सर्लाहीमा करिब ६० प्रतिशत मत खस्यो
मलङ्गवा : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीमा छिटपुटबाहेक शान्तिपूर्ण किसिमले मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले सर्लाहीमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए। सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमा ५ लाख ११ हजार ६०६ जना मतदातामध्ये आधाभन्दा केही बढीले मतदान गरेको प्रारम्भिक विवरण आएको हो।
सम्पूर्ण मतदान केन्द्रबाट निर्वाचन अधिकृतका कार्यालयहरूमा मतपेटिका प्राप्त भएपछि कूल खसेको मतको एकिन विवरण प्राप्त हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको उपस्थिति र उत्साह कम देखिन्थ्यो।
बिहान सबेरै र खाना खाएपछिको समयमा प्रायः मतदान केन्द्रहरूमा भीड देखिए पनि दिउँसो १ बजेपछि भने जिल्लाका अधिकांश मतदान केन्द्रहरू सुनसान देखिन्थे। सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले एक/दुई ठाउँमा सामान्य विवाद हुनुबाहेक जिल्लाभर शान्तिपूर्वक रूपमा मतदान सम्पन्न भएको बताए।
क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–४, जब्दीमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद भएपछि केही समय मतदान रोकिएको थियो। त्यहाँ तत्कालै प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको सुरक्षा अधिकारीको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि सामान्य ढङ्गले मतदान कार्य सम्पन्न भएको छ।
क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित जनता मावि भवानीपुर मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबीच विवाद हुँदा केहीबेर मतदान रोकिन पुगेको थियो। क्षेत्र नं. ४ को जब्दी र भवानीपुरबाहेक जिल्लाभर रहेका ६२८ मतदान केन्द्रमा कहीँकतै विवाद नभई शान्तिपूर्वक रूपमा मतदान सम्पन्न भएको हो।
मतदान सम्पन्न भएसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी अघि बढाइएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका आएपछि मतगणना सुरु गर्नेबारे सर्वदलीय बैठक राखिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए। राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिसहितको बैठक बसेर आचारसंहिता तयार पारेपछि मात्र मतगणना सुरु हुने छ।
सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा मतपेटिका जम्मा हुन र निर्वाचन अधिकृतको कार्यालयले बुझ्ने कार्य सम्पन्न हुन मध्यरात नै हुने अनुमान गरिएको छ। त्यसपछि सर्वपक्षीय बैठक बस्ने छ। बैठकले मध्यरातिदेखि नै मतगणना सुरु गर्ने निर्णय गरे रातिदेखि नै सुरु गरिने र अन्यथा शुक्रबार बिहानबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए।
चारवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि तारजाली र सीसी क्यामेरा जडान गरेर मतगणनास्थल तयार पारिसकिएको छ। क्षेत्र नं. १ को लालबन्दी–१० चन्द्रपुरस्थित १० नं. वडा कार्यालय, क्षेत्र नं. २ को मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हल, क्षेत्र नं. ३ को हरिवनस्थित नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को गोडैता बजारस्थित बेणी भोला नमुना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना हुने छ।
प्रतिक्रिया दिनुहोस !