‘नेपाल बनाउने मान्छे बालेन प्रधानमन्त्री बनोस्’

‘नेपाल बनाउने मान्छे बालेन प्रधानमन्त्री बनोस्’

आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस । पूर्वी नेपालको राजधानी प्रवेश गर्ने मुख्य नाका महोत्तरीको बर्दिबास चौकमा मकै पोल्दैछिन् अगहनिया राम (चमार) । चर्किदै गरेको घाममा आगोको तापसंग संघर्ष गर्दै जसले भुईँतहबाट फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी माहोल र नतिजालाई नजिकबाट देखिरहेकी छिन् । दिनभरि चौकमा मकै बेच्दै उनले सबै दलका आन्दोलन, नारा–जुलुस र नेताहरूका भाषण सुन्ने र हेर्ने मौका पाएकी छन् । त्यसले बजारमा चहलपहल बढ्दा उनको व्यापार पनि केही बढेको अनुभव छ, तर दलित समुदायकी महिला अगहनियाको दैनिक जीवन भने अझै गरिबी, संघर्ष र श्रममै सीमित छ । उनका लागि चुनावको अर्थ देशमा राम्रो सरकार बन्नु र गरिबलाई काम गरेर खान दिने वातावरण सिर्जना हुनु हो । नेताहरूले चुनावताका घर, शौचालय, राशन र ऐलानी जग्गाको लालपुर्जा दिने वाचा गरे पनि ती धेरैजसो पूरा नभएको उनको अनुभव छ ।

बर्दिबास चौकको भीड र जुलुसबीच मकै पोल्दै बसेकी अगहनियासँग उनको दैनिक संघर्ष, जीवन, देशको आउँदो सरकार, प्रधानमन्त्री कस्तो हुनुपर्छ ? भन्ने विषयमा अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी ।

दिदी, तपाईँको नाम ?

-अगहनिया राम चमार (४३) ।

घर ?
-धनुषालाको लालगढ, सुनौलो बस्ती(हाँस्दै) । बर्दिबास भन्दा पूर्व रातु खोला किनारमा ।

मकै कतिको बिक्री हुन्छन् ?
-भइरहेको छ, अली अली ।

एउटा पोलेको मकैको बालालाई कति ?

-गोटाको बीस रुपैयाँ । कहिले सय पीस बिक्री हुन्छ, कहिले एक सय दश, कहिले एक सय पिस । कहिले अस्सी, नब्बें, यस्तै.. ।

काँचो मकै कहाँबाट ल्याउनुहुन्छ ?
-सर्लाहीको रानिगञ्जबाट(पश्चिमतिर देखाउँदै)

आफै जानुहुन्छ ल्याउन ?
-होइन्, बर्दिबासमै ल्याइदिन्छ ।

चुनावमा भोट हाल्नु भयो ?
-हाल्यो नि ।

कस्तो मान्छेलाई भोट दिनुभयो ?
-जुन मान्छे मलाई हेरविचार गर्छ जस्तो लाग्यो, उसैलाई भोट गयो ड्याम ड्याम... । हामी गरिब मान्छे बर्दिबास बजारमा कसैले छेउमा बस्नु पनि दिदैँन । शहरमा गरिबलाई कहिँ बसेर कमाएर पनि खान दिदैन ।

तपाईँको कति संख्यामा परिवार छ ?
-हाम्रो चार परिवार छ अहिले । छोरा, नाती, बुहारी म ।

चौकमा बस्नुहुन्छ दिनभरी । गाडी चलेको, मान्छेको भीड लागेको, नेताहरुले नारा जुलुस गरेको कस्तो लाग्यो ?
-राम्रै लाग्छ । मान्छेलाई देख्दा रमाईलोजस्तो लाग्छ । मनमा खुशी आउँछ । घरमा बसेर बोर हुन्छ । त्यहीभएर चौकमा मकै बेचेर भएपनि खुशी खोज्न आउँछु । महिना दिनसम्म चौकमा तारा, सूर्य, गाडी, घण्टीको जुलुस लाग्यो ।  हाम्रो मकै बिक्री पनि धेरै भयो । सबै पार्टीहरु जुलुस हेर्दा पनि मलाई रमाइलो लाग्छ ।

किन त्यस्तो लाग्यो ?
-अलि त्यसले बजारमा चहलपहल बढायो । त्यही भएर ।

फागुन २१ को चुनाव किन भयो, थाहा छ ?
-आफ्नो देश सुरक्षाको लागि । राम्रो होस् सबैलाई । देश राम्रो बनाउन । को नेता छ, को मन्त्री छ मलाई त्यति थाहा छैन । तर, देशमा सरकार नै सुन्छु । सरकार चाहियो हामीलाई । हाम्रो नेपाल राम्रो होस् भनेर  चुनाउ भयो ( हाँस्दै) ।

जेनजी आन्दोल बारे थाहा छ ?
-मलाई थाहा छैन ।

भदौंमा ठैलो आन्दोलन भयो । संसद् जलाइदियो, सिंहदरबार जलाइदियो नि ?
-अँ अँ(सोच्दै) त्यो त थाहा छ ।

गाउँतिर आन्दोलनको प्रभाव कति परो ?
-के पर्नु, हामी गाउँतिर बसेको । यता हामीलाई थाहा भएन । त्यही  मोबाईल टिकटकमा हेरेको । त्यहीबाट आन्दोलन चलेको देखेको हो ।

किन त्यो आन्दोलन भयो ?
-त्यो थाहा भएन मलाई । के थाह ।

देशलाई अब कस्तो प्रधानमन्त्री  चाहिँन्छ ?
-अब जुन मान्छेले देश राम्रो चलाउँछ, उसै प्रधानमन्त्रीको कुर्सीमा बस्नु पर्छ । त्यो बालेन हो । उसैलाई जनताको प्रतिनिधिहरुले भोट दिएर जिताउनु पर्छ । नेपालको सुरक्षा होस्, हामीजस्ता गरिबहरुलाई  गरिखान देउस् । यस्तो मान्छे हामीलाई प्रधानमन्त्री चाहिएको छ । अब त प्रधानमन्त्री बालेन बन्छ भन्छ । उसैले हामीलाई बजारबाट प्रहरी लगाएर उठाएर दुःख नदेउस् । बस् हामीलाई यति भए पुग्छ ।

सबै जितेका नेतासँग तपाईँको के माग छ ? 
-हाम्रो माग त के हो र ? अब हामीहरु गरिब मान्छे हैन, यस्तो अलि ठाउँ दिए भने त मकै पोल्ने व्यापारले सानो ठूलो गरेर त खान पाइन्छ । सधैँ त खानु सरकारले दिँदैन ।

अनि जीवनमा सबैभन्दा दुःख कति बेला हुँदो रहेछ ?
-दुःख के हुनु  । भगवान्ले हातखुट्टा दिएछ, कमाएर खाएर छु । जुन बेला कमाउन सकेन भने त्यो बेला त दुःख पाइहाल्छ मान्छेले । अहिले अब गरिब छु, कमाएर त खानु पर्यो नि । दुःखमा सरकार चाहिन्छ गरिबलाई सधैं । तर, त्यस्तो छैन । अब हुन्छ सुन्दैछु, हेरौं ।

अनि छोराछोरी के गर्दै छन् तपाईँको ?
-दुईटा छोरी बिहे गरिसक्यो । अब छोरा र बुहारी र म नाति चार जना परिवार यसै यही कमाएर खाइराछौँ।

घर कस्तो छ ?
-घर त त्यही इँट्टाको बनायो यसपालि । चार साल भयो बनाएको । घर इँट्टाको बनाछ दुई कोठाको ।

जग्गको लालपुर्जा छ कि छैन ?
-लालपुर्जा दिएको छैन । ऐलानी जग्गामा घर बनाएर बसेको छ । अनि त्यहीबाट छोराछोरीलाई बिहे गर्दिएँ ।

अनि लालपुर्जा पाए हुन्थ्यो जस्तो लाग्दैन ?
-भन्या छ दिन्छु दिन्छु, अहिलेसम्म त दिएको छैन नेताहरुले ।

लालपुर्जाको आशामा कति पटक मतदान गर्नुभयो ?
-हाम्रो घर पहिला सिरहा जिल्लामा थियो । सिराहा जिल्लाबाट बसाइँसराइ गरिसक्यो यहाँ(लालगढ)मा । यहाँ १४ साल भइसक्यो आएको । तर कोठा भाडा लिएर बसिराथ्यो । यस्तै कमाउँदै खाँदै कोठा भाडामा बसिराथ्यो । त्यसपछि १० धुर ऐलानी जग्गा किनेर घर बनायो । अनि त्यसपछि सिरहाबाट बसाइँसराइ ल्याएर अब लालगढकै बासिन्दा भए । के गर्ने सुकुम्बासी जीवन बाँचिएछ  ।

अनि सिराहामा हुँदाखेरि कति पटक भोट हाल्नुभयो?
-उता त धेरै पटक हालियो । यसपाली यतै हाले

अनि नेताहरू के भन्दा रहेछन् चुनाव ताका ?
-केही भनेन् । ए, ट्वाइलेट बनाइदिने अरे, घर पनि बनाइदिन्छु, गरिबलाई  यसो चामल दाल सबै दिन्छु रासन । 

पहिला पनि यस्तै भनेको थियो ?
-सिरहाको बन्दीपुरमा बस्दा सरकारले अघिल्लो चुनावपछि रासन पानी पनि दियो । अनि त्यसपछि ट्वाइलेट पनि बनादिने भनेको थियो । तर, बनाइदिएन । ठग्यो यसमा । अनि लालपूर्जा पनि भनेको थियो । त्यो पनि हात्ति आयो, हात्ति आयो फुस भयो । यस्तै त छ नी हाम्रा नेताहरुको बोली ।

एक्लै मकै पोलेर बिक्री गर्नु हुन्छ तातो घाममा बसेर सघाउन घरका आउँदैन ?
-अब बुढो थियो नि ( श्रीमान्) कालले लगि हाल्यो । बुढो बिरामी परेर प्राण त्याग्यो १० पहिले । बुढो ३५ वर्षमा गयो धामतिर । रक्सी खान्थ्यो । बिरामी भयो । उठ्नै सकेन । तीनटा बालबच्चा   दुइटा छोरी र एउटा छोरा मकै पोलेर, ज्याला मजदुरी गरेर हुर्काए । सबैको विवाहदान गरे ।

अहिले मकै पोलेर परिवार चल्छ ? 
-दिनको त्यही ७—८ सय आम्दानी भइहाल्छ । परिवारलाई नुन-रोटी चलिहाल्छ । मंसीरदेखि चैत-बैशाख,जेठसम्म मकैको बिक्छ । त्यसपछि  धान रोपाइँ,गोडाईँमा मजदुरी गर्न जान्छु ।  

मेहनतको कमाईमा बाँच्दा दुःखमा पनि आन्दै हुन्छ है ?
-पिर लाग्छ नि त । कसले दिन्छ,- दिँदैन कसैले । आफै कमाएर खानु । आफ्नै पसिना, आफ्नै स्रोत साधन, आफ्नै पाखुँरामा कमाएर खाँदा कसैको भनाई खानु पर्दैन । आज थकाइ लाग्यो, आज बजार नजाने घरमै बस्छु, यसो रेस्ट गर्छु भन्दा पनि हुन्छ । 

देशमा विकास नहुनुको कारण चाहिँ के देख्नुभएको छ तपाईँहरू ?
-अब यस्तो छ, जुन मुख्य मुख्य छ नि नेताहरु, विकासको पैसा आउँछ, नआउने होइन,  आउँछ । गरिबलाई हेर विचार गर्नुलाई आउँछ । तर राम्रो राम्रो मान्छेले चुप्पैचाप आफ्नो आफ्नो व्यापार चलाउँछ । बाटोमै खाइदिइन्छ । तर हाम्रो गरिबलाई कसैले हेर्दैन । विकासको काम गर्दैन्, गरेपनि आफ्नैलाई गर्छ । महोत्तरीमा धेरै जाडो गयो, ब्लाङ्केटहरु सबैलाई बाँदियो, तर, हाम्रोतिर दलितलाई दिएन । अब समान विकास, सहयोग गर्न सरकारले सोचेर काम गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.