फिल्म सिटी बनाउने योजना कहिले हुन्छ पूरा ?
दोलखा : दोलखाको भीमेश्वर नगरपालिका–९ डाङडुङे डाँडामा निर्माण गर्ने भनिएको फिल्मसिटीको कामले अझै गति लिन सकेको छैन।२०६८ सालदेखि नै चलचित्र नगरी निर्माणको अभियान सुरु गरिएको भए पनि कामले गति नलिँदा योजना कागजमै सीमित भएको हो।
सुरुवाती चरणमा फिल्मसिटी निर्माणका लागि करिब १२-१३ अर्ब रुपैयाँ लगानी लाग्ने र चीन सरकारको सहयोगमा निर्माण कार्य अगाडि बढाउने चर्चा भएको फिल्मसिटी निर्माण समितिका संयोजक मदनदास श्रेष्ठले बताए।पछि सरकारले गरेको विस्तृत अध्ययनमा भने करिब १ अर्ब ६ करोड ३७ लाख रुपैयाँ लगानी लाग्ने उल्लेख गरिएको थियो।
प्रतिवेदनअनुसार फिल्मसिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ।जसमा भीमेश्वर नगरपालिका–९ मा पर्ने सेतीदेवी सामुदायिक वनको करिब ६४ हेक्टर र सिन्धुपाल्चोक जिल्लातर्फको करिब १२ हेक्टर जमिन उपयोग गर्ने योजना रहेको उल्लेख गरिएको छ।
नेपालमा चलचित्र छायांकनका लागि व्यवस्थित पूर्वाधारयुक्त स्थान नभएको अवस्थामा दोलखामा पहिलोपटक यस्तो अवधारणा अघि सारिएको हो।प्रारम्भिक चरणमा स्थानीयले ३०-३५ रोपनी जग्गासमेत उपलब्ध गराएका संयोजक श्रेष्ठको भनाइ छ।
फिल्मसिटी बन्ने चर्चा धेरै वर्षदेखि सुनिए पनि काम भने अघि बढ्न सकेको छैन।‘फिल्मसिटी बन्यो भने गाउँकै पहिचान बढ्ने र रोजगारी पनि सिर्जना हुने आशा थियो, तर अहिलेसम्म काम सुरु भएको छैन।’ स्थानीय कृष्णबहादुर कार्कीले भने।
सरकारले सार्वजनिक–निजी साझेदारी (पब्लिक पार्टनरसिप) मोडेलमा फिल्मसिटी निर्माण अघि बढाउने भने पनि व्यवहारमा काम भने अघि बढ्न नसकेको फिल्मसिटी निर्माण समितिका संयोजक श्रेष्ठले बताए।सरकारले बनाएको नीतिअनुसार, कम्पनी ऐनअनुसार जान सरकारले कति सेयर लिने, स्थानीयले कति सेयर, बाहिरी लगानीकर्ताले कति सेयर लगानी गर्ने भनेर चलचित्र विकास बोर्डले मोडालिटी तयार गरेको थियो।
यसलाई अगाडि बढाउनका लागि सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड उदासीन देखिएको फिल्मसिटी निर्माण समितिका संयोजक श्रेष्ठ बताउँछन्।‘विभिन्न राजनीतिक आग्रह पूर्वाग्रहका कारण फिल्मसिटी निमार्ण कार्य लथालिङ छ, अब बन्ने सरकारले फिल्मसिटी दोलखामै बनाउँछ भन्ने आशा छ,’ उनले भने। उनका अनुसार हरेक वर्ष फिल्मसिटी निर्माणका नाममा बजेट विनियोजन हुने गरे पनि कामले गति लिन सकेको छैन। आव ०८१÷८२ मा पनि प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको थियो।
केही संरचनाको काम सुरु भएको छ।सांस्कृतिक संग्रहालय, प्रशासनिक भवन, गेस्ट हाउसलगायत तीनवटा बिल्डिङ बनिसकेका छन्।पूर्वाधार तयार भइसकेको छ।‘अब बाँकी संरचना पूरा गर्न नेताहरूले कति पहल गर्छन् भन्ने हेर्न बाँकी छ,’ उनले भने।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, धार्मिक सम्पदाले भरिपूर्ण दोलखा जिल्लामा निर्माण गर्न लागिएको फिल्मसिटी निर्माण स्थल डाँङडुङेडाँडाबाट काठमाडौंंको स्वयम्भू, फुलचोकी, रोल्वालिङ हिमशृंखला, गौरीशंकर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुंगा जिल्लाका ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिने स्थानीयको भनाइ छ।
लाामो समयदेखि चर्चामा रहेको दोलखाको फिल्मसिटी परियोजना अझै पूर्ण रूपमा अघि बढ्न नसक्दा स्थानीय भने योजना कागजमै सीमित हुने हो कि भन्ने चिन्तामा छन्।
प्रतिक्रिया दिनुहोस !