कांग्रेसले गर्यो पूर्व मन्त्री चौधरीसहित ११ जनालाई कारबाही सिफारिस
सिरहा : फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कांग्रेस सिरहा क्षेत्र-१ ले पूर्व मन्त्री पदम नारायण चौधरीसहित ११ जनालाई कारबाहीका लागि सिफारिस गरेका छन्।
उनीहरूलाई ५ वर्षका लागि साधारण सदस्य नरहने गरि कारबाही सिफारिस गरिएको छ। चौधरी पूर्व केन्द्रीय सदस्य पनि हुन्।
कारबाहीका लागि सिफारिसमा परेकाहरुमा महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारु संघ जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सह-सचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैया प्रसाद गुप्ता, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान-१० का बुथ सभापति अम्बराज मिश्र, लहान-२० का बुथ सभापति विनोद साह र क्षेत्रीय सदस्य गोपालकृष्ण यादव छन्।
सिरहा-१ मा कांग्रेसबाट राम सुन्दर चौधरी उम्मेदवारी दिएका थिए। उनी रास्वपाका बब्लु गुप्ताबाट पराजित भएका छन्। कारबाहीमा सिफारिस भएकाहरू कोही रास्वपा, जनमत र स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको र पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप रहेको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी गराएका छन्।
चुनावपछि क्षेत्रीय कार्यसमिति लगायतको छलफलबाट निर्णय गरेर केन्द्रीय अनुशासन समितिलाई कारबाहीको सिफारिस गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !