मधेशमा शान्तिपूर्ण मतदान
जनकपुरधाम : ५८ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा रहेको मधेश प्रदेशमा बिहीबार केही छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान सम्पन्न भएको छ।
विगतका निर्वाचनहरूमा बुथ कब्जा, झडप, राजनीतिक विवाद जस्ता घटनाहरू भएर देशमै चर्चित हुने मधेशमा यसपालिको प्रतिनिधिसभा निर्वाचन राम्रो माहोलमा भएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षा निकायले निकै कडा सुरक्षा व्यवस्था मिलाएको हुनाले हुन सक्ने सम्भावित घटनाहरू समेत टरेको मधेश प्रदेशका डिआईजी गोविन्द थपलियाले बताए। ‘निकै शान्तिपूर्ण मतदान भएको छ मधेशमा। केही स्थानहरूमा थोरबहुत विवादका घटना भए पनि हामीले समयमै साम्य पारेका हौँ र अवस्था नियन्त्रणमा आयो। समग्रमा भन्नुपर्दा यसपटकको निर्वाचन सौहार्दपूर्ण रूपमा नै भएको छ,’ थपलिया भन्छन्।
मधेशका जिल्लामा चुनावको बेला दलहरूबीचको प्रतिशोधले गर्दा विगतका निर्वाचनहरूमा थुप्रै अप्रत्याशित घटनाहरू भएका थिए। जसलाई विश्लेषण गर्दै यसपालि सुरक्षा निकायले धेरै मतदानस्थलहरूलाई अति संवेदनशील सूचीमा राखेर विशेष निगरानी गरेको थियो।
भारतसँग ३ सय ६७ किलोमिटर खुल्ला सिमाना रहेको मधेश प्रदेशमा जम्मा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ। जसमा जम्मा २१६० मतदानस्थल र ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको थियो। ती मतदानस्थलहरूमध्ये झन्डै ५८ प्रतिशत अर्थात् १ हजार २ सय ३६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको थियो।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ सय ६३ मतदान केन्द्रलाई संवेदनशील र २ हजार ४ सय ७१ मतदान केन्द्रलाई सामान्य वर्गीकरण गरेको थियो। कुल मतदाता ३६ लाख ३६ हजार ४१४ रहेको आठवटै जिल्लाहरू (सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सामा) शान्तिपूर्ण मतदान हुनु निकै उत्साहजनक रहेको सुरक्षा निकायका प्रमुखहरूले जनाएका छन्।
यस प्रदेशमा कुल १ हजार २८ जनाले उम्मेदवारी दिएका थिए। यस प्रदेशले प्रत्यक्षतर्फ ३२ र समानुपातिक गरी करिब ५५ सांसद संघीय सदनमा पठाउँछ। देशका कुल मतदाताको करिब २० प्रतिशत हिस्सा ओगटेको मधेशले प्रतिनिधिसभाको कुल प्रत्यक्ष सिटको झन्डै १९ प्रतिशत सिट हात पार्ने गर्दछ।
‘पहिला त निर्वाचन नै हुँदैन भन्ने हल्ला थियो। त्यसपछि निर्वाचनमा जे पनि हुन्छ भन्ने डर फैलाइएको थियो तर आज निकै शान्तिपूर्वक रूपमा हामीले मतदान गर्न पायौँ,’ धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का मतदाता सोनि साहले भनिन्, ‘पहिला जस्तो हल्ला र भय त्रास थिएन। निकै सहज थियो। खासै भीडभाड पनि नभएकोले यो पालिको मतदान निकै राम्रो वातावरणमा गर्यौँ।’
मतदान शान्तिपूर्ण रूपमा गराउनका लागि मधेश प्रदेशमा ४० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको डीआईजी थपलियाले बताए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा सबैभन्दा बढी समानुपातिक मत काँग्रेसले ल्याउन सफल भएको थियो। सो बेला काँग्रेसले ४,३४,९७१, एमालेले ३,७१,७०९, जसपा २,९८,७४४, जनमत २,९८,४८४, नेकपा १,७९,८७० र रास्वपाले ७२,९३५ मत ल्याएको थियो भने राप्रपाले ६८,६५३ मत ल्याएको थियो।
सो बेला थ्रेस होल्ड समेत नकटाएका तर १० हजारभन्दा माथि मत ल्याउने दलहरूमा लोसपा १,०९,३९०, एकीकृत समाजवादी १,०७,०८४, नागरिक उन्मुक्ति ४१,००१, नेपाल संघीय समाजवादी ३८,३१२ र बहुजन एकता पार्टी १५,७७४ मत थियो।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएर मतपेटिकाहरू मतगणना स्थलहरूमा ल्याइएका छन्।
प्रतिक्रिया दिनुहोस !