प्रतिनिधिसभा निर्वाचन–०८२

राष्ट्रिय दलका ३० बढी दलित उम्मेदवारमध्ये एक जना मात्र पुगे संसद

उम्मेदवार बन्नै ‘महाभारत’, चुनाव जित्न झन ‘सकस’

राष्ट्रिय दलका ३० बढी दलित उम्मेदवारमध्ये एक जना मात्र पुगे संसद

काठमाडौं : फागुन २१ मा भएको प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रैकै अन्तिम नतिजा आइसकेको छ । निर्वाचनको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै भन्दा ठूलो दल बनेको छ । रास्वपाले यस पटक प्रत्यक्षमा १२५ सिट जितेको छ ।

यस्तै नेपाली कांग्रेसले प्रत्यक्षमा १८, नेकपा एमालेले नौं, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आठ, श्रम सँस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) ले एक सिट जितेका छन् ।

यस्तै यस पटकको प्रतिनिधिसभा निर्वाचनबाट एक स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि निर्वाचित भएका छन् । यस पटकको प्रतिनिधि सभा निर्वाचनमा ६८ दलका उम्मेदवारहरू प्रत्यक्षतर्फ २,२९७ जना थिए । बाँकी १,१८७ जना स्वतन्त्र उम्मेदवार पनि प्रत्यक्षतर्फ चुनावमा भाग लिएका थिए । त्यसअनुसार प्रत्यक्षतर्फ कूल ३,४८४ उम्मेदवार मैदानमा थिए ।  

देशका १६५ निर्वाचन क्षेत्रको मत परिणाम अनुसार यस पटक रास्वपाको पक्षमा जनलहर देखिएको छ । देशभर पुराना दलहरुलाई ‘सकस’ र रास्वपाको पक्षमा ‘एकछत्र’ जनमत देखिँदा सबै चकित बनेका छन् । पुराना पार्टीहरु ‘पल्टा’ खाँदै रास्वपाको पक्षमा जनमत ओइरिँदा अर्को चकित बनाउने परिणाम पनि सँगसँगै आएको छ । १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम आउँदा राष्ट्रिय दलबाट जम्मा एक जना दलित उम्मेदवार मात्र प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । 

नेपालको कुल जनसंख्याको करिब १३ प्रतिशत हिस्सा ओगटेको दलित समुदाय प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा भने फेरि पनि किनारामा परेका छन् । उसै त फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले अत्यन्तै सीमित संख्यामा मात्रै दलित उम्मेदवारलाई मौका दिएका थिए ।

राजनीतिक दलहरूले चुनावका बेला दलित समुदायलाई मतदाताको रूपमा प्रयोग गरे पनि नेतृत्व र निर्णय प्रक्रियामा अवसर दिन कन्जुस्याइँ गरेको भन्दै अधिकारकर्मीहरूले तीव्र आलोचना समेत गरेका थिए । हरेक निर्वाचनमा दलित समुदायलाई उम्मेदवार बन्नै ‘महाभारत’ हुने गरेको छ भने जित्न त झन ‘सकस’ हुँदै आएको छ ।

दलित अधिकारकर्मीको आलोचना र निर्वाचन परिणाम अनुसार एक जना मात्र दलित उम्मेदवार विजयी भएको वर्तमान अवस्थाले दलहरुभित्रको प्रतिनिधित्वको असन्तुलनलाई फेरि एक पटक सतहमा ल्याई दिएको छ । पुरानो दल नेपाली कांग्रेसले प्रत्यक्षतर्फ दलित समुदायबाट बझाङमा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लाई मात्रै उम्मेदवार बनाएको थियो । तर उनी उक्त क्षेत्रमा १६ हजार ३०४ मत ल्याएर पराजित भएका छन् ।

त्यहाँ एमालेका ऐनबहादुर महर १८ हजार ५४३ मतसहित विजयी बने । नेकपा एमालेले भने दुई जना दलित उम्मेदवार अघि सारेको थियो । डडेल्धुराबाट चक्र स्नेही उम्मेदवार बने पनि उनी चौंथो स्थानमा सीमित हुँदै २,९२६ मत मात्रै प्राप्त गरे । बर्दिया–२ मा एमालेकी उम्मेदवार विमला विक पनि पाँचौँ स्थानमा मात्र आइन् ।

उनी पनि १० हजार ७७२ मतमै सीमित भइन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल २९ हजार ६७८ मतसहित विजयी भए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि न्यून मात्र दलित उम्मेदवार मैदानमा थिए । स्याङ्जा–२ बाट पदमबहादुर विश्वकर्मा उम्मेदवार बनेका थिए तर ८४८ मतसहित चौंथो स्थानमा रहे । सो क्षेत्रमा रास्वपाका ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भए ।

कञ्चनपुर–३ मा नेकपाका मानबहादुर सुनार ४,२८४ मतसहित चौंथो स्थानमा रहे भने रास्वपाका ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी बने । यसबीच बाँके–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी हुँदै प्रत्यक्षतर्फ दलित समुदायबाट प्रतिनिधिसभामा पुग्ने दुर्लभ उदाहरण बने ।

अन्य केही दलहरूले पनि दलित उम्मेदवार उठाए पनि संख्या निकै न्यून थियो । रास्वपाले इलाम–१ बाट विमल गदाल रास्वपाबाट प्रत्यक्षमा उम्मेदवार थिए । ९,१६० मत ल्याएर गदाल चौंथो बन्द नेपाली कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मत ल्याउँदै चुनाव जिते । रास्वपाले मुगुबाट भुवन टमटालाई उम्मेदवार बनाएको थियो । उनी ५३० मत ल्याउँदै चौंथो मात्र बने । त्यहाँ कांग्रेसका खड्ग शाही ७,९१४ मत ल्याउँदै विजयी बने ।

यस्तै नेकपा (माओवादी) का उम्मेदवार रंगवीर परियारले २८० मत मात्र ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यान–१ मा अनिता नेपालीलाई उम्मेदवार बनाएको थियो । अनिता ९०२ मत ल्याउँदै छैटौं स्थानमा मात्र आइन् । त्यहाँ नेकपाका रमेशकुमार मल्ल २३ हजार १८९ मतसहित विजयी भए । राप्रपाले बर्दिया–१ मा वीरबहादुर कामीलाई टिकट दिएको थियो । उनी १,३४४ मत ल्याएर छैटौ मात्र भए । यहाँ रास्वपाका ठाकुरसिंह थारु ४९ हजार ६३१ म्त ल्याएर विजयी भए ।

दलित आन्दोलनका अगुवा तथा पूर्व राजदूत पदम सुन्दासका अनुसार राजनीतिक दलहरूले दलित समुदायलाई अझै पनि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गर्ने प्रवृत्ति कायम छ । उनले दलित नेताहरूको पार्टीभित्र योगदान अन्य समुदायका नेताहरूभन्दा कम नभए पनि उम्मेदवारी दिने बेला विभेद हुने गरेको बताए ।

यस पटक केही साना दलहरूले भने तुलनात्मक रूपमा बढी दलित उम्मेदवार उठाएको दाबी गरेका छन् । नेकपा (माओवादी) बाट करिब २० जना दलित उम्मेदवार चुनावी मैदानमा रहेको बताइएको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट आठ जना र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट पाँच जना दलित उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए । तर उनीहरुको पार्टीबाट पनि दलित उम्मेदवार निर्वाचित हुन सकेनन् ।

यस पटक कतिपय क्षेत्रमा दलित उम्मेदवारबीच नै रोचक प्रतिष्पर्धा देखिएको थियो । स्याङ्जा–२ मा नेकपा माओवादीका सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीका रणबहादुर विक र स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जीबीच प्रतिष्पर्धा भएको थियो छ ।

कालीकोटमा पनि दलित उम्मेदवार थिए । त्यहाँ नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड) १८ वर्षपछि पुनः उम्मेदवार बनेका थिए । उनी २०६४ सालको संविधानसभामा विजयी भएका थिए र पछि दुई पटक मन्त्री समेत बनेका थिए । सोही क्षेत्रमा दलित नेता मानबहादुर तिरुवा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिए ।

त्यस्तै राष्ट्रिय मुक्ति पार्टीले झापा–५ बाट अमृत रसाइलीलाई उम्मेदवार बनाएको थियो । उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच मुख्य प्रतिष्पर्धा थियो । जहाँ बालेन शाह भारी मतान्तरसहित विजयी भए । पछिल्ला तथ्यांकले राजनीतिक तहमा दलित प्रतिनिधित्व क्रमशः घट्दै गएको देखाउँछ ।

२०६४ सालको संविधानसभामा ५० जना दलित प्रतिनिधि (८.३२ प्रतिशत) थिए । २०७० मा यो संख्या ४० जना (६.६५ प्रतिशत) मा झर्‍यो । २०७४ को प्रतिनिधिसभामा २० जना (७.२७ प्रतिशत) पुगे पनि २०७९ मा घटेर १५ जना (५.८१ प्रतिशत) मात्रै पुगे ।

यस्तै राष्ट्रियसभामा पनि ५९ सदस्यमध्ये आठ जना मात्र दलित प्रतिनिधि रहेका छन् । संविधानको धारा ४२ (१) ले सामाजिक रूपमा पछाडि परेका समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने व्यवस्था गरेको भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.