मुम्बई : आदित्य धर निर्देशित स्पाइ थ्रिलर चलचित्र 'धुरन्धर: द रिभेन्ज' ले भारतीय बक्स अफिसमा अभूतपूर्व कब्जा जमाएको छ। रिलिज पूर्व नै उच्च प्रतीक्षामा रहेको यस चलचित्रले प्रदर्शनको सुरुवाती दिनमै बक्स अफिसका पुराना रेकर्डहरू ध्वस्त पार्दै नयाँ इतिहास रच्न सफल भएको हाे।
ओपनिङमै धमाका: २ दिनमै २०० करोड क्लबमा
'धुरन्धर २' को व्यापारिक यात्रा 'पेड प्रिभ्यु' बाटै सुखद देखिएको थियो। मार्च १८ मा आयोजित पेड प्रिभ्युबाटै ४३ करोड रुपैयाँ बटुलेको यस चलचित्रले रिलिजको पहिलो दिन (मार्च १९) भारतीय बक्स अफिसमा १०२.५५ करोड को ऐतिहासिक ओपनिङ गर्यो। योसँगै रणवीर सिंह भारतीय सिनेमा इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने स्टारहरूको सूचीमा अग्रपंक्तिमा उभिएका छन्।
दोस्रो दिन (मार्च २०) पनि चलचित्रको क्रेजमा कुनै कमी आएन। उक्त दिन चलचित्रले ८०.७२ करोड को बम्पर कलेक्सन गरेपछि भारतमा मात्रै यसको दुई दिनको कुल नेट कमाइ २२६.२७ करोड पुगेको छ।
तेस्रो दिनको प्रारम्भिक संकेत: हाउसफुल शोहरू
आज शनिबार (तेस्रो दिन) पनि बिहानैदेखि देशभरका सिनेमा हलहरूमा दर्शकको घुइँचो देखिएको छ। ट्रेड एनालिस्ट 'सैकनिल्क' का अनुसार, शनिबार बिहान ११ बजेसम्म मात्रै चलचित्रले थप २०.७२ करोड को व्यापार गरिसकेको छ। बेलुका र रात्रिकालीन शोहरू 'हाउसफुल' रहेकाले आज रातिसम्म यो कमाइमा ठूलो उछाल आउने निश्चित छ।
किन चलिरहेको छ 'धुरन्धर २'?
दर्शक र समीक्षकहरूले यो चलचित्रलाई 'मास्टरपिस' को संज्ञा दिएका छन्। विशेषगरी रणवीर सिंहको अहिलेसम्मकै पावरफुल एक्सन अवतार,सञ्जय दत्तको डरलाग्दो र प्रभावशाली 'भिलेन' लुक्स तथा आदित्य धर को चुस्त निर्देशन र स्तरीय भीएफएक्सका कारण याे चलचित्र दर्शककाे रोजाईमा परेको छ।
५०० करोडको यात्रा तय
सकारात्मक 'वर्ड अफ माउथ' र 'ईद विकेन्ड' को बिदाका कारण भोलि आइतबारसम्म चलचित्रको कमाइ ४०० देखि ४५० करोड पुग्ने व्यापारिक अनुमान गरिएको छ। यदि यही रफ्तार कायम रहे, 'धुरन्धर २' ले ओपनिङ विकेन्डमै भारतीय सिनेमाको इतिहासमा नयाँ मानक स्थापित गर्नेछ। आदित्य धरको निर्देशनमा बनेको यस चलचित्रमा रणवीर सिंह मुख्य भूमिकामा छन्। उनीसँगै अर्जुन रामपाल, सारा अर्जुन, संजय दत्त, आर माधवन र राकेश बेदीको सशक्त अभिनय रहेको छ।
प्रतिक्रिया दिनुहोस !