फ्रेन्ड्स र आर्मीको जित बराबरीमा रोकियो एपीएफ
काठमाडौं : एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत आज तीनवटा खेल सम्पन्न भएको छ। आजका तीनै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका हो।
पहिलो खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई पराजित गर्दा दोस्रो खेलमा एपीएफ प्लानिङ ब्वाइज युनाइटेडसँग बराबरीमा रोकियो। तेस्रो खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि जित दर्ता गर्यो।
पहिलो खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० ले पराजित गर्यो। फ्रेन्ड्सको जितमा खेलको ६० औँ मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। दोस्रो गोल भने आत्मघाती गोलमार्फत फ्रेन्ड्सले अंक जोड्यो। खेलको ९० औँ मिनेटमा श्री भगवतीका विश्वास चौधरीले आत्मघाती गर्दै फ्रेन्ड्सको २-० को जित पक्का गरेका हुन्।
दोस्रो खेलमा एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेडले १-१ बराबरी खेल्दै अंक बाँडे। एपीएफका लागि खेलको २२औं मिनेटमा युवराज खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको एपीएफले अग्रता जोगाउन सकेन । खेलको ६२ औं मिनेटमा एलेक्स विलियनले गोल गर्दै प्लानिङ ब्वाइज युनाइटेडलाई १-१ को स्थितिमा ल्याए। त्यसपछि भने दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् र यही नै खेलको अन्तिम नतिजा बन्न पुग्यो।
आजको तेस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच भएको थियो। तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ। आर्मीको जितमा निराजन धामीले दुई गोल गर्दा पेम्बा दोर्जे लामा र किरण सुनारले १/१ गोल गरे। पुलिसका लागि दशरथ गिरीले सान्त्वना गोल गरेका थिए।
खेलको ३१ औं मिनेटमा त्रिभुवन आर्मी क्लबका युवा फरवार्ड निराजन धामी गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए। त्यसको जवाफमा ४३ औं मिनेटमा दशरथ गिरीले नेपाल पुलिस क्लबका लागि गोल गरे। पहिलो हाफको खेल १-१ बराबरीमा सकिएको थियो।
दोस्रो हाफको खेलमा आर्मीले तीन गोल थप्यो भने पुलिसले कुनै पनि गोल गर्न सकेन। खेलको ५७ औं मिनेटमा पेमा दोर्जे लामाले आर्मीका लागि दोस्रो गोल गरे। खेलको ७० औं मिनेटमा निराजन धामीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। दोस्रो हाफमा थप गरिएको चौथो मिनेटमा किरण सुनारले त्रिभुवन आर्मी क्लबका लागि चौथो गोल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !