रुपन्देहीमा मतदान: ३ मा सबैभन्दा बढी, ५ मा कम
भैरहवा : रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीबाट प्राप्त तथ्यांक अनुसार १ लाख ४० हजार ३५ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७ जना अर्थात ६९ दशमलव ५४ प्रतिशतले मतदान गरेका छन्।
त्यस्तै जिल्लाको पाँचवटा क्षेत्रगतको तुलनामा सबैभन्दा कम क्षेत्र नम्बर ५ मा मतदान भएको छ। त्यहाँ १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जना अर्थात ६३ दशमलव १० प्रतिशतले मतदान गरेका छन्। यस्तै १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११ जना (६६ दशमलव २० प्रतिशत) मतदान गरेका छन्।
क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदातामध्ये त्यहाँ ७६ हजार ८ सय १२ जना (६६ दशमलव ११ प्रतिशत) ले मतदान गरेको कार्यालयले जनाएको छ। त्यस्तै जिल्लाको हटसिट रुपमा रहेको क्षेत्र नम्बर २ मा ८६ हजार ७ सय १५ अर्थात ६४ दशमलव २० प्रतिशत मतदान भएको छ। यहाँ १ लाख ३५ हजार ५० मतदाता छन्।
जिल्लाको पाँच वटा निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा अन्य ३ जनासहित ४ लाख ४२ हजार ९ सय ६३ जना (६५ दशमलव ८७ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन्। जसमध्ये २ लाख ३२ हजार एक सय १७ जना महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष छन्।
जिल्लामा कुल मतदाताको संख्या ६ लाख ७२ हजार ५ सय २३ रहेको छ। ‘जिल्लाका पाँचवटै क्षेत्रका विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा संकलन गर्ने कार्य भइरहेको छ’ प्रमुख अर्यालले भनिन्, ‘संकलनपश्चात बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार क्षेत्रहरूमा मतगणना सुरु हुनेछ।’
प्रतिक्रिया दिनुहोस !