निर्वाचन प्रहरीलाई उद्यमशीलतामा जोड्न आग्रह गर्दै प्रधानमन्त्रीलाई खुला पत्र

निर्वाचन प्रहरीलाई उद्यमशीलतामा जोड्न आग्रह गर्दै प्रधानमन्त्रीलाई खुला पत्र
सुन्नुहोस्

डडेलधुरा : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर निर्वाचनपछि मतदातालाई धन्यवाद दिन गाउँ-गाउँ धाइरहेका छन्। यसै क्रममा उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै निर्वाचन प्रहरीलाई उद्यमशीलतासँग जोड्न ध्यानाकर्षण गरेका हुन्।

प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगी मतदातालाई धन्यवाद दिन गाउँ पुगेका नेपाली कांग्रेसका तर्फबाटका उम्मेदवार महरले निर्वाचनमा खटिएका निर्वाचन प्रहरी (म्यादी)लाई बिदाइपछि सीप र उद्यमशीलतासँग जोड्न सरकारसँग माग गरेका छन्। बेरोजगारीले थलापरेको अवस्थामा जिम्मेवार नागरिकलाई निर्वाचनपछिको अवस्थामा उत्पादन र सीपमूलक कार्यमा संलग्न गरी उद्यमशीलतामा जोड्नुपर्ने माग गरेका छन्।

जसले युवा बेरोजगारीको समस्या मात्रै हट्दैन, देशले नै काँचुली फेर्ने गरी उत्पादनमुखी युवा बन्न सक्ने नेता महरको भनाइ छ। मतदातासँगको प्रतिबद्धता, पराजयपछि समुदायस्तरका नेता तथा कार्यकर्तामा आएका नैराश्यतालाई तोड्न र उनीहरूलाई हौसला प्रदान गर्नका लागि जिम्मेवार नेताको रूपमा आफू गाउँमा पुगि प्रिय मतदातालाई आभारसहित धन्यवाद दिइरहेको महरको सचिवालयले जनाएको छ।

यसै क्रममा नेता महरले सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्रीलाई सम्बोधन गरी सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै निर्वाचनपछि युवालाई खाली हात घर फर्काउने प्रवृत्तिको अन्त्य गर्न सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। आवधिक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका अतुलनीय रहेको स्मरण गर्दै जिम्मेवारीपश्चात पनि उनीहरूलाई जिम्मेवार नागरिक बनाउनका लागि उद्यमशीलतासँग जोड्नुपर्ने जनाएका छन्।

‘राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रो सामु छ,’ भन्दै यस बारेमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भई उनीहरूलाई उत्पादनमा पनि जोड्न सकिने पत्रमा उल्लेख गरिएको छ।

युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिनुपर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनले बताएका छन्। निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम ल्याउन नेता महरले प्रधानमन्त्री कार्कीलाई आग्रहसमेत गरेका छन्। गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम तत्काल मन्त्रिपरिषदबाट पारित गरी देशव्यापी रूपमा लागू गर्न जोडदार माग गरेका छन्।

यस किसिमका बृहत् आर्थिक तथा सामाजिक रूपान्तरणको अभियानमा युवालाई संलग्न गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने नेता महरले मतदातालाई धन्यवाद दिने क्रममा समेत बताएका छन्। त्यसैगरी, सीप सिकेर गाउँ फर्केका युवाहरूलाई बिउ पुँजी, सहुलियतपूर्ण कर्जा र बजार व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहले अभिभावकत्व ग्रहण गर्नुपर्ने पत्रमा उल्लेख गरेका छन्।

यस कार्यले व्याप्त बेरोजगारी र वैदेशिक रोजगारीका लागि युवा पलायनलाई रोक्न मद्दत पुग्ने महरको विश्वास छ। नेता महरले उक्त पत्रको बोधार्थ गृह, श्रम, उद्योग र अर्थ मन्त्रीलाई समेत पठाएको जनाएका छन्। उम्मेदवार मात्रै हुनुले अर्थ दिँदैन, मतदाताप्रति जिम्मेवारी ठूलो हो भन्ने कुराको आभाससमेत नेता महरले दिइरहेका छन्। उम्मेदवार महर रास्वपा उम्मेदवारसँग हार व्यहोर्नु परेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.