मतदानमा निर्धक्क सहभागी होऔं
आज फागुन २१ गते। नेपालको इतिहासमा एक ऐतिहासिक र विशेष दिन। आज देशभर उत्साहजनक रूपमा सारा देशवासीले आम निर्वाचनमा सहभागी भई आफूले रोजेको जनप्रतिनिधि चयन गर्दैछन्। विषम परिस्थितिमा घोषित प्रतिनिधिसभाको चुनाव देशभर एकै चरणमा भइरहेको छ। जहाँ १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक चुनावका लागि मतदान गर्दैछन्। देशको भाग्य र भविष्य निर्धारणको लागि आज हुने चुनावी परिणामले विशेष अर्थ र महत्त्व राख्दैछ।
लामो समयदेखि मुलुकमा विभिन्न राजनीतिक परिवर्तन हुँदा पनि सोही अनुपातमा विकासले फड्को मार्न सकेन। जनताको जीवनस्तरमा कायापलट हुन सकेन। जनता विभिन्न खाले दुःख, झमेला, चपेटामै रुमलिरहनु परेको यथार्थ हो। देशको मुहार फेर्ने नारा विभिन्न समयक्रममा उठे पनि त्यो कार्यान्वयन हुन सकेन। परिणामतः जनताले अपेक्षित सुख, सुविधा र खुसी प्राप्त गर्न पाएनन्। राजनीतिक अस्थिरता चरम रूपमा मौलाउँदा कुनै पनि सरकारले दिगो रूपमा काम गर्न सकेनन्। त्यसतर्फ इमान्दार प्रयत्न पनि भएन। पाँचवर्षे पूरा कार्यावधि कुनै पनि सरकारले नपाउँदा विकासका वाचा र कार्य अधुरा बने। देशभित्र युवा जनशक्ति बस्न सक्ने, टिक्न सक्ने अवस्था बनेन। त्यसको मारमा देश अहिले पनि छ।
यस पटकको चुनाव यो अर्थमा फरक छ। २०७९ को प्रतिनिधिसभा चुनावबाट छानिएका जनप्रतिनिधिले पूर्ण कार्यकाल बिताउन नपाई अहिले पुनः चुनाव गर्नुपर्ने अवस्था त्यतिकै आएको होइन। बोली, वचन र व्यवहारमा तादाम्यता नमिलेको परिणामस्वरूप गत भदौ २३ र २४ गते जेन—जी आन्दोलन र त्यसैको आडमा हिंसात्मक काम हुन सकेको हो। यो पृष्ठभूमिमा फागुन २१ अर्थात् आज चुनाव हुन गइरहेको हो। यस अर्थमा नियमितभन्दा बेग्लै आमनिर्वाचन हुन गइरहेको हो। जनताबीच छाएको व्यापक निराशा, आक्रोश, गुनासोले समेत विद्रोह बढाएको हो। हो, जनगुनासो र आक्रोशको आडमा मुलुकलाई नै भड्खालोमा हाल्ने गरी सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहितमा अमूल्य क्षति भयो, गरियो। कैयौं जनधनको क्षति भएको पीडासँगै नयाँ सम्भावना र उभारका लागि चुनावमा होमिनु परेको यथार्थ हो।
सायद, त्यही भएर होला अपवादको चुनाव हुँदा पनि जनसागर उर्लिएको छ। राजधानी काठमाडौंबाट मात्र मुलुकका विभिन्न भागमा १० लाखभन्दा बढी मतदाता आ—आफ्नो मतदान केन्द्रमा पुगेका छन्। युवा आशा र भरोसा थपिएको छ। युवा, नवयुवा मतदाता उल्लेख्य थपिएका छन्। उम्मेदवारहरूमा समेत नयाँपन देखिन्छ। ती सबै अब पुराना गल्ती, कमजोरी दोहोर्याउन नदिन, देश बनाउनका लागि यस पटकको चुनावमा मतदानमार्फत परिवर्तन खोजिरहेका छन्।
हुँदैन कि भन्ने कतिपय आशंका चिर्दै वर्तमान सरकारले चुनावलाई सफल बनाउनेतर्फ अधिकतम कसरत र इमान्दार प्रयास गरेको प्रष्ट देखिएको छ। समयमै निर्वाचन सम्बद्ध जनशक्ति, सामग्री परिचालन गरेर निर्वाचन आयोगले चुस्त, दुरुस्त ढंगले काम देखाएको छ। नेपाली सेनासहित सबै सुरक्षा निकायको प्रभावकारी व्यवस्थापन र परिचालनसमेत प्रशंसायोग्य छ।
अब भावी नेपालका लागि कस्ता उम्मेदवार र दल रोज्ने जिम्मा आम मतदाताको हातमा आइपुगेको छ। आफूले रोजेको उम्मेदवार र दललाई निःसंकोच मतदान गरी भावी दिनलाई उज्यालो तर्फ मोड्ने जिम्मा मतदाताको हो। आज चुनावभरि निर्वाचन आयोग र सरकारले निर्भय ढंगले चुनाव सम्पन्न गर्नका लागि विशेष चनाखो र सतर्कता अपनाउनु जरुरी छ। चुनावमा दक्खल पार्न सक्ने, मतदातालाई कुनै पनि खालको अवरोध पुर्याउन सक्ने खालका गतिविधि रोक्ने काम सुरक्षा निकायको मात्र नभै आम जनता, दलका नेता, कार्यकर्तासमेतको हो। मतदाता स्वयं चनाखो त बन्नु पर्छ नै।
प्रतिक्रिया दिनुहोस !