हिंसात्मक चुनावी इतिहास तोड्दै बाजुरामा शान्तिपूर्ण मतदान

हिंसात्मक चुनावी इतिहास तोड्दै बाजुरामा शान्तिपूर्ण मतदान

बाजुरा : लामो समयदेखि चुनावी विवाद, झडप र हिंसात्मक घटनाका कारण चर्चामा रहने बाजुरामा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचन भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। 

जिल्लाको चुनावी इतिहासमै पहिलो पटक कुनै ठूलो झडप, बुथ कब्जा वा गम्भीर विवाद बिना मतदान सम्पन्न भएको भन्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाभर सामान्य र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको हो। उनले विगतका निर्वाचनको तुलनामा यस पटक मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाएको बताए। 

अघिल्ला निर्वाचनहरूमा जस्तो विवाद र झडप यस पटक देखिएन। सबै मतदान केन्द्रमा मतदाताले शान्तिपूर्वक लाइनमा बसेर आफ्नै मत आफैँ हाल्न पाएको उनले बताए। 

बाजुरामा कुल ८७ हजार ८ सय ६१ मतदाता रहेकामा २४ हजार ३ सय ७५ महिला, २१ हजार ८ सय ५७ पुरुष गरी जम्मा ४६ हजार २ सय ३२ जनाले मतदान गरेका छन्। जिल्लाभरका ७७ मतदानस्थल रहेकामा १ सय १८ मतदान केन्द्रमा मतदान प्रक्रिया सामान्य र व्यवस्थित रूपमा सञ्चालन भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन्।

बाजुरामा विगतका निर्वाचनहरू भने प्रायः विवाद र झडपका कारण चर्चामा आउने गरेका थिए। २०४८ सालपछि भएका अधिकांश निर्वाचनमा कुनै न कुनै प्रकारको विवाद हुने गरेको नागरिक समाजका अगुवा कृष्ण अधिकारीले बताएका छन्। 

कतिपय स्थानमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्ने, कमजोर मतदाताको मताधिकार जबर्जस्ती प्रयोग गरिदिने जस्ता घटनाहरू दोहोरिने गरेका थिए। राजनीतिक दल बीचको प्रतिस्पर्धा तीव्र हुने र स्थानीय स्तरमा दलका कार्यकर्ताबीच तनाव बढ्ने भएकाले चुनावका बेला जिल्लामा झडपका घटना पनि हुने गरेका थिए।

२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका–७ मा गम्भीर विवाद हुँदा दुई जनाको ज्यान गएको थियो। उक्त घटनाले जिल्लाको चुनावी वातावरण निकै तनावपूर्ण बनेको थियो। सोही निर्वाचनका क्रममा जिल्लाका २५ भन्दा बढी मतदान केन्द्रमा झडप भएको थियो। कतिपय स्थानमा मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो भने सुरक्षा निकायलाई समेत अवस्था नियन्त्रण गर्न कठिनाइ भएको थियो।

त्यसअघि पनि बाजुरामा विभिन्न निर्वाचनका बेला मतपेटिका तोडफोड, मतदान केन्द्र कब्जा गर्ने प्रयास, मतदातामाथि दबाब दिने तथा मतगणना स्थगित हुनेजस्ता घटना भएका थिए। यस्ता घटनाले जिल्लाको चुनावी प्रक्रिया बारम्बार विवादित बन्ने गरेको थियो। यही कारण बाजुरालाई चुनावी दृष्टिले संवेदनशील जिल्ला मानिने गरेको थियो।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा पनि बुढीगंगा नगरपालिकामा विवाद भएपछि मतदान प्रक्रिया प्रभावित भएको थियो। त्यहाँ पहिलो चरणको निर्वाचन स्थगित गरेर पुनः दोस्रो पटक मतदान गराउनुपरेको थियो। यस घटनाले बाजुराको चुनावी वातावरणलाई थप विवादित बनाएको थियो।

स्थानीय शिक्षक डम्बर सिंहका अनुसार यस्ता घटनाकै कारण बाजुराको नाम सधैँ चुनावी विवादसँग जोडिने गरेको थियो। ‘विगतमा यहाँ चुनाव आउँदा झडप र विवाद हुनु सामान्य जस्तै भइसकेको थियो। कतिपय ठाउँमा मतदाताले स्वतन्त्र रूपमा भोट हाल्न समेत पाउँदैनथे,’ उनले भने। तर यस पटक भने मतदाताले निर्भय वातावरणमा आफ्नो मत आफैँ हाल्न पाएको उनले बताए।

यस पटक जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको थियो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार विगतको अनुभवलाई ध्यानमा राख्दै संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी त्यहाँ अतिरिक्त सुरक्षा व्यवस्था गरिएको थियो।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त परिचालन गरिएको थियो। सुरक्षा निकायले मतदान केन्द्रहरूको निरन्तर अनुगमन गरेका थिए। कतिपय स्थानमा हेलिकोप्टर र ड्रोनमार्फत पनि निगरानी गरिएको प्रशासनले जनाएको छ। जोखिमयुक्त मतदान केन्द्रहरूमा सीसी क्यामेरा जडान गरेर समेत निगरानी गरिएको थियो।

निर्वाचनअघि नै संघीय सरकारका उच्च अधिकारीहरू बाजुरा पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल बाजुरा पुगेर सुरक्षा तयारीबारे स्थलगत अनुगमन गरेका थिए। उनीहरूले जिल्लामा चुनावलाई शान्तिपूर्ण बनाउन कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिएका थिए।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले यस पटक बाजुरामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताएका छन्। उनले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरेका छन्। ‘सबै राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार, निर्वाचनमा खटिएका कर्मचारी तथा आम मतदाताको साथ सहयोगले बाजुरामा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो,’ पोखरेलले भने।

लामो समयदेखि चुनावी विवाद र हिंसाको छायाँमा हुने गरेको बाजुराको चुनाव यस पटक शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि स्थानीयवासीले यसलाई सकारात्मक परिवर्तनका रूपमा लिएका छन्। वर्षौंदेखि बदनाम बनेको चुनावी इतिहासलाई यस पटकको निर्वाचनले सुधार्ने संकेत देखाएको भन्दै आगामी दिनमा पनि यही अभ्यास कायम रहने अपेक्षा गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.