाता, साढे ६ हजार सुरक्षाकर्मी

बारामा चार लाख ६६ हजार मतदाता, साढे ६ हजार सुरक्षाकर्मी
सुन्नुहोस्

सिमराः बारामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पूरा भएको छ। जिल्लाको चारवटै निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। 

बाराको क्षेत्र नं. १ को कोल्हबी, क्षेत्र नं. २ को बरियारपुर, क्षेत्र नं. ३ को कलैया र क्षेत्र नं. ४ को जीतपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारी थालिएको थियो। झण्डै दुई महिनाको तयारीपछि चार वटै निर्वाचन क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी चुनावी सामग्रीसहित पुगिसकेका छन्। 

बाराको १६ वटा स्थानीय तहमा रहेको तीन सय पाँच मतदानस्थल र पाँच सय ८७ मतदान केन्द्र छन्। उक्त मतदान केन्द्रमा भयरहित वातावरणमा निर्वाचन गराउनका लागि झण्डै साढे ६ हजार सुरक्षाकर्मी र साढे तीन हजार कर्मचारी खटाइएको छ। 

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारी खटाइएको बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन्। मतदान केन्द्रको संवेदनशीलता हेरेर सोही अनुसार सुरक्षाकर्मी पनि खटाइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितको भनाइ छ। ‘सबै मतदान केन्द्रलाई सुरक्षाका हिसाबले वर्गीकरण गरेका छौं। सोही अनुसार प्रहरी खटाएका छौं’ प्रवक्ता पण्डितले भने ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ।’ 

जिल्लाको पाँच सय ८७ मतदान केन्द्रमध्ये एक सय ४५ केन्द्र अति संवेदनशील, एक सय आठ केन्द्र संवेदनशील र ५२ केन्द्र सामान्य अवस्थाका छन्। वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन प्रवक्ता पण्डितले अनुरोध गरेका छन्।  

निर्वाचनका लागि नेपाल प्रहरीतर्फबाट एक हजार ६ सय जनशक्ति परिचालित हुँदैछ। यसैगरी सशस्त्र प्रहरी बलबाट एक हजार दुई सय, नेपाली सेनाको आठ सय र राष्ट्रिय अनुसन्धानबाट ३५ जनाको सुरक्षा दस्ता निर्वाचनमा खटिँदै छन्। निर्वाचन प्रहरीतर्फ नेपाल प्रहरीतर्फका दुई हजार ६ सय ३८ र सशस्त्र प्रहरीतर्फका तीन सय ९८ जना खटिएका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले मतदान केन्द्रको सुरक्षा गर्नुका साथै भिडभाड, एकान्त, बजार, सीमा नाका लगायत क्षेत्रमा केही दिनयता नियमित गस्ती गरिरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि जिल्लाभित्रको सुरक्षा निकाय गम्भीरतापूर्वक सक्रिय रहेको प्रहरी प्रवक्ता पण्डितले बताएका छन्। 

आगामी निर्वाचनमा जिल्लाभर चार लाख ६५ हजार सात सय ८४ मतदाता सहभागी हुँदैछन्। तीमध्ये दुई लाख ५५ हजार सात सय ६३ जना पुरुष, दुई लाख १० हजार ९ जना महिला र १२ जना तेस्रो लिङ्गी रहेका छन्। चार वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी एक सय १० जना उम्मेदवार चुनावी मैदानमा छन्। बाराको क्षेत्र नं. १ मा एक लाख २३ हजार ९ सय ८५, क्षेत्र नं. २ मा एक लाख १३ हजार आठ सय ३९, क्षेत्र नं. ३ मा एक लाख १३ हजार पाँच सय २१ र क्षेत्र नं. ४ मा एक लाख १४ हजार चार सय २९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नविन चौधरीले जानकारी दिएका छन्। 

चौधरीका अनुसार बारा क्षेत्र नं. १ मा एक लाख २३ हजार ९ सय ८५ मतदातामध्ये ६६ हजार चार सय २३ जना पुरुष, ५७ हजार पाँच सय ५८ जना महिला र चार जना तेस्रो लिङ्गी छन्। यस क्षेत्रमा १३ राजनीतिक दल र सात स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन्। 

यसैगरी बारा क्षेत्र नं. २ मा ६३ हजार ९ सय ९४ जना पुरुष र ४९ हजार आठ सय ४५ जना महिला गरी एक लाख १३ हजार आठ सय ३९ मतदाता रहेका छन्। यस क्षेत्रमा राजनीतिक दलका १६ र स्वतन्त्रका १३ गरी २९ उम्मेदवार छन्। 

बारा क्षेत्र नं. ३ मा एक लाख १३ हजार पाँच सय २१ मतदाता छन्। मतदातामध्ये ६२ हजार दुई सय ५३ जना पुरुष, ५१ हजार पाँच सय ६६ जना महिला र दुई जना तेस्रो लिङ्गी छन्। यस क्षेत्रमा राजनीतिक दलका १६ र स्वतन्त्रका आठ उम्मेदवार छन्। बारा क्षेत्र नं. ४ मा भने एक लाख १४ हजार चार सय २९ मतदाता छन्। जसमध्ये ६३ हजार ९३ जना पुरुष, ५१ हजार तीन सय ४० जना महिला र ६ जना तेस्रो लिङ्गी छन्। यस क्षेत्रमा राजनीतिक दलका १८ र स्वतन्त्रका १९ गरी ३७ जना उम्मेदवार छन्।

निर्वाचनका लागि बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। अधिकारीले बारा क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको जिम्मेवारी समेत सम्हाल्नेछन्। यसैगरी बारा क्षेत्र नं. १ मा जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, क्षेत्र नं. २ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार किरणकुमार सिंह, र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत घिमिरे निर्वाचन अधिकृत छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.