दक्षिण अफ्रिकालाई न्युजिल्यान्डको चुनौती
नयाँ दिल्ली : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ। बुधबार साँझ कोलकाताको इडन गोर्डेन हुने खेलमा अहिलेसम्म अपराजित दक्षिण अफ्रिका र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने छन्। दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चारमा पुगेको हो। न्युजिल्यान्ड भने सुपर–८ मा उच्च रनरेटका आधारमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुगेको हो।
बुधबार हुने खेलमा न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर सामु ठूलो चुनौती छ। किनभने टीट्वेन्टी विश्वकपमा न्युजिल्यान्डले अहिलेसम्म दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन। सन् २००७ देखि २०२६ सम्म यी दुई टोलीबीच पाँच पटक भिडन्त भएको छ। जसमा सबै खेल दक्षिण अफ्रिकाले जितेको छ। टीट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकासँगको त्यो खराब कीर्तिमानलाई तोड्नु कप्तान सान्टनरको मुख्य चुनौती हो।
विश्वकपमा मात्रै होइन, टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि न्युजिल्यान्ड दक्षिण अफ्रिकाभन्दा पछि छ। यी दुई राष्ट्रबीच अहिलेसम्म १९ टीट्वेन्टी खेल भएको छ। जसमा दक्षिण अफ्रिकाले १२ र न्युजिल्यान्डले सात खेलमा जित निकालेका छन्। विश्वकप र टीट्वेन्टी अन्तर्राष्ट्रियको नतिजा हेर्ने हो भने न्युजिल्यान्डभन्दा दक्षिण अफ्रिकाको पल्ला भारी छ।
तर, क्रिकेट अनिश्चयको खेल भएकाले कुन टिमले जित्छ भनेर क्रिकेट पण्डितहरूले पनि यसै भन्न सक्तैनन्। एडन मार्करमको कप्तानीमा दक्षिण अफ्रिकाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सन् २०२४ को विश्वकपमा पनि दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गरेको थियो। फाइनलमा भारतसँग पराजय बेहोरेपछि पहिलो विश्वकप जित्नबाट भने विमुख बनेको थियो। अघिल्लो संस्करणको त्यो हारको बदला लिन पनि दक्षिण अफ्रिका सम्हालिएर खेल्ने अभियानमा छ।
दक्षिण अफ्रिका उपाधिबाट जम्मा दुई जित पछि छ। सधैं भाग्यले ठग्दै आएको दक्षिण अफ्रिका त्यो अभागीको ‘ट्याग’ मेटाएर उपाधि जित्ने अभियानमा छ। यहीँ न्युजिल्यान्डलाई फाइनलमा स्थान बनाउन १९ वर्षदेखिको हारको सिलसिलालाई तोड्नु आवश्यक छ। त्यसैले बुधबार इडन गार्डेनको पिचले दक्षिण अफ्रिका र न्युजिल्यान्डमध्ये कसलाई सहयोग गर्छ, त्यो भने हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !