‘सहकार्य र संवादले निर्वाचन सफल’

‘सहकार्य र संवादले निर्वाचन सफल’

प्रतिनिधिसभा सदस्य पदको लागि भएको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। जेन-जी आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधिले देशैभर भद्रगोल अवस्था थियो। यसलगत्तै बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण चुनाव सम्पन्न गरेको छ। सुरक्षाको बागडोर सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालसँग अन्नपूर्णकर्मी अजवी पौड्यालले चुनावी वातावरण निर्माण,चुनौती र सम्भावनाको विषयमा गरेको कुराकानी :-

चुनाव हुने, नहुने आशंका बीच शान्तिपूर्ण रूपमा निर्वाचन भयो,कस्तो लागिरहेको छ ? 

हामी सबै मिलेर सामूहिक सहकार्य गर्र्‍यौं। गृहमन्त्री र प्रधानमन्त्रीको चाहनाले मात्रै यो सम्भव हुने थिएन। सुरक्षा निकायको लगनशीलता र सहयोग,नेपाली जनता,राजनैतिक दलहरूको विश्वास तथा सबैको सहकार्यले सम्भव भयो। हाम्रो वर्ककल्चर नै अब फरक छ नि। हाम्रो कार्यशैली,हाम्रो कार्यपद्धति। हाम्रा सबै संस्थामा सामूहिक रूपमा सामूहिक नेतृत्व,सामूहिक कार्यपद्धतिमा हामी गयौं। अब सबैको आइडियाहरूलाई हामीले ग्रहण गर्र्‍यौं। सबै सरोकारवालाहरूसँग हामी संलग्न भयौं। अब हाम्रा सबै संयन्त्रहरू समन्वय गर्र्‍यौं,सबै परिचालित भए। 

सबैमा भएका असल अभ्यासहरूलाई ग्रहण गर्र्‍यौं। त्यसपछि बाँकी सरोकारवालाहरूको विश्वास जित्यौं। सरोकारवालाको विश्वास जितेपछि अन्य वातावरण अनि अरू परिस्थिति त आफ्नो पक्षमा बन्दै गयो। अनुकूल बन्दै गयो। मुख्य कुरा हामीले विश्वास दिलाएको हो।

तपाईंले गृह मन्त्रालयको बागडोर सम्हाल्दा सुरक्षा निकायप्रति आक्रोश र सुरक्षा निकायको मनोबल खस्किएको अवस्था थियो। शान्तिपूर्ण निर्वाचन कसरी सम्भव भयो ? 

जेन-जी आन्दोलनपछिको अवस्था अत्यन्तै क्रिटिकल थियो। त्यतिखेर सबैतिर त्रासको मनोविज्ञान थियो। सबैले असुरक्षित महसुस गर्नु भएको थियो। देश पनि असुरक्षित,संविधान पनि असुरक्षित,नागरिक पनि असुरक्षित ठानिएको अवस्था थियो। त्यस्तो अवस्थामा सबैलाई सुरक्षा चाहिएको थियो,सुरक्षाको प्रत्याभूति चाहिएको थियो,शान्तिको प्रत्याभूति चाहिएको थियो। तत्कालीन अवस्थामा हाम्रो मुख्य प्राथमिकता नै स्थितिलाई सामान्यीकरण गर्नुपर्ने थियो। एउटा हिंसात्मक द्वन्द्व प्रकट भएको थियो। अब हिंसा रोकिनुपर्‍यो। त्यसपछि त्यो कटुता,एउटा दुश्मनी रोकिनुपर्‍यो, शत्रुता रोकिनुप¥यो र स्थिति सामान्यीकरण हुनुपर्‍यो। यसका लागि हामीले सकारात्मक सूचना दिने। सम्भावनाका कुराहरू बताउने तथा सबै पक्षलाई मिलाउने कोसिस गरेका थियौं। 

मुख्य कुरा हामीले कहीँ पनि द्वन्द्व दोहोरिनु भएन,त्यो शत्रुता बढ्नु भएन,त्यो चाहिँ घट्दै जानुपर्‍यो,स्थिति सामान्यीकरण हुनुपर्‍यो भन्ने दृष्टिकोणबाट काम गरेका थियौं। जब स्थिति सामान्यीकरण भयो,परिस्थिति सामान्य भयो,त्यसपछि हामीले फेरि सुशासनका कामहरू गर्र्‍यौं,सेवा प्रवाहलाई सुदृढीकरण गर्र्‍यौं,शान्ति सुरक्षालाई थप पहिलाको भन्दा पनि मजबुत बनायौं। खास गरेर सुरक्षाकर्मीहरूको मनोबल,राष्ट्रसेवकहरूको मनोबलसँगसँगै नागरिकहरूको मनोबल र राष्ट्रिय मनोबल पहिलाको भन्दा पनि बढ्न गयो। अहिले हेर्नुभयो भने यो मनोबल पहिलाभन्दा बढेको अवस्था छ।

चुनावको वातावरण बनाउन र निर्धारित समयमै चुनाव सम्पन्न गर्नको लागि मुख्य रूपमा कसको भूमिका रह्यो ? कसले के के गर्नुभयो ? 

बाहिर अनेक गलत भाष्य फैलिएका थिए। चुनावमा जाने भनेको आफूलाई अनुकूल हुन्छ भने,आफू जितिन्छ भने मात्रै जाने नत्र नजाने भन्ने खालको पनि सोच हुन्छ प्रायःको। जेन-जी आन्दोलनपछि राजनैतिक दलप्रति जनताको आक्रोश बढेको अवस्था थियो। चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो,अब यो प्रक्रियाबाट बाहिरिएपछि फेरि सधैंलाई छुटेको–छुटेकै पनि हुन सक्छ। 

राजनीतिक संस्कारमा हुर्किएकाहरूमा यो डर देखिन्छ। जो राजनीतिज्ञहरू हुनुहुन्छ,उनीहरूले यो कुरा प्रस्ट बुझेका हुन्छन् कि यो आवधिक निर्वाचनबाट बिमुख भइयो,बाहिर बसियो अथवा त्यसलाई बिथोल्न खोजियो भनेदेखि त्यो एउटा राजनीतिको मूल प्रवाहबाट बाहिरिने सम्भावना पनि उत्तिकै हुन्छ भन्ने कुरा। सरकारले पनि सुरक्षाको प्रत्याभूति दियो,निष्पक्षताको प्रत्याभूति दियो,यसरी चुनावी माहोल बनेको हो।

सबै दलका नेताहरू तपाईंको विरुद्धमा बोलिरहनुभएको थियो। जनतामा डर थियो,चुनाव गराउनु कत्तिको गाह्रो काम थियो ? 

यस्तो छ,यो संवादमा नआउँदासम्म सबै गाह्रो जस्तो लाग्छ। जब संवादको प्रक्रिया सुरु हुन्छ,लोकतान्त्रिक प्रक्रिया सुरु हुन्छ,सबैले एउटा विकल्प समाउनुपर्ने नै हुन्छ। राजनैतिक दलहरूका सहज–असहज कुराहरू के–के हुन् के–के कुरामा विमति छ,त्यो मिलेरै सहजीकरण गरिएको हो। गर्ने हो नि। मिलेरै सहजीकरण गर्ने हो। कसैलाई प्रतिकूल हुने गरी वा कसैलाई अनुकूल नै अनुकूल हुने गरी त गर्न खोजेको होइन सरकारले। सबैलाई एउटा निष्पक्ष प्रतिस्पर्धाको लागि,एउटा स्वच्छ प्रतिस्पर्धाको लागि वातावरण बनाउने भनेर विश्वास जितेका थियौ। सरोकारवालाहरूका, दलहरूका नेताहरूका आशंका के–के हुन् त्यो पहिचान गरेका बाँकी काम अगाडि बढाएका थियौं।

चुनावको दिनलाई कसरी लिनुहुन्छ ? हिंसा भडकन सक्छ भन्ने अनुमान थियो ? 

हामीले लिएको लक्ष्य के थियो भने चुनाव चाहिँ कहीँ पनि स्थगित गर्न नपरोस्, यो मतदान सँगसँगै कहीँ पनि हामीले रगतको थोपा देख्न नपरोस् भन्ने थियो। कतै केही भइहाल्छ कि भनेर अलि बढी हामी चासो राखिराखेका थियौं। प्रधानमन्त्री सुशीला कार्कीको पनि विशेष चासो थियो। डर र चुनौती अत्यधिक थियो। त्यस्तो अवस्था नआओस् भनेर रोकथामको लागि हामी हरसम्भव प्रयास गरिरहेका थियौं र हामीले त्यस्तो अवस्था आउन दिएनौं र अहिले चाहिँ हामी सन्तोष लिएका छौं। 

नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र अनुसन्धान विभागका टोलीहरूसँग पटकपटक बैठक बसेका थियौ। सुरक्षा अपडेट लिएका थियौं। सुरक्षा प्रमुखहरूले अत्यन्तै सहयोग र सहकार्य गर्नुभयो। सुरक्षा अवस्था चुस्त दुरुस्त बनाउनका लागि निर्वाचनको माहोल बनाउन अत्यन्तै मेहनत गर्नुपर्‍यो। सबैको मेहनतले शान्तिपूर्ण चुनाव सम्भव भयो।

७७ जिल्लाका सबै मतदानस्थलमा मतदान भयो ?देशभरिको शान्तिसुरक्षाको अवस्था कस्तो देखियो ? 

सबै ठाउँमा मतदान भयो। छिटफुट घटनाबाहेक सवै ठाँउमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कुनै–कुनै ठाउँमा दिउँसो केही घण्टा रोकिएको थियो,त्यो पनि सुचारु भइसकेको छ। पुनः मतदान गराउनुपर्ने अवस्था आउँदैन। अत्यन्तै शान्तिपूर्ण र जनताले सुरक्षाको प्रत्याभूति हुने गरी निर्वाचन सम्पन्न भएको छ।

अब बन्ने सरकार र अबको सुरक्षा अवस्था कस्तो हुन्छ ?केही अनुमान छ तपाईंको ? 

अब त मजबुत हुन्छ,संविधानले जुन परिकल्पना गरेका संस्थाहरू,अंगहरू सबै परिपूर्ति हुन्छन्। खास गरेर अब संसद्,प्रतिनिधिसभा जुन रिक्त छ,त्यसको परिपूर्ति हुन्छ। त्यो प्रतिनिधिसभाले नै अब सरकार बनाउँछ,नयाँ जनादेश हुन्छ। सबै कुरा वैधानिक संविधानअनुसारकै हुन्छ। संवैधानिक प्रणाली पूर्ण रूपमा क्रियाशील हुन्छ। 

अहिले राजनीतिक सुशासनलाई हामीले केन्द्रविन्दुमा राखेका छौ। यसको जग यसपालिदेखि बस्छ। राजनीतिक सुशासनको जग बस्छ। राष्ट्र नै जोखिममा परेको अवस्थाबाट यहाँसम्म आइपुग्यौं। अहिले राष्ट्र जोखिममा छैन,त्यसपछि संविधान पनि अब जोखिममा छैन। संविधानमा ठूलो क्षति पुग्न खोजेको थियो तर यो संविधान पनि अब जोगियो,राष्ट्र जोगियो। अहिले अब नागरिकको जिउधन जोगिएको छ,त्यसमा अब त्यस्तो राजनीतिक हिंसा थोपर्ने कामहरू भएको छैन। यो बीचमा राजनीतिक हिंसा हामीले हुन दिएका पनि छैनौं। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.