खेलाडीले पैसा नपाएकोबारे के भन्छ पोखरा एभेन्जर्स ?
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जर्सका विदेशी खेलाडी जिम्मी निसमले आफूले अनुबन्धित रकम नपाएको भन्दै सार्वजनिक रुपमा गुनासो गरेका छन् ।
टी–२० विश्वकप २०२६ को फाइनल खेलमा जिम्मीले गरेको प्रदर्शनको तारिफ स्वरुप एभेन्जर्सले गरेको पोष्टमा जिम्मीले कमेन्टमा ‘कुल पे योर प्लेअर्र’ अर्थात खेलाडीलाई पारिश्रमिक देऊ भन्ने कमेन्ट लेखेका छन् ।
यसको चर्चा सर्वत्र हुँदै गर्दा उनको यो कमेन्टमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठी भने प्रक्रियागत ढिलासुस्ती र मुद्दाका कारण खेलाडीको रकम रोकिएको अन्नपूर्ण पोष्टलाई जानकारी दिएका छन् । उनले भने, ‘हामीले अगाडि नै यो विषयलाई टुंग्याउन खोजेका हौं । तर अदालतमा परेको एनपीएल विरुद्धको मुद्दाको कारण राखेपले यो प्रक्रियाको लागि हामीलाई रोकेको थियो ।’
उनले खेलाडीले पाउनु पर्ने पूरै रकम दिन बाँकी रहेको पनि खुलाए । ‘उताबाट आउँदा उहाँहरुले सम्झौतामा हस्ताक्षर गरेर आउनु भएको हो । हामीले ढिला गर्न खोजेका होइनौं । उहाँको पूरै रकम पठाउने राष्ट्र बैंकले पनि स्विकृति मागेको थियो । हामीले चुनाव अगाडि नै यो विषयलाई सल्टाउन खोजेका थियौं तर बीचमा सदस्य सचिव नहुँदा रोकियो । अब आगामी हप्तामा नै यो विषय सल्टिन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !