भारतले लगातार दोस्रोपटक जित्यो विश्वकपको उपाधि
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकप–२०२६ को उपाधि आयोजक भारतले जितेको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक उपाधि उचालेको हो।
भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि जितेको थियो। भारतले लगातार दोस्रो पटक टीट्वेन्टी विश्वकप ट्रफी उचालेको हो। तेस्रो टीट्वेन्टी विश्वकप ट्रफी उचाल्ने भारत पहिलो टोली हो। टीट्वेन्टी विश्वकपको १० औं संस्करण सकिँदा इङ्ल्यान्ड र वेस्ट इन्डिजले दुई/दुई तथा पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले एक/एक पटक उपाधि जितेका छन्। दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्यान्ड दुवै पटक उपाधिबाट विमुख भएको हो। सन् २०२१ को विश्वकपमा फाइनलमा पुगे पनि न्युजिल्यान्ड अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो।
भारतले दिएको दुई सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा अलआउट हुँदै एक सय ५९ रन मात्रै बनाउन सक्यो। न्युजिल्यान्डका टिम सिफर्टले अर्धशतकीय पालि खेलेका थिए। उनले २६ बलमा पाँच छक्का र दुई चौकाको मद्दतमा ५२ रनको पालि खेले। यस्तै कप्तान मिचेल स्यान्टनरले ४३ र डारियल मिसेलले १७ रन बनाए। भारतका जसप्रित बुमराहले चार विकेट लिए। यस्तै अक्षर पटेलले तीन तथा हार्दिक पान्ड्या, अभिषेक शर्मा र बरुण चक्रवर्तीले एक/एक विकेट हात पारे।
यसअघि नरेन्द्र मोदी स्टेडियममा एक लाख बढी घरेलु दर्शक सामु टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ५५ रनको योगफल तयार पारेको थियो। यो टीट्वेन्टी विश्वकपको तेस्रो ठूलो योगफल हो। यसअघि सुपर–८ को खेलमा भारतले जिम्बावेविरुद्ध दुई सय ५६ रन बनाएको थियो। यस्तै सन् २००७ मा श्रीलंकाले केन्याविरुद्धको खेलमा भने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६० रन बनाएको थियो।
भारतका सञ्जु सामसन, इसन किसन र अभिषेक शर्माले अर्धशतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका सञ्जुले ४६ बलमा आठ छक्का र पाँच चौकाको मद्दतमा ८९ रन बनाए। यस्तै इसनले २५ बलमा चार छक्का र चार चौकाको सहयोगमा ५४ र अभिषेकले २१ बलमा ५२ रन बनाए। उनले तीन छक्का र ६ चौका हिर्काए। यस्तै शिवम् दुवेले अविजित २६ र हार्दिक पान्ड्याले १८ रन जोडेका थिए। न्युजिल्यान्डका जिमी निसमले तीन विकेट लिए। म्याट हेनरी र रचिन रवीन्द्रले एक/एक विकेट हात पारे।
बिहीबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। न्युजिल्यान्ड साविक उपविजेता दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित गर्दै दोस्रो पटक फाइनलमा पुगेको हो। भारतले आईसीसीको शीर्ष प्रतियोगिता (एकदिवसीय विश्वकप, टीट्वेन्टी विश्वकप, च्याम्पियन्स ट्रफी र वल्र्ड टेस्ट च्याम्पियनसिप) मा कीर्तिमानी १५औं फाइनल खेलेको छ। जसमध्ये टीट्वेन्टी विश्वकपको मात्रै चौथो फाइनल खेलेको छ। पछिल्ला १४ मध्ये भारतले सात फाइनल खेल जितेको छ। भारतपछि अस्ट्रेलियाले १४ फाइनल खेलेको छ।
प्रतिक्रिया दिनुहोस !