युद्ध त्रास र पेट्रोलियम खपत
मध्यपूर्वमा युद्धको त्रासदी भएपछि विश्वमै पेट्रोलियम पदार्थको भाउ बढ्ने आशंका छ । यही आशंकाका बीच नेपालमा पेट्रोलियम पदार्थको खपत बढेको छ । अर्थात् अभाव हुन सक्ने भयका कारण मानिसहरूले अनावश्यक भण्डारण गर्न थालेका छन् । त्यसो त संसारमा सत्यको भन्दा हल्लाकै गति बढी हुन्छ । अहिले पनि हल्लैहल्लाले पेट्रोलियम पदार्थको अनावश्यक खपत बढेको छ । भण्डारण पनि भइरहेको छ ।
नेपाल आयल निगमले पर्याप्त आपूर्ति र भण्डारण रहेको बताइरहेकै छ । तर उपभोक्ता स्वयं भने थुपारेर राख्नै व्यस्त देखिन्छन् । त्यो प्रवृत्तिले आपूर्ति प्रणालीलाई बिगारेको छ । वास्तवमा पेट्रोलियम पदार्थ आफैंमा जोखिमपूर्ण र अत्यन्त प्रज्ज्वलनशील पदार्थ हो । यसको भण्डारण गरी राख्नु घरघरमा पेट्रोल बम राख्नु सरह हो ।
नेपालमा भारतबाट आयात हुन्छ तेल र खाना पकाउने ग्यास । भारतले पनि इरानबाट तेल किन्दैन । तसर्थ युद्धमा होमिएको इरानबाट आपूर्ति हुने नहुने कुराले भारतमा फरक पर्दैन । अर्थात् नेपालमा पनि असर गर्दैन । भारतले त रुसलगायत देशबाट ठूलो मात्रामा तेल आपूर्ति गर्छ । अर्काे कुरा विश्व तेल बजारकै २० देखि ३० प्रतिशत हिस्सा ओगट्ने तेल ओसारपसारको बाटो हर्मज भनिने समुद्री बाटो पनि भारतले तेल ल्याउने होइन । हर्मज भनेको इरानकै भूमिनजिक छ र यसलाई उसले रोक्छ कि भन्ने त्रास पनि छ । त्यसले भारतमा तेल आउन रोकिन्न । तसर्थ नेपालमा पनि आयात घट्दैन भनेर विश्वस्त हुन जरुरी छ । भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट नेपालमा दैनिक ६ हजार किलोलिटरभन्दा बढी तेल आउँछ । त्यसैले आपूर्ति ठप्प हुने सम्भावना न्यून छ ।
भारतले नेपाललाई तेल रोक्ने कुनै संकेत गरेको छैन । इन्डियन आयल कर्पोरेसनले आपूर्तिको पूर्ण सुनिश्चितता दिएको छ । तर हामी त्यत्तिकै आत्तिएका छौं । नेपालसँगै पनि १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । तर धेरै खपत वा भण्डारण गर्न थाल्यौं भने त्यही पनि घट्छ । बजारको सन्तुलन पनि बिग्रन्छ । खाना पकाउने ग्यासका हकमा पनि त्यही हो । अनावश्यक सिलिन्डर घरमा थुपार्दा जोखिम हुन्छ । बजारमा अभाव बढ्छ । कालोबजारी मौलाउँछ । तसर्थ सबै कुरामा उपभोक्ता नै जिम्मेवार हुन जरुरी देखिन्छ । अनावश्यक भण्डारण गर्ने बिक्रेता वा उपभोक्तामा राज्यको नजर पनि पुग्न जरुरी छ ।
सरकारले आपूर्तिको यथार्थ विवरण सार्वजनिक गरिरहनुपर्छ । पम्पहरूमा हुने अनुगमनलाई कडा बनाउनुपर्छ । इन्धनको अभाव हुनु र अभाव देखिनु फरक कुरा हुन् । अहिले अभाव देखिएको मात्र हो । यो कृत्रिम समस्या हो । जसलाई उपभोक्ताले नै निम्त्याएका हुन् । निगमले आपूर्ति सहज राख्ने र उपभोक्ताले संयम अपनाउने हो भने समस्या हुँदैन । अनावश्यक रुपमा त्रसित बनेर वस्तुको अभाव र मूल्यवृद्धिलाई मलजल नगरौं ।
प्रतिक्रिया दिनुहोस !