‘जस्तो सोच, उस्तै संसार’मा जीवन दर्शन
काठमाडौं : शिवराज बस्नेत ‘बशिरा’को आध्यात्मिक विचारहरू संग्रह ‘जस्तो सोच, उस्तै संसार’ पाठकमाझ आएको छ। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकले मानव जीवनमा सकारात्मक सोचको महत्व बुझाउँदै जीवनलाई हेर्ने पृथक् दृष्टिकोणलाई कथात्मक शैलीमा प्रस्तुत गरेको छ।
जीवन विज्ञानका संस्थापक एवं मानव विकास विशेषज्ञ एलपि भानु शर्माले ‘पृथक् पुस्तक’को संज्ञा दिएका छन्। उनले भूमिकामा लेखेका छन्, ‘आजका अधिकांश लेखन नकारात्मक र अँध्यारा पाटाहरूमा केन्द्रित भइरहेका बेला यो पुस्तकले उज्यालो र सकारात्मकताको वकालत गर्दछ। उर्वर विचारका शृंखलाहरू रहेको यो पुस्तकले पाठकलाई जीवनलाई नयाँ दृष्टिले हेर्ने अवसर प्रदान गर्छ।’
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले समाजलाई सही दिशा दिन यस्ता चिन्तनशील कृतिको खाँचो रहेको औंल्याएका छन्। उनले भूमिकामा लेखेका छन्, ‘हरेक मानिसको आआफ्नै सोच हुन्छ सपना हुन्छन्। ती साकार पार्न अनौपचारिक÷औपचारिक अध्ययनलाई आधार मान्दै उनीहरू अघि बढेका हुन्छन्।’
‘संसार बदल्ने सोच !’ शीर्षकमा पुस्तकका सम्पादक गोपीकृष्ण ढुंगानाले जीवनलाई लेखकले जन्मदेखि मृत्युसम्मको गतिशील यात्राका रूपमा व्याख्या गरेको उल्लेख गरेका छन्। भूमिकामा उनी लेख्छन्, ‘सही सोचले नै संसार बदल्छ। साहित्य एउटा यस्तो मञ्च हो, जहाँ जीवनका सुख–दुःख, हाँसो–आँसु र भोगाइहरूलाई शब्दमार्फत अभिव्यक्त गर्न सकिन्छ।’
कृतिमा आत्मबोध, आत्मविश्वास र सामूहिक स्वार्थका विषयलाई प्राथमिकता दिएको उनको बुझाइ छ। प्रहरी सेवाबाट निवृत्त भएपछि लेखकका रूपमा झुल्किएका शिवराज बस्नेत ‘बशिरा’ले आफ्नो यो पहिलो पुस्तकमा आफ्ना अनुभव र जीवन भोगाइलाई मिहिन ढंकले केलाएर समेटेका छन्।
पुस्तकभित्र कुल ३३ लेख संग्रहित छन्। जसमा सुन्दर भविष्यको चुरो, सफल हुने सूत्र : दम्भ होइन, कुशल नेतृत्व, सुखको तराजुमा दुःखको मानो, अचम्मको अदृष्य शक्ति, अर्थपूर्ण जीवनको अर्थ, ध्यानभित्रको दिव्य ज्ञान, सागरभित्रका मोतीहरू, असलभित्रका खराबहरू, भ्रममा बाँचेका खुसीको संसार, युगले छरिरहेको ऊर्जा आदि शीर्षकमा अनेक विषय छन्।
प्रतिक्रिया दिनुहोस !