‘नेपाल बनाउने मान्छे बालेन प्रधानमन्त्री बनोस्’
आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस । पूर्वी नेपालको राजधानी प्रवेश गर्ने मुख्य नाका महोत्तरीको बर्दिबास चौकमा मकै पोल्दैछिन् अगहनिया राम (चमार) । चर्किदै गरेको घाममा आगोको तापसंग संघर्ष गर्दै जसले भुईँतहबाट फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी माहोल र नतिजालाई नजिकबाट देखिरहेकी छिन् । दिनभरि चौकमा मकै बेच्दै उनले सबै दलका आन्दोलन, नारा–जुलुस र नेताहरूका भाषण सुन्ने र हेर्ने मौका पाएकी छन् । त्यसले बजारमा चहलपहल बढ्दा उनको व्यापार पनि केही बढेको अनुभव छ, तर दलित समुदायकी महिला अगहनियाको दैनिक जीवन भने अझै गरिबी, संघर्ष र श्रममै सीमित छ । उनका लागि चुनावको अर्थ देशमा राम्रो सरकार बन्नु र गरिबलाई काम गरेर खान दिने वातावरण सिर्जना हुनु हो । नेताहरूले चुनावताका घर, शौचालय, राशन र ऐलानी जग्गाको लालपुर्जा दिने वाचा गरे पनि ती धेरैजसो पूरा नभएको उनको अनुभव छ ।
बर्दिबास चौकको भीड र जुलुसबीच मकै पोल्दै बसेकी अगहनियासँग उनको दैनिक संघर्ष, जीवन, देशको आउँदो सरकार, प्रधानमन्त्री कस्तो हुनुपर्छ ? भन्ने विषयमा अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी ।
दिदी, तपाईँको नाम ?
घर ?
-धनुषालाको लालगढ, सुनौलो बस्ती(हाँस्दै) । बर्दिबास भन्दा पूर्व रातु खोला किनारमा ।
मकै कतिको बिक्री हुन्छन् ?
-भइरहेको छ, अली अली ।
एउटा पोलेको मकैको बालालाई कति ?
-गोटाको बीस रुपैयाँ । कहिले सय पीस बिक्री हुन्छ, कहिले एक सय दश, कहिले एक सय पिस । कहिले अस्सी, नब्बें, यस्तै.. ।
काँचो मकै कहाँबाट ल्याउनुहुन्छ ?
-सर्लाहीको रानिगञ्जबाट(पश्चिमतिर देखाउँदै)
आफै जानुहुन्छ ल्याउन ?
-होइन्, बर्दिबासमै ल्याइदिन्छ ।
चुनावमा भोट हाल्नु भयो ?
-हाल्यो नि ।
कस्तो मान्छेलाई भोट दिनुभयो ?
-जुन मान्छे मलाई हेरविचार गर्छ जस्तो लाग्यो, उसैलाई भोट गयो ड्याम ड्याम... । हामी गरिब मान्छे बर्दिबास बजारमा कसैले छेउमा बस्नु पनि दिदैँन । शहरमा गरिबलाई कहिँ बसेर कमाएर पनि खान दिदैन ।
तपाईँको कति संख्यामा परिवार छ ?
-हाम्रो चार परिवार छ अहिले । छोरा, नाती, बुहारी म ।
चौकमा बस्नुहुन्छ दिनभरी । गाडी चलेको, मान्छेको भीड लागेको, नेताहरुले नारा जुलुस गरेको कस्तो लाग्यो ?
-राम्रै लाग्छ । मान्छेलाई देख्दा रमाईलोजस्तो लाग्छ । मनमा खुशी आउँछ । घरमा बसेर बोर हुन्छ । त्यहीभएर चौकमा मकै बेचेर भएपनि खुशी खोज्न आउँछु । महिना दिनसम्म चौकमा तारा, सूर्य, गाडी, घण्टीको जुलुस लाग्यो । हाम्रो मकै बिक्री पनि धेरै भयो । सबै पार्टीहरु जुलुस हेर्दा पनि मलाई रमाइलो लाग्छ ।
किन त्यस्तो लाग्यो ?
-अलि त्यसले बजारमा चहलपहल बढायो । त्यही भएर ।
फागुन २१ को चुनाव किन भयो, थाहा छ ?
-आफ्नो देश सुरक्षाको लागि । राम्रो होस् सबैलाई । देश राम्रो बनाउन । को नेता छ, को मन्त्री छ मलाई त्यति थाहा छैन । तर, देशमा सरकार नै सुन्छु । सरकार चाहियो हामीलाई । हाम्रो नेपाल राम्रो होस् भनेर चुनाउ भयो ( हाँस्दै) ।
जेनजी आन्दोल बारे थाहा छ ?
-मलाई थाहा छैन ।
भदौंमा ठैलो आन्दोलन भयो । संसद् जलाइदियो, सिंहदरबार जलाइदियो नि ?
-अँ अँ(सोच्दै) त्यो त थाहा छ ।
गाउँतिर आन्दोलनको प्रभाव कति परो ?
-के पर्नु, हामी गाउँतिर बसेको । यता हामीलाई थाहा भएन । त्यही मोबाईल टिकटकमा हेरेको । त्यहीबाट आन्दोलन चलेको देखेको हो ।
किन त्यो आन्दोलन भयो ?
-त्यो थाहा भएन मलाई । के थाह ।
देशलाई अब कस्तो प्रधानमन्त्री चाहिँन्छ ?
-अब जुन मान्छेले देश राम्रो चलाउँछ, उसै प्रधानमन्त्रीको कुर्सीमा बस्नु पर्छ । त्यो बालेन हो । उसैलाई जनताको प्रतिनिधिहरुले भोट दिएर जिताउनु पर्छ । नेपालको सुरक्षा होस्, हामीजस्ता गरिबहरुलाई गरिखान देउस् । यस्तो मान्छे हामीलाई प्रधानमन्त्री चाहिएको छ । अब त प्रधानमन्त्री बालेन बन्छ भन्छ । उसैले हामीलाई बजारबाट प्रहरी लगाएर उठाएर दुःख नदेउस् । बस् हामीलाई यति भए पुग्छ ।
सबै जितेका नेतासँग तपाईँको के माग छ ?
-हाम्रो माग त के हो र ? अब हामीहरु गरिब मान्छे हैन, यस्तो अलि ठाउँ दिए भने त मकै पोल्ने व्यापारले सानो ठूलो गरेर त खान पाइन्छ । सधैँ त खानु सरकारले दिँदैन ।
अनि जीवनमा सबैभन्दा दुःख कति बेला हुँदो रहेछ ?
-दुःख के हुनु । भगवान्ले हातखुट्टा दिएछ, कमाएर खाएर छु । जुन बेला कमाउन सकेन भने त्यो बेला त दुःख पाइहाल्छ मान्छेले । अहिले अब गरिब छु, कमाएर त खानु पर्यो नि । दुःखमा सरकार चाहिन्छ गरिबलाई सधैं । तर, त्यस्तो छैन । अब हुन्छ सुन्दैछु, हेरौं ।
अनि छोराछोरी के गर्दै छन् तपाईँको ?
-दुईटा छोरी बिहे गरिसक्यो । अब छोरा र बुहारी र म नाति चार जना परिवार यसै यही कमाएर खाइराछौँ।
घर कस्तो छ ?
-घर त त्यही इँट्टाको बनायो यसपालि । चार साल भयो बनाएको । घर इँट्टाको बनाछ दुई कोठाको ।
जग्गको लालपुर्जा छ कि छैन ?
-लालपुर्जा दिएको छैन । ऐलानी जग्गामा घर बनाएर बसेको छ । अनि त्यहीबाट छोराछोरीलाई बिहे गर्दिएँ ।
अनि लालपुर्जा पाए हुन्थ्यो जस्तो लाग्दैन ?
-भन्या छ दिन्छु दिन्छु, अहिलेसम्म त दिएको छैन नेताहरुले ।
लालपुर्जाको आशामा कति पटक मतदान गर्नुभयो ?
-हाम्रो घर पहिला सिरहा जिल्लामा थियो । सिराहा जिल्लाबाट बसाइँसराइ गरिसक्यो यहाँ(लालगढ)मा । यहाँ १४ साल भइसक्यो आएको । तर कोठा भाडा लिएर बसिराथ्यो । यस्तै कमाउँदै खाँदै कोठा भाडामा बसिराथ्यो । त्यसपछि १० धुर ऐलानी जग्गा किनेर घर बनायो । अनि त्यसपछि सिरहाबाट बसाइँसराइ ल्याएर अब लालगढकै बासिन्दा भए । के गर्ने सुकुम्बासी जीवन बाँचिएछ ।
अनि सिराहामा हुँदाखेरि कति पटक भोट हाल्नुभयो?
-उता त धेरै पटक हालियो । यसपाली यतै हाले
अनि नेताहरू के भन्दा रहेछन् चुनाव ताका ?
-केही भनेन् । ए, ट्वाइलेट बनाइदिने अरे, घर पनि बनाइदिन्छु, गरिबलाई यसो चामल दाल सबै दिन्छु रासन ।
पहिला पनि यस्तै भनेको थियो ?
-सिरहाको बन्दीपुरमा बस्दा सरकारले अघिल्लो चुनावपछि रासन पानी पनि दियो । अनि त्यसपछि ट्वाइलेट पनि बनादिने भनेको थियो । तर, बनाइदिएन । ठग्यो यसमा । अनि लालपूर्जा पनि भनेको थियो । त्यो पनि हात्ति आयो, हात्ति आयो फुस भयो । यस्तै त छ नी हाम्रा नेताहरुको बोली ।
एक्लै मकै पोलेर बिक्री गर्नु हुन्छ तातो घाममा बसेर सघाउन घरका आउँदैन ?
-अब बुढो थियो नि ( श्रीमान्) कालले लगि हाल्यो । बुढो बिरामी परेर प्राण त्याग्यो १० पहिले । बुढो ३५ वर्षमा गयो धामतिर । रक्सी खान्थ्यो । बिरामी भयो । उठ्नै सकेन । तीनटा बालबच्चा दुइटा छोरी र एउटा छोरा मकै पोलेर, ज्याला मजदुरी गरेर हुर्काए । सबैको विवाहदान गरे ।
अहिले मकै पोलेर परिवार चल्छ ?
-दिनको त्यही ७—८ सय आम्दानी भइहाल्छ । परिवारलाई नुन-रोटी चलिहाल्छ । मंसीरदेखि चैत-बैशाख,जेठसम्म मकैको बिक्छ । त्यसपछि धान रोपाइँ,गोडाईँमा मजदुरी गर्न जान्छु ।
मेहनतको कमाईमा बाँच्दा दुःखमा पनि आन्दै हुन्छ है ?
-पिर लाग्छ नि त । कसले दिन्छ,- दिँदैन कसैले । आफै कमाएर खानु । आफ्नै पसिना, आफ्नै स्रोत साधन, आफ्नै पाखुँरामा कमाएर खाँदा कसैको भनाई खानु पर्दैन । आज थकाइ लाग्यो, आज बजार नजाने घरमै बस्छु, यसो रेस्ट गर्छु भन्दा पनि हुन्छ ।
देशमा विकास नहुनुको कारण चाहिँ के देख्नुभएको छ तपाईँहरू ?
-अब यस्तो छ, जुन मुख्य मुख्य छ नि नेताहरु, विकासको पैसा आउँछ, नआउने होइन, आउँछ । गरिबलाई हेर विचार गर्नुलाई आउँछ । तर राम्रो राम्रो मान्छेले चुप्पैचाप आफ्नो आफ्नो व्यापार चलाउँछ । बाटोमै खाइदिइन्छ । तर हाम्रो गरिबलाई कसैले हेर्दैन । विकासको काम गर्दैन्, गरेपनि आफ्नैलाई गर्छ । महोत्तरीमा धेरै जाडो गयो, ब्लाङ्केटहरु सबैलाई बाँदियो, तर, हाम्रोतिर दलितलाई दिएन । अब समान विकास, सहयोग गर्न सरकारले सोचेर काम गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !